बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङको ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदै

सोमबार, ०९ चैत २०८२, १० : १४
सोमबार, ०९ चैत २०८२

सारांश

  • भोलि मंगलबारदेखि बागलुङमा प्रसिद्ध चैत्राष्टमी मेला सुरु हुँदैछ, जुन चैत १० देखि १४ गतेसम्म चल्नेछ।
  • मेलामा खेलकुद र सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ, जसमा भलिबल प्रतियोगिता र लोक दोहोरी गीत प्रतियोगिता हुनेछन्।
  • मेलाले स्थानीय उत्पादनको व्यापारलाई महत्त्व दिनेछ र यसले बागलुङको कला, संस्कृति र व्यापार प्रवर्द्धन गर्नेछ।

बागलुङ । बागलुङको पहिचान र ऐतिहासिक परम्परासँग जोडिएको प्रसिद्ध चैत्राष्टमी मेला भोलि मंगलबारदेखि सुरु हुँदैछ। कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत १० देखि १४ गतेसम्म सञ्चालन हुने यस मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

'गन्तव्य बागलुङ कालिका–स्थानीय उत्पादनको प्रवर्द्धन, कला संस्कृति र समृद्धिको आधार, धार्मिक पर्यटन' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाले बागलुङको धार्मिक तथा सांस्कृतिक गरिमालाई थप उचाइ दिने विश्वास गरिएको छ। मेला मूल आयोजक समितिका संयोजक एवं गुठीका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार स्टल निर्माण, प्रचारप्रसार र रमाइलो मेलाको व्यवस्थापन कार्य सकिएको छ।

यसपटकको मेलामा खेलकुद र सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। मेलाको मुख्य आकर्षणका रूपमा ३ लाख रुपैयाँ पुरस्कार राशिको कालिका कप खुल्ला पुरुष भलिबल र १ लाख रुपैयाँ पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता रहनेछ। त्यस्तै, २ लाख रुपैयाँ पुरस्कार राशिको राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा र बाल उद्यानजस्ता कार्यक्रमले मेलालाई थप रोचक बनाउनेछन्।

धार्मिक आस्थाको केन्द्र कालिका भगवती मन्दिर परिसरमा आयोजना हुने यस मेलामा स्थानीय उत्पादनको व्यापारलाई विशेष महत्त्व दिइन्छ। बागलुङका ग्रामीण क्षेत्रबाट व्यापारीहरूले काठका ठेकाठेकी, डोको, डालो, नाङ्लो र घरेलु सामग्रीहरू बिक्रीका लागि ल्याउने गर्छन्।

मध्यकालमा पर्वत राज्य रहेका बखतदेखि नै सुरु भएको यो मेलाले लामो ऐतिहासिक विरासत बोकेको छ। पहिले बागलुङ बजारका विभिन्न चोक र खेतका टहराहरूमा लाग्ने यो मेला पछिल्लो समय यातायात र बस्ती विस्तारसँगै मन्दिर परिसरमै केन्द्रित हुन थालेको हो।

मेलाको सांस्कृतिक रौनक भर्नका लागि चर्चित कलाकारहरू प्रकाश सपुत, वसन्त थापा, शिव परियार र भूमिका गिरी लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। चैतेदसैँको नवरात्रभर विशेष पूजाआजा हुने भएकाले यो समयमा देशका विभिन्न भागबाट लाखौँ भक्तजन र दर्शक बागलुङ आउने अनुमान गरिएको छ।

अध्यक्ष खड्काका अनुसार चैत्राष्टमी मेला रमाइलोका लागि मात्र नभई बागलुङको कला, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने एउटा बलियो माध्यम पनि हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप