बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

काममा ढिलासुस्ती गर्ने २५ ठेकेदारलाई अल्टिमेटम : १५ दिनभित्र स्पष्टीकरण नदिए ठेक्का तोडिने

शुक्रबार, २७ चैत २०८२, १५ : ५७
शुक्रबार, २७ चैत २०८२

सारांश

  • बैतडीको सडक डिभिजन कार्यालयले काममा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधेको छ।
  • तोकिएको समयमा काम नसक्ने ठेकेदारहरूलाई चित्तबुझ्दो स्पष्टीकरणसहित कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ।
  • सन्तोषजनक जवाफ नआएमा ठेक्का तोड्दै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।

काठमाडौँ । सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, बैतडीले सम्झौता बमोजिम काम नगर्ने र निर्माणमा चरम ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीहरूलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ । 

शुक्रबार एक सूचना प्रकाशित गर्दै कार्यालयले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति न्यून रहेको र पटक–पटकको लिखित तथा मौखिक ताकेता गर्दा समेत काममा कुनै चासो नदेखाएको भन्दै निर्माण व्यवसायीहरूलाई अन्तिम चेतावनी दिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ का साथै ठेक्का सम्झौताका सर्तहरू बमोजिम ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको छ ।

निर्माण व्यवसायीहरूलाई  सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई चित्तबुझ्दो र विश्वसनीय स्पष्टीकरणका साथै अविलम्ब काम सम्पन्न गर्ने यथेष्ट कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ ।

सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण र कार्ययोजना प्राप्त नभएमा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता रद्द गरिनेछ। साथै, सार्वजनिक खरिद ऐन र नियमावली अनुसार कालोसूचीमा राख्ने लगायतका सम्पूर्ण कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप