आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

१४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई मान्यता दिए मात्रै नियमित महाधिवेशन : कांग्रेस इतर समूह

बुधबार, १८ चैत २०८२, १५ : ५३
बुधबार, १८ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका नेताहरूले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिनुपर्ने अडान लिएका छन्।
  • शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका नेताहरूले १५ औँ महाधिवेशनको तयारीका लागि १४ औँ समितिलाई वैधानिकता दिनुपर्ने बताए।
  • नेताहरूले पार्टीको आधिकारिताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र फैसलापछि मात्रै १५ औँ महाधिवेशनको तयारी गर्ने बताएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरू नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् । 

बुधबार शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको भेलामा सहभागी भएका नेताहरू गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरूले विधि र विधान सम्मत ढङ्गले निर्वाचित सो केन्द्रीय कार्य समितिलाई वैधानिकता दिएर आफूहरू नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रस्ट्याएका हुन् । 

नेताहरूले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरू १५ औँ महाधिवेशनको तयारीमा जुट्ने र त्यसमा कांग्रेसका सबै समूहहरू सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् । नेता बरालले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई विधिवत् रूपमा मानेर आफूहरू १५ औँ महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पारे । 

उनले भने, ‘कांग्रेस छिटो तन्दुरुस्त भएर जनताको बिचमा जान जरुरी छ । त्यसका लागि हामी १५ औ महाधिवेशनमा सबै आग्रह, पूर्वाग्रह छोडेर उभिन जरुरी छ । त्यो गर्ने कडी भनेको १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई विधिवत् रूपमा मानेर अगाडि जानु मात्रै हो । यता लाग्न म सम्पूर्ण साथीहरूलाई, नेताहरूलाई हार्दिक आग्रह गर्दछु ।’

अर्का नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापाको समूहले भेला भएर बनेको केन्द्रीय कार्य समिति वैधानिक नभएकाले मान्य नहुने जिकिर गरे । उनले १४ औ महाधिवेशनको नेतृत्वलाई मानेर आफूहरू १५ औ महाधिवेशनको तयारीमा रहेको पनि बताए । 

नेता रावलले भने,‘अहिले हाम्रो सर्वोच्च अदालतमा मुद्दा पनि छ । १४ औ महाधिवेशनबाट विधिसम्मत, प्रक्रियासम्मत नेता भएका साथीहरूले केन्द्रीय सभापति र कार्यवाहक सभापतिले एउटा मुद्दा पनि दर्ज गर्नुभएको छ । अर्को तत्कालीन महामन्त्री लगायतका साथीहरूले विशेष महाधिवेशनमार्फत भेला गरेर एउटा कमिटी बनाएर उहाँहरूले आफूलाई वैधानिक भने पनि वास्तवमा सर्वोच्च अदालतको फैसला नभएसम्म हामीले त्यसलाई वैधानिक मानेका छैनौँ । त्यो विधि, विधान र पद्धतिअनुसार नभएर एउटा हुल वा भेलाले गरेको कमिटी भएको हुनाले हामीबिच द्वन्द्व छ । नेपाली कांग्रेस, विधि, मूल्य र मान्यताअनुसार चल्ने पार्टी हो । त्यसो भएकाले हुनाले १४ औ महाधिवेशनको निर्वाचित केन्द्रीय समिति त्यसै हट्दैन । हामी विशेष महाधिवेशनवालहरूको भेलालाई मान्य पक्षमा छैनौँ।’

यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनको तयारी थालिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप