शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

स्वास्थ्यमन्त्रीको एक्सन: पहुँचको भरमा सुगममा काज मिलाएर बसेका १४ विशेषज्ञ चिकित्सक दरबन्दीमै फिर्ता

मङ्गलबार, १७ चैत २०८२, १७ : ३७
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • स्वास्थ्य मन्त्रालयले पहुँचको दुरुपयोग गरी सुगममा काजमा बसेका विशेषज्ञ चिकित्सकलाई मूल दरबन्दीमा फर्काएको छ।
  • पहिलो चरणमा १४ जना विशेषज्ञ डाक्टरलाई दुर्गम तथा क्षेत्रीय अस्पतालमा खटाइएको छ, जसले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेछ।
  • फिर्ता गरिएका चिकित्सकहरू विभिन्न अस्पताल र कार्यालयमा काजमा थिए, जसमा वरिष्ठ सर्जन, रेडियोलोजिष्टलगायतका विशेषज्ञ छन्।

काठमाडौँ । पहुँच र शक्तिको दुरुपयोग गरी सुगम क्षेत्रका सुविधासम्पन्न अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरूकै मूल दरबन्दी भएको अस्पतालमा फर्काएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले देशभरको स्वास्थ्य सेवा प्रणालीलाई सन्तुलित बनाउन र दुर्गम तथा क्षेत्रीय अस्पतालहरूमा देखिएको विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न  कदम चाल्दै पहिलो चरणमा १४ जना विशेषज्ञ डाक्टरको काज फिर्ता गरेकी हुन्।

मन्त्रालयको निर्णयअनुसार स्वास्थ्य सेवातर्फका नवौँ र दशौँ तहका ती विशेषज्ञ चिकित्सकहरूलाई डडेल्धुरा अस्पताल, नारायणी अस्पताल (पर्सा) र गजेन्द्र नारायण सिंह अस्पताल (राजविराज) को स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन दरबन्दी रहेकै निकायमा खटाइएको हो। 

यसअघि उनीहरू विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भरतपुर अस्पताल, कोशी अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेवा विभागजस्ता सुगम तथा केन्द्रीय निकायमा काजमा कार्यरत थिए।
काज फिर्ता भई आफ्नै दरबन्दीमा जानेहरूमा वरिष्ठ कन्सल्टेन्ट इ.एन.टी. सर्जन, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट, साइक्याट्रिष्ट, डर्माटोलोजिष्ट, सर्जन, ग्यास्ट्रोइन्टेरोलोजिष्ट, फिजिसियन र मेडिकल ल्याब टेक्नोलोजिष्टलगायतका विशेषज्ञहरू रहेका छन्।
मन्त्रालयको विवरणअनुसार डा. रोहिता बज्राचार्य, डा. जोसनलाल बज्राचार्य, डा. विशाल कुमार देव, डा. प्रकाश ढकाल र डा. सुशील समदर्शीलाई गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ।

 यसैगरी, डा. सन्तोष कुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नविन चन्द्र भट्ट र डा. सुयोग्य वाग्लेलाई डडेल्धुरा अस्पताल फर्काइएको छ। त्यसैगरी, डा. सोनिका धरी श्रेष्ठ, उप–प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट संजोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा. मुकेश पौडेल र डा. दिपेश भट्टराईलाई नारायणी अस्पतालमा काज फिर्ता गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप