बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोशीमा कांग्रेसको खाता खोलेका सन्तोष सुब्बा को हुन् ?

शनिबार, २३ फागुन २०८२, १२ : २०
शनिबार, २३ फागुन २०८२

सारांश

  • तेह्रथुममा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेका भानुभक्त ढकाललाई कांग्रेसका सन्तोष सुब्बाले पराजित गरे।
  • सुब्बाले ११,५६१ मत ल्याएर जित्दा ढकालले १०,६८२ मत प्राप्त गरे, जसले ८७९ मतको अन्तर देखाउँछ।
  • सन्तोष सुब्बाको ३० वर्ष लामो राजनीतिक यात्रा रहेको छ र उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुमबाट उम्मेदवार बनेका एमालेका सचिव भानुभक्त ढकाल दोस्रो पटक पराजित बनेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले पराजित गरेका हुन् 

काँग्रेसका सुब्बाले ११ हजार ५६१ मत प्राप्त गरी विजयी हुँदा ढकालले १० हजार ६८२ मत मात्रै प्राप्त गरे । सुब्बाले ढकाललाई ८७९ मतान्तरले पराजित गरेका हुन् । तेह्रथुमबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत ल्याएर तेस्रो स्थान हासिल गरे । त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले पनि ५ हजार २०० मत प्राप्त गरे । 

विगतका निर्वाचनहरूमा एमाले नै जिल्लामा शक्तिशाली बन्थ्यो । प्रतिस्पर्धामा काँग्रेस रहँदै आएको छ । तर, यस पटक एमाले र काँग्रेसका लागि देशभरमा जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीले मत कटौती गरिदिँदा ढकाल पराजित बने भने सुब्बा विजयी बने । 

भानुभक्त ढकाल राजनीतिक पुनरागमन गर्ने उद्देश्यका साथ यस पटक आफ्नै गृह जिल्ला तेह्रथुम पुगेका थिए । २०७० को दोस्रो संविधान सभामा समानुपातिक सांसद र २०७४ को निर्वाचनमा मोरङ–३ बाट निर्वाचित भई मन्त्रीसमेत बनेका ६४ वर्षीय ढकाल २०७९ को निर्वाचनमा भने मोरङ–३ मै कांग्रेसका डा. सुनील शर्मासँग २२ हजारभन्दा बढी मतको फराकिलो अन्तरले पराजित भएका थिए ।

छथर गाउँपालिका–६, ओख्रेका ढकालले पहिलो पटक गृहजिल्लाबाट प्रत्यक्ष चुनाव लडेका हुन् । कोभिडकालमा स्वास्थ्यमन्त्री हुँदा ढकालले स्वास्थ्य सामाग्री खरिद (ओम्नी काण्ड)मा भ्रष्टाचार गरेको र निर्वाचन हार्ने भएपछि सुरक्षित क्षेत्र खोज्दै तेह्रथुम आएको जस्ता आरोप लागेको थियो । 

तेह्रथुमको चुनावी मैदानमा नेपाली कांग्रेसले भने सुब्बालाई उठाएको थियो । कांग्रेसका उम्मेदवार सुब्बा २०७९ सालको निर्वाचनमा तेह्रथुम प्रदेश सभा ‘क’ बाट नेकपा (एमाले) का किशोरचन्द्र दुलालसँग २०८ मतको अन्तरले पराजित भएका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस जिल्लाबाट भने काँग्रेस र माओवादीकेन्द्रको गठबन्धनबाट उम्मेदवार बनेकी सीता गुरुङ विजयी बनेकी थिइन् । 

  • को हुन् सन्तोष सुब्बा ?

नेपाली कांग्रेसको तर्फबाट तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सन्तोष सुब्बाको राजनीतिक यात्रा करिब तीन दशक लामो छ । २०५२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिमा पाइला टेकेका सुब्बाले सुरुवाती चरणमा सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।

सन्तोष सुब्बाको राजनीतिक उचाइ २०६२÷६३ को जनआन्दोलनपछि थप बढ्न थालेको हो । उनले नेपाल तरुण दलको तेह्रथुम जिल्ला नेतृत्वमा रहेर दुई कार्यकाल जिम्मेवारी सम्हाले । तरुण दलको नेतृत्वपछि उनी पार्टीको मूल राजनीतिमा प्रवेश गर्दै नेपाली कांग्रेस तेह्रथुमको निर्वाचित कोषाध्यक्ष बनेका थिए ।

उनको साङ्गठनिक दक्षता र सक्रियताकै कारण उनी १३ औं महाधिवेशनबाट पार्टीको जिल्ला सचिव पदमा निर्वाचित भए । जिल्लास्तरमा बलियो पकड बनाएका सुब्बाले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बने । २०७९ सालको निर्वाचनमा प्रदेशसभामा पराजित बनेका सुब्बा अहिले भने देशैभरीबाट काँग्रेस पराजित भइरहेको बेला आफूभने प्रतिनिधिसभामा विजयी हुँदै संघीय संसदको यात्रा तय गरेका छन् ।

राजनीतिसँगै अध्ययनलाई पनि महत्त्व दिने सुब्बाले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । लामो समय जिल्लाको साङ्गठनिक राजनीतिमा भिजेका सुब्बा हाल तेह्रथुमबाट प्रतिनिधिसभामा निर्वाचित भई जनअनुमोदित प्रतिनिधिको रूपमा संसदमा क्रियाशील छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप