सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
सारांश
- सूर्योदय नगरपालिकाले विद्यार्थीलाई व्यावहारिक ज्ञान र अनुभव दिलाउन विशेष अभियान सुरु गरेको छ।
- यस अभियानले विद्यार्थीलाई भविष्यको पेसा वा व्यवसाय छनोट गर्न मद्दत पुर्याउने लक्ष्य राखेको छ।
- कार्यक्रमले विद्यार्थीलाई उद्योग भ्रमण, व्यवसायीसँग अन्तर्क्रिया र सञ्चार सीप जस्ता गतिविधिमा संलग्न गराउनेछ।
इलाम । पूर्वी पहाडकै ठूलो नगर सूर्योदय नगरपालिकाले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञान र कार्यक्षेत्रको अनुभव दिलाउन विशेष अभियान सुरु गरेको छ। 'विद्यार्थीलाई कामको संसार चिनाउने' नाम दिइएको यस कार्यक्रम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहकार्य र हेल्वेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो।
यस अभियानले विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार भविष्यको पेसा वा व्यवसाय छनोट गर्न मद्दत पुर्याउने लक्ष्य राखेको छ। नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार विद्यार्थीमा सानैदेखि श्रमप्रति सम्मानको भावना विकास गराउन र उनीहरूलाई रोजगारीका लागि आवश्यक पर्ने व्यावहारिक सीपबारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो।
हाल नगरपालिकाभित्रका बौद्धधाम, कृष्णाश्रम, सिंहदेवी, फिक्कल, कर्फोक, जनक, सरस्वती र ज्योति माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई यस अभियानमा सहभागी गराइएको छ। यसबाट विद्यार्थीले विभिन्न पेसा, उद्योग तथा कम्पनीको कार्यप्रणाली र रोजगारीका अवसरबारे नजिकबाट बुझ्ने मौका पाउनेछन्।
कार्यक्रमअन्तर्गत विद्यार्थीलाई केवल कक्षाकोठामा मात्र सीमित नराखी उद्योग तथा व्यवसायको भ्रमण गराइनेछ। स्थानीय व्यवसायी तथा विज्ञहरूसँगको अन्तक्रिया, प्रेरणादायी अनुभव आदानप्रदान, बायोडाटा लेखन, अन्तर्वार्ताको तयारी र प्रभावकारी सञ्चार सीपजस्ता गतिविधिमा उनीहरूलाई संलग्न गराइने सामाजिक विकास समिति संयोजक डिकबहादुर बम्जनले जानकारी दिएका छन्। यस्ता क्रियाकलापले विद्यार्थीमा उद्यमशील सोचको विकास गर्ने र भविष्यमा आफ्नै व्यवसाय सुरु गर्न सक्ने आत्मविश्वास पैदा गर्ने विश्वास गरिएको छ।
सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा अन्य धेरै सुधारका कार्यहरू पनि सञ्चालन गर्दै आएको छ। नगरले '१२ महिना–१२ कार्यक्रम' मार्फत अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, स्थानीय पाठ्यक्रम 'हाम्रो सूर्योदय' लागू गर्ने र गणितको नतिजा सुधार्न छुट्टै अभ्यास पुस्तिका वितरण गर्ने जस्ता कार्य गरिरहेको प्रवक्ता ख्याम भुजेलले बताए। सबै सामुदायिक विद्यालयमा इन्टरनेट र कम्प्युटरको व्यवस्था गरिएको छ भने कागजको प्रयोगलाई निरुत्साहित गर्दै प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ।
त्यसैगरी, नगरले गरिब तथा जेहेन्दार बुहारी र छोरीहरूलाई स्नातक तहमा छात्रवृत्ति दिने, २४ वटा विद्यालयमा ई–हाजिरी जडान गरी अनुगमन गर्ने र अभिभावकलाई विद्यालयको शैक्षिक अवस्थाबारे चासो राख्न परिचयपत्रको व्यवस्था गर्ने जस्ता काम पनि गरेको छ। बालबालिकामा बचत गर्ने बानी बसाल्न कक्षा १ देखि ५ सम्मका विद्यार्थीको बैंक खाता खोलिदिने र त्यसमा नगरपालिकाले समेत रकम थपिदिने नीति लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण