मदनकृष्ण श्रेष्ठले भने, ‘डिक्सनरीबाटै फालौँ ‘दलित’ र ‘अछुत’ शब्द’
सारांश
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलित समुदायमाथि भएको छुवाछूत र दुर्व्यवहारप्रति माफी मागेका छन्।
- उनले विभेदकारी सोच हटाउन 'दलित' र 'अछुत' जस्ता शब्दलाई डिक्सनरीबाटै हटाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
- उनले संसद्मा रवि लामिछानेले दिएको अभिव्यक्ति र माफी माग्ने कार्यलाई अत्यन्तै परिपक्व र अनुकरणीय भनेका छन्।
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलित समुदायमाथि विगतमा भएको छुवाछूत र दुर्व्यवहारप्रति आफ्नो परिवार र पुर्खाको तर्फबाट माफी मागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा दिएको अभिव्यक्ति र मागेको माफीबाट प्रभावित हुँदै श्रेष्ठले दुवै कान समातेर क्षमायाचना गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै श्रेष्ठले आफूले छुवाछूत प्रथालाई कहिल्यै नमाने पनि पुर्खाबाट त्यस्तो अपमानजनक व्यवहार भएको हुन सक्ने भन्दै माफी मागेका छन्। यो असभ्य, अमानवीय र मूर्ख चलनबाट माथि उठेर सबै नेपालीले सामूहिक रूपमै माफी मागे समाज सुन्दर हुने उनले बताए ।
मानिसको दिमागबाट यस्ता विभेदकारी सोच हटाउन ‘दलित’ र ‘अछुत’ जस्ता शब्दलाई डिक्सनरीबाटै उखेलेर फाल्नुपर्ने उनको धारणा छ। एउटा समुदायलाई होच्याएर आफूलाई ठुलो सम्झनु लाजमर्दो र मूर्खता भएको उनले प्रस्ट पारे।
देशमा नयाँ युग सुरु हुन लागेको जनताले महसुस गरिरहेको उल्लेख गर्दै श्रेष्ठले २०८४ सालमा अपेक्षा गरिएको युवा नेतृत्व समयअगावै प्राप्त भएको बताए। संसद्मा रविको भाषणलाई उनले अत्यन्तै परिपक्व र बौद्धिक अभिव्यक्तिको संज्ञा दिए ।
पुराना दल र नेताले इतिहास बनाएको र अब आफूहरूले भविष्य बनाउने रविको भनाइले देशले काँचुली फेर्दैछ भन्ने आशा जगाएको उनले उल्लेख गरे। रास्वपाले आवेश र प्रतिशोधको भावना नराखी संयम भएर काम गर्नेमा उनले विश्वाससमेत व्यक्त गरे ।
सदियौँदेखि अन्याय र अत्याचार भोगिरहेका समुदायप्रति सम्मान गर्दै रविले संसद्मा माफी मागेको कार्यलाई श्रेष्ठले अनुकरणीय भनेका छन्। रविको उक्त कदमको भारतीय संसद्मा समेत प्रशंसा भएको उनले स्मरण गरेका छन् ।
श्रेष्ठले कवि दुर्गालाल श्रेष्ठले लेखेको टेलिचलचित्र ‘१५ गते’ को ‘सय हरि बाजा एउटै ताल’ बोलको गीतको हरफ स्मरण गर्दै जातीय एकतामा नै बलियो राष्ट्रियता हुने सन्देश दिएका छन्। अरूलाई चोट पर्दा आफूलाई दुख्नु नै राष्ट्रियताको मूल निसान भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण