सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
सारांश
- नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइटहरू बन्द गरेको छ।
- मन्त्रिपरिषद्को निर्णयअनुसार अवैध सट्टेबाजी नियन्त्रणका लागि इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी यी एपहरू बन्द गरिएका हुन्।
- सट्टेबाजीमा संलग्न हुनेलाई कानुनबमोजिम कैद र जरिवाना हुने भन्दै सरकारले यस्ता गतिविधि नगर्न सचेत गराएको छ।
काठमाडौँ । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप्लिकेसन (एप) र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् ।
सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।
“हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल, म्यासेजलगायत विभिन्न माध्यमबाट ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ,” उनले भने ।
मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ । सोही निर्णयअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको हो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन । त्यसको उल्लङ्घन गरेमा त्यसमा प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनेछ ।
त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिट्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनेछ ।
सरकारले सट्टेबाजी एप तथा वेबसाइट प्रयोग तथा सञ्चालन नगर्न पुनः आग्रह गरेको छ । अनधिकृत रूपमा सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ । साथै सरकारले शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण