बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

संसदीय इतिहासमा १० सभामुख : कोही प्रधानमन्त्री, कोही राष्ट्रपति बन्न सफल

नवनिर्वाचित १०औँ सभामुख अर्यालको भविष्य कस्तो रहला ?

शनिबार, २१ चैत २०८२, १९ : ००
शनिबार, २१ चैत २०८२

सारांश

  • नेपालको संसदीय इतिहासमा हालसम्म १० जना सभामुखहरूले जिम्मेवारी सम्हालेका छन्।
  • कृष्णप्रसाद भट्टराई पहिलो सभामुख बनेका थिए भने पछिल्लो पटक डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध भएका छन्।
  • सभामुखको पदमा पुगेका व्यक्तिहरूमध्ये केही पछि गएर प्रधानमन्त्री र राष्ट्रपति बन्न सफल भएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध भए ।

शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा भएको मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । भर्खर सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी काठमाडौँ–९ बाट निर्वाचित भएका थिए ।

नेपालको संसदीय इतिहासमा प्रतिनिधि सभाले १० जना सभामुख पाएको छ । पहिलो आम निर्वाचन २०१५ सालमा भएको थियो । त्यो निर्वाचनमा नेपाली कांग्रेसले दुइतिहाइ बहुमत ल्याएपछि २०१६ जेठ १३ गते पार्टी सभापति एवं संसदीय दलका नेता बीपी कोइराला प्रधानमन्त्री बने l २०१६ असार १६ गते प्रतिनिधि सभाको पहिलोे बैठक बसेको थियो भने १८ गते नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई पहिलो सभामुख भएका थिए ।

करिब डेढ वर्षपछि नै, २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले सैन्य बलमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकार अपदस्त गरे, प्रधानमन्त्री र भेटेजति मन्त्रीहरुलाई थुने l संसद विघटन गरे र सभामुख भट्टराईलाई पनि थुने l त्यसपछि ०४६ सालको चैत २६ गतेसम्म निर्दलीय पञ्चायती व्यवस्था अन्तर्गत शासन भयो । त्यतिबेला राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो । पंचायती व्यवस्थामा संसदको रुपमा राष्ट्रिय पंचायत हुन्थ्यो र जसको संचालन सभामुखले हैन, अध्यक्षले गर्दथे l

२०४६ सालमा नेपाली कांग्रेस र वामपन्थी पार्टीहरुको नेतृत्वमा भएको जनआन्दोलनको बलमा बहुदलीय व्यवस्था पुनर्स्थापना भयो र उनै भट्टराई, जो पहिलो सभामुख, नेपाली कांग्रेसका संस्थापक नेता र त्यतिखेर कांग्रेसको कार्यवाहक सभापति थिए, प्रधानमन्त्री बने । उनकै नेतृत्वमा नेपाल अधिराज्यको संविधान, २०४७ जारी भएको थियो । भट्टराईको २०६७ साल फागुन २० गते निधन भयो ।

२०४८ सालमा आम निर्वाचन भयो । उक्त निर्वाचनबाट नेपाली कांग्रेसले प्रस्ट बहुमत प्राप्त गर्‍यो । संसदीय इतिहासमै दोस्रो सभामुख दमननाथ ढुंगाना भए । कांग्रेस नेता तथा मानवअधिकारकर्मी ढुंगाना २०४८ देखि २०५१ असोजसम्म सभामुख भएका थिए । ढुंगानाको २०८१ मंसिर २ गते निधन भयो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले ८८ सिट सहित पहिलो दल बन्यो । एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए । त्यतिबेला कांग्रेस नेता रामचन्द्र पौडेल तेस्रो सभामुखका रूपमा चुनिए । उनी अहिले राष्ट्रपति छन् । पौडेलले २०५१ देखि २०५५ सालसम्म सभामुखको भूमिका निर्वाह गरे । 

नेपालको चौथो सभामुख पनि कांग्रेस नेता नै चुनुएका थिए-  तारानाथ रानाभाट । २०५६ सालमा भएको आम निर्वाचनमा कांग्रेसले बहुमत पाएको थियो । २०५९ साल जेठमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरे पनि तत्कालिन संवैधानिक व्यवस्थाका कारण रानाभाट २०६३ साल बैसाखसम्म सभामुख भए । चार बर्षअघि विघटित प्रतिनिधि सभा सातदल र माओवादीको योजनामा भएको दोश्रो जनआन्दोलनको बलमा पुनर्स्थापित भएपछि रानाभाट भने जिम्मेवारी मुक्त भए l

त्यसपछि सभामुख बन्ने सौभाग्य पहिलो पल्ट कम्युनिष्ट नेताले पाए- नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ सभामुख बन्न सफल भए । राजतन्त्रको अन्त्य गणतन्त्र संथागत गर्ने संक्रमणकालमा उनी सबैभन्दा बढी  , करिब आठ वर्ष सभामुख भए । नेम्वाङ पहिलोपटक वि.सं.२०६३ वैशाख ३० मा सभामुख भएका थिए ।

२०६५ साउन १२ देखि २०६९ जेठ १४ गतेसम्म सभामुख र संविधान सभा अध्यक्ष बन्न सफल नेम्वाङ संविधान सभाको दोस्रो निर्वाचनपछि पनि अर्थात् २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म ती दुवै भूमिकामा रहे । २०७२ साल असोज ३ गते उनकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने नेपालको संविधान जारी भएको थियो । विश्वमा विरलै हुने संविधान सभा अध्यक्ष बन्ने सौभाग्य प्राप्त गरेका नेम्वाङको २०८० भदौ २६ गते निधन भयो । 

छैटौँ सभामुखका रूपमा तत्कालीन नेकपा माओवादीका ओनसरी घर्तीमगरले वि.सं.२०७२ असोज २९ देखि २०७४ असोज २९ सम्म जिम्मेवारी निर्वाह गरिन् । संविधान जारी गर्ने बेला उनी उपसभामुखको भूमिकामा रहेकी ओनसरी घर्तीमगरले पहिलो महिला सभामुख बनेर इतिहास रचिन्।

यसैगरी सातौँ सभामुखमा नेकपा माओवादीकै कृष्णबहादुर महरा निर्वाचित भए । २०७४ फागुन २७ देखि २०७६ असोज १४ सम्म महरा सभामुखको भूमिकामा रहे । महरा सभामुखमा बहाल रहेकै बेला सचिवायलकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि पदमुक्त भएका थिए । यद्यपि अदालतले उनलाई सफाइ दिइसकेको छ ।

महरा पदमुक्त भएपछि माओवादीबाटै अग्निप्रसाद सापकोटा आठौँ सभामुख बन्न सफल भए । उनले २०७६ माघ १२ देखि २०७९ सम्म सभामुखको भूमिका निर्वाह गरे ।

२०७९ को आम निर्वाचनपछि एमालेका नेता देवराज घिमिरे नवौँ सभामुख बने । भदौमा भएको जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भयो । फागुन २१ मा सम्पन्न निर्वाचनमा घिमिरे झापा–२ मा आफ्नै सभामुख कार्यकालमा उपसभामुख रहेकी इन्दिरा रानासँग पराजित भए ।

कांग्रेस र कम्युनिष्ट बाहिरबाट पहिलोपल्ट सभामुख बन्न सफल १०औँ सभामुख अर्यालको भविष्य कस्तो रहला ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप