बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अब भान्सामा भुटेको मकैको बासना आउने गोलभेँडा

आइतबार, २४ फागुन २०८२, १३ : ०७
आइतबार, २४ फागुन २०८२

सारांश

  • चीन र अस्ट्रेलियाका वैज्ञानिकहरूले जिन सम्पादन प्रविधि प्रयोग गरी गोलभेँडामा मकै भुटेको जस्तो वासना ल्याए।
  • वैज्ञानिकहरूले SlBADH1 र SlBADH2 जिनहरू निष्क्रिय पारेर गोलभेँडामा सुगन्धको मात्रा ४ गुणा बढाए।
  • यस अनुसन्धानले फलको गुणस्तर र स्वाद सुधार्न सकिने नयाँ बाटो खोलेको छ, उत्पादनमा सम्झौता नगरी।

बेइजिङ । संसारभर सबैभन्दा बढी खेती गरिने र खाइने तरकारीमध्ये गोलभेँडा एक हो। तर, धेरै उत्पादन लिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र आकारमा एकरुपता ल्याउने नाममा दशकौँदेखि गरिएको छनोटपूर्ण प्रजननले यसको प्राकृतिक सुगन्ध र स्वादको जटिलतालाई भने निकै घटाउँदै लगेको छ। 

यही अभावलाई चिर्न चीन र अस्ट्रेलियाका वैज्ञानिकहरूले जिन सम्पादन प्रविधिको प्रयोग गरी गोलभेँडामा मकै भुटेको जस्तो वासना पैदा गर्न सफलता पाएका छन्। वैज्ञानिकहरूले बास्नादार चामलमा पाइने विशिष्ट सुगन्धका लागि जिम्मेवार ‘२-एसिटिल-१-पाइरोलिन’ नामक अणुलाई केन्द्रमा राखेर यो अनुसन्धान गरेका हुन्। 

उनीहरूले व्यापारिक रूपमा लोकप्रिय अलिसा क्रेग प्रजातिको गोलभेँडामा रहेका दुईवटा विशेष जिनहरू SlBADH1 र SlBADH2 लाई निष्क्रिय पारिदिए। यी जीनहरूले सामान्यतया बिरुवामा 2-AP को उत्पादनलाई नियन्त्रण गर्ने काम गर्छन्। क्रिसपर-क्यास९ (CRISPR/Cas9) प्रविधि प्रयोग गरी यी दुवै जिनलाई हटाउँदा गोलभेँडामा सुगन्धको मात्रा नियन्त्रित बिरुवाको तुलनामा ४ गुणाभन्दा बढी बढेको पाइयो।

जियाङ्गु प्रयोगशालाका प्राध्यापक शेङचुन जुका अनुसार गोलभेँडाको सन्दर्भ जिन (रेफरेन्स जेनोम) स्क्रिनिङ गरेर यी दुई जिनहरू पहिचान गरिएको थियो। अनुसन्धानको क्रममा रोचक पक्ष के देखियो भने, गोलभेँडाको सुगन्ध बढाउन गरिएको यो आनुवंशिक परिवर्तनले बिरुवाका अन्य महत्त्वपूर्ण गुणहरूमा कुनै नकारात्मक असर पारेन। 

बिरुवाको उचाइ, फूल फुल्ने समय, फलको तौल, चिनीको मात्रा र भिटामिन सी जस्ता तत्त्वहरू पहिले जस्तै यथावत् रहेका छन्। यसले उत्पादनमा सम्झौता नगरी फलको गुणस्तर र स्वाद सुधार्न सकिने नयाँ बाटो खोलेको छ।

हुन त सबैलाई मकै भुटेको वासना आउने गोलभेँडा मन नपर्न सक्छ, तर वैज्ञानिकहरू यो उपलब्धिलाई बागवानी बजारमा ठुलो क्रान्तिको रूपमा हेरिरहेका छन्। बास्नादार चामलले जसरी बजारमा बढी मूल्य र प्राथमिकता पाउँछ, त्यसैगरी विशिष्ट सुगन्ध भएका गोलभेंडाले पनि उपभोक्ताको रोजाइलाई परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ। 

अध्ययनका सह-लेखक पेङ झेङका अनुसार अब यो प्रविधिलाई अन्य उत्कृष्ट व्यापारिक प्रजातिहरूमा पनि प्रयोग गरिनेछ, जसले भविष्यमा उपभोक्ताको स्वाद र बजारको माग अनुसार विभिन्न सुगन्धका गोलभेँडा उपलब्ध गराउन मद्दत गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप