आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा देउवा–कोइराला समूह बहुमतमा

कुन सांसद कुन समूहमा ?
आइतबार, ०८ चैत २०८२, १५ : ००
आइतबार, ०८ चैत २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेसमा संसदीय दलको नेता को हुने भन्ने चर्चा सुरु भएको छ।
  • कांग्रेसको विधान अनुसार, संसदीय दलको नेता चयन गोप्य मतदानबाट हुनेछ, यदि एकभन्दा बढी उम्मेदवार भए।
  • अहिले दलको नेताका लागि विशेष र नियमित महाधिवेशन पक्षधर नेताहरूले दाबी गरिरहेका छन्।

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा पूर्णरूपमा सार्वजनिक गरेसँगै नेपाली कांग्रेसमा संसदीय दलको नेता को हुने भन्ने चर्चा सुरु भएको छ ।

‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४)’ को दफा ५ मा ‘संसदीय दलको नेता’ चयन सम्बन्धी व्यवस्था छ । त्यही दफाको उपदफा (१) र (२) दलको नेता चयनमा महत्त्वपूर्ण देखिन्छन् ।

उपदफा (१)मा लेखिएको छ, ‘संसदीय दलमा रहेका प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्नेछन् ।’ उपदफा (२) मा लेखिएको छ, ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुनेछ ।’

Nc Dalko neta

 

कांग्रेस दलको विधानमा पार्टीको राष्ट्रिय सभा दलको नेता प्रतिनिधि सभा दलको नेताले मनोनयन गर्ने व्यवस्था छ । दलको विधानको दफा १२ को उपदफा (१)मा लेखिएको छ, ‘संसदीय दलको नेताले पार्टीका राष्ट्रिय सभाका सदस्यमध्येबाट एक जनालाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनयन गर्नेछ ।’

Nc rastriyasava neta

०६४ को निर्वाचनपछि कांग्रेसमा दलको नेता सर्वसम्मत भएका छैनन् । अहिले झन् कांग्रेसमा नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर भएर गुटबन्दी चरमोत्कर्षमा छ । २०७८ सालमा भएको १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र त्यो बेला सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएका डा. शेखर कोइराला समूहको असहमतिबिच त्यही महाधिवेशनका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन सम्पन्न भयो । त्यो विशेष महाधिवेशनले थापालाई सभापति र शर्मालाई उपसभापतिसहितको नयाँ कार्यसमिति बनाएको छ । त्यो कार्यसमितिमा देउवा र कोइराला समूहका कुनै पनि नेता समेटिएका छैनन् ।

टिकट वितरणमा पनि सभापतिका रूपमा कांग्रेसका दुई नेताको हस्ताक्षर छ । समानुपातिक प्रणालीको बन्द सूचीमा सभापतिका रूपमा देउवाले हस्ताक्षर गरेका थिए भने प्रत्यक्षतर्फको टिकटमा विशेष महाधिवेशनबाट सभापति भएका थापाले हस्ताक्षर गरेका थिए । यसले दल (प्रतिनिधि सभा)मा दुई नेताको हस्ताक्षरबाट उम्मेदवार भएर सांसद हुन सफल नेताहरू छन् । त्यसैले दलको नेतामा निर्वाचन हुने निश्चितजस्तै छ ।

अहिले नै दलको नेतामा आकाङ्क्षी हेर्दा विशेष महाधिवेशनमा सहभागी भएका र नभएका नेताले दाबी गरिरहेका छन् । कांग्रेस नेताहरूका अनुसार प्रत्यक्षबाट निर्वाचन जितेका भरतबहादुर खड्का, जनकराज गिरी, मोहन आचार्य र नरेन्द्र केरुङले दलको नेतामा आकाङ्क्षा राखिरहेका छन् । समानुपातिकतर्फका अर्जुननरसिंह केसी र भिष्मराज आङ्देम्बेले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । केसीले त शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाँदा सञ्चारकर्मीहरूसँगै दलको नेतामा आफ्नो दाबी रहने बताएका थिए ।

नेताका लागि एकभन्दा बढीले दाबी गरेको अवस्थामा निर्वाचन प्रक्रियाबाट छान्नुपर्ने र निर्वाचित हुन कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नैपर्ने भएकाले गुटगत प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । यस्तो अवस्थामा दाबेदार केसी र भिष्मराज आङ्देम्बे सम्भावित देखिन्छन् । दुवै नेता पूर्वसहमहामन्त्री हुन् ।

केसी वर्तमान संस्थापन र आङदेम्बे देउवा कोइराला समूहका उम्मेदवारका रूपमा देखिने नेताहरू बताउँछन् ।

समानुपातिकबाट सांसद भएका केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद् हुन् । उनी पञ्चायती व्यवस्थादेखि नै सांसद् र मन्त्री बन्दै आएका छन् । केसी समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका नेता पनि हुन् । 

आङदेम्बे ०७० को दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए । उनी १४औँ महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवार बन्दै सहमहामन्त्री पदमा निर्वाचित भएका थिए ।

देउवा र कोइरालाले विशेष महाधिवेशनको आधिकारिकताका विषयमा सर्वोच्च अदालतमा दायर गरेको रिट अझै विचाराधीन छ । त्यसैले दलको नेतामा पनि दुवै समूह मिलेर जाने विषयमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. कोइरालाबिच अनौपचारिक सहमति बनिसकेको नेताहरू बताउँछन् । आङदेम्बेलाई आफूहरूको तर्फबाट संसदीय दलको नेतामा उम्मेदवार बनाउन दुवै पक्ष सहमत छन् ।

देउवा समूहका नेता मीन विश्वकर्माले संसदीय दलको नेता सर्वसम्मत नहुने भन्दै आफूहरूले दाबी प्रस्तुत गर्ने जानकारी दिए । ‘पछिल्ला निर्वाचनपछि कांग्रेसमा दलको नेता सर्वसम्मत भएका छैनन् । अहिले पनि पार्टीभित्र आधिकारिताको विवाद चलिरहेकाले सर्वसम्मत हुँदैन,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘आज (आइतबार) हाम्रो (देउवा–डा.कोइराला समूह) बैठक बसेको थियो । मिलेर जाने भन्नेछ । कार्यवाहक सभापति र नेता डा. शेखर कोइरालाले एक भएर जाने विषयमा निरन्तर छलफल गरिरहनु भएको छ ।’

प्रवक्ता देवराज चालिसेले केन्द्रीय समिति बैठक सकिएपछि मात्रै दलको नेता लगायतका विषयमा छलफल हुने जानकारी दिए । ‘दलको नेता दलको विधान अनुरुप प्रक्रियागत रूपले हुन्छ । केन्द्रीय समिति बैठक सकिएपछि प्रक्रिया सुरु गर्ने तयारीमा हामी छौँ,’ उनले रातोपाटीसँग भने, ‘अहिलेसम्म कसलाई अगाडि बढाउने, के गर्ने भन्ने विषयमा कुराकानी भएको छैन ।’

डा. कोइराला समूहका एक नेताले संख्यागत रूपमा आफूहरू कम भएकाले र सर्वोच्च अदालतमा आधिकारिकताको विषयमा मिलेर गएकाले संसदीय दलमा पनि देउवा समूहसँग मिलेर जाने बताए । ‘हामी अहिले देउवा समूहसँगै मिलेर जान्छौँ । पार्टीमा आधिकारिकताको विवाद छ । देउवा समूहसँग मिलेर अदालतमा गएका छौँ । दलको नेतामा पनि मिलेर जान्छौँ,’ ती नेताले रातोपाटीसँग भने ।

कांग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी प्रतिनिधि सभामा ३८ सांसद छन् । प्रत्यक्षमा संस्थापनका धेरै सांसद भए पनि समानुपातिकमा देउवा–कोइराला समूहका सांसद धेरै छन् ।

प्रत्यक्ष र समानुपातिक सबै सांसद जोड्दा संस्थापनमा १६ सांसद छन् भने कोइराला–देउवा समूहका (देउवा १५ र कोइराला ७) गरी २२ सांसद छन् ।

संस्थापनमा प्रत्यक्ष जितेका १२ र समानुपातिक प्रणालीबाट आएका ४ सांसद छन् । इलाम–१ बाट जितेका निश्कल राई, रौतहट–२ बाट जितेका मो. फिरदोश आलम, कपिलवस्तु–३ बाट जितेका अभिषेकप्रताप शाह, सोलुखुम्बुबाट जितेका प्रकाशसिंह कार्की, दैलेख–१ बाट जितेकी वासना थापा, तेह्रथुमबाट जितेका सन्तोष सुब्बा, अछाम–१ बाट जितेका भरतकुमार स्वार, रसुवाबाट जितेका मोहन आचार्य, डोटीबाट जितेका भरतबहादुर खड्का, पाँचथरबाट जितेका नरेन्द्रकुमार केरुङ, बाजुराबाट जितेका जनकराज गिरी र मुगुबाट जितेका खड्ग शाही संस्थापन पक्षका हुन् ।

त्यस्तै संस्थापनबाट समानुपातिक प्रणालीबाट जितेकामा अर्जुननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक छन् । समानुपातिकको बन्दसूचीमा नाम राखेर निर्वाचन आयोगमा पठाउँदा सभापतिका रूपमा देउवाले हस्ताक्षर गरेका थिए । प्रत्यक्षतर्फको उम्मेदवारीका लागि भने गगन थापाले हस्ताक्षर गरेको टिकट वितरण भएको थियो ।

देउवा समूहबाट प्रत्यक्षतर्फ ५ जनाले जितेका छन् । विशेष महाधिवेशनमा भाग नलिएपछि थापाले प्रत्यक्षतर्फ केही सिट देउवा र कोइराला समूहलाई दिएका थिए । त्योमध्ये देउवा समूहले पाएका टिकटमा ५ जनाले निर्वाचन जितेका छन् । देउवा समूहबाट प्रत्यक्षतर्फ जित्नेमा सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, पाल्पा–१ बाट सन्दीप राना, हुम्लाबाट जयपती रोकाय, मनाङबाट टेकबहादुर गुरुङ र जाजरकोटबाठ खड्कबहादुर बुढा छन् । 

समानुपातिकतर्फ देउवा समूहबाट १० जना सांसद् बनेका छन् । जसमा मदनकृष्ण श्रेष्ठ, डा.गंगालक्ष्मी अवाल, गीता गुरुङ, सुशीला ढकाल आचार्य, सीता थपलिया, हरिनादेवी कामी, पवित्रा विक, नीनुकुमारी कर्ण र शाहजान खातुन छन् ।

कोइराला समूहबाट प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ६ गरी ७ जना सांसद बन्न सफल भएका छन् । प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन थकालीले निर्वाचन जितेका छन् । समानुपातिकतर्फ गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रीना केसी (उप्रेती), डा.प्रमिलाकुमारी गच्छदार, डा. चन्द्रमोहन यादव र रेखाकुमारी यादव छन् ।

  • राष्ट्रिय सभामा देउवा समूहको एक्लै बहुमत, संस्थापनका २ जनामात्रै

कांग्रेस राष्ट्रियसभामा २४ सदस्यसहित सबैभन्दा ठुलो पार्टी बनेको छ । त्यसमा देउवा समूह एक्लै बहुमतमा छ । राष्ट्रिय सभामा देउवा समूहका १६ जना छन् । डा.कोइराला समूहका ६ र संस्थापनका दुई सदस्य छन् ।

राष्ट्रिय सभामा संस्थापनका कमला पन्त र पदम परियारमात्रै हुन् । पन्तका पति मधु आचार्य विशेष महाधिवेशन आयोजकमध्येका एक हुन् ।

कोइराला समूहका विष्णुदेवी पुडासैनी, विष्णुकुमारी सापकोटा, नारायणदत्त मिश्र, रञ्जित कर्ण, वासुदेव जंगली र गीता देवकोटा छन् ।

देउवा समूहका आनन्द प्रसाद ढुंगाना, किरण बाबु श्रेष्ठ, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सिटौला, कृष्ण बहादुर रोकाय, गोपालकुमार बस्नेत, जितजंग बस्नेत, दुर्गा कुमारी गुरुङ्ग, नारायण दत्त भट्ट, युवराज शर्मा, सुनिलबहादुर थापा, ललितजंग शाही, धमेन्द्र पासवान, जगत तिमिल्सिना, चन्द्रबहादुर केसी, वासुदेव जंगली र  खम्मबहादुर खाती छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप