बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

जसपा नेपाल र जनमत पार्टीले आफ्नो आधार थलो मधेसमा कति पाए मत ?

मङ्गलबार, २६ फागुन २०८२, २० : ५५
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको दबदबा देखिएको छ।
  • मधेस प्रदेशमा जसपा र जनमत पार्टी पछि परेका छन्, जसलाई मधेसका मतदाताले विश्वास नगरेको देखिन्छ।
  • सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा विभिन्न पार्टीको मत परिणामको विश्लेषण गरिएको छ।

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको मत गणना लगभग अन्तिम चरणमा छ । यो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीको दबदबमा देखिएको छ ।

खासगरी मधेस प्रदेशमा मधेसवादी भनिएका दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी नै ओझेलमा परेका छन् । मधेसका मुद्दा उठाएर राजनीति गर्दै आएका यी दुवै दललाई यो निर्वाचनमा मधेसवासीले विश्वास नगरेको देखिन्छ ।

समानुपातिक मत परिणाम अनुसार मधेसमा जसपा नेपाल एक लाख २९ हजार ६४८ मतसहित चौथो स्थानमा छ । यस्तै जनमत पार्टी ५० हजार ४२ मतसहित छैटौँ नम्बरमा छ ।

पछिल्लो मत परिणाम अनुुसार मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ १२ लाख ४१ हजार २४८ मतसहित पहिलो पार्टी बन्दा नेपाली कांग्रेस दुई लाख ७६ हजार ७५३ मतसहित दोस्रो नम्बरमा छ । पहिलो र दोस्रो पार्टीबिचको मतान्तर नै ९ लाखभन्दा बढी छ ।

नेकपा एमाले एक लाख ८१ हजार ७३९ मतसहित तेस्रो नम्बरमा छ । पाँचौँ नम्बरमा रहेको नेपाली कम्युनिस्ट पार्टीले जम्मा एक लाख ७८४ मत पाएको छ ।

सप्तरी जिल्लामा समानुपातिकतर्फ जसपा नेपालले ३६ हजार ६८ मत पाउँदै दोस्रो स्थानमा छ । जबकि अर्को मधेसवादी दल जनमत पार्टी १८ हजार ९०१ मतका साथ चौथो स्थानमा छ । सप्तरीमा रास्वपा समानुपातिक मतका आधारमा पहिलो र नेपाली कांग्रेस तेस्रो दल बनेको छ ।

सिराहामा जसपा नेपाल १५ हजार ४९१ मतमा खुम्चिएर पाँचौँ दल बनेको छ भने जनमत पार्टी १० हजार ७३ मतका साथ छैटौँ स्थानमा छ । यहाँ रास्वपा पहिलो, कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो नम्बरमा छ ।

यस्तै धनुषामा पनि जसपा नेपाल पाँचौँ नम्बरमा छ । यहाँ जसपा नेपालले ८ हजार ४५५ मत पाएको छ । जनमत पार्टी भने ४ हजार ७४ मतका साथ सातौँ नम्बरमा सीमित छ । यहाँ पनि रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो नम्बरमा रहँदा सातौँ नम्बरमा रहेको जनमत पार्टीभन्दा अगाडि राप्रपा छ । छैटौँ नम्बरमा रहेको राप्रपाले धनुषामा समानुपातिकतर्फ ५ हजार ७६ मत पाएको छ ।

महोत्तरी जिल्लामा २१ हजार १९२ मतका साथ जसपा नेपाल तेस्रो नम्बरमा छ । यहाँ जनमत पार्टी ३ हजार ११३ मतका साथ सातौँ नम्बरमा छ । धनुषामा पनि पहिलो नम्बरमा रास्वपा र दोस्रो नम्बरमा नेपाली कांग्रेस नै छ । एमाले यहाँ चौथो नम्बरमा छ भने नेपाली कम्युनिस्ट पार्टी पाँचौँ नम्बरमा छ । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीको एकल चिह्न ‘बस’मा ८ हजार २०८ मत छ, जो जनमत पार्टीभन्दा अगाडि छ ।

सर्लाही जिल्लामा जसपा नेपाल ६ हजार १८२ मतसहित समानुपातिकतर्फ सातौँ नम्बरमा छ भने जनमत पार्टी ३ हजार ८२३ मतसहित नवौँ नम्बरमा धकेलिएको छ । यहाँ रास्वपा नेपाल पहिलो, नेपाली कांग्रेस दोस्रो, नेपाली कम्युनिस्ट पार्टी तेस्रो, नेकपा एमाले चौथो, राष्ट्रिय परिवर्तन पार्टी पाँचौँ र नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीको एकल चिह्न ‘बस’ छैटौँ नम्बरमा छन् ।

रौतहटमा १० हजार १४७ मतसहित जसपा नेपाल चौथो स्थानमा छ भने जनमत पार्टी ३ हजार १२ मतसहित सातौँ नम्बरमा छ । यहाँ रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेपाली कम्युनिस्ट पार्टी तेस्रो नम्बरमा छ । नेकपा एमाले भने पाँचौँ नम्बरमा छ । यस्तै, आम जनता पार्टी छैटौँ नम्बरमा छ ।

बारामा २४ हजार ३२४ मतसहित जसपा नेपाल चौथो नम्बरमा पुग्दा जनमत पार्टी ५ हजार २४६ मतसहित आठौँ स्थानमा खुम्चिएको छ । यहाँ रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय परिवर्तन पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी क्रमशः पाँचौँ, छैटौँ र सातौँ नम्बरमा छन् ।

पर्सामा जसपा नेपाल पाँचौँ स्थानमा रहँदा अर्को मधेसवादी दल जनमत पार्टी आठौँ नम्बरमा छ । जसपा नेपालले पर्सामा समानुपातिकतर्फ ७ हजार ७८९ मत पाएको छ भने जनमत पार्टीले एक हजार ८०० मत पाएको छ । यहाँ रास्वपा पहिलो नम्बरमा रहँदा नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो नम्बरमा छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टी छैटौँ, राष्ट्र निर्माण दल नेपाल सातौँ नम्बरमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप