सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै, आयात प्रतिस्थापन गर्ने दाबी

१ अर्ब बढीको लगानी, १५० बढीलाई रोजगारी
शनिबार, २८ चैत २०८२, १९ : ५६
शनिबार, २८ चैत २०८२

सारांश

  • मोरङको बुढीगंगामा १ अर्ब बढीको लगानीमा एलेक्सा लाइफसाइन्सेज सलाइन उत्पादन उद्योग सञ्चालनमा आएको छ।
  • अत्याधुनिक जर्मन प्रविधिबाट सञ्चालित यस उद्योगले अन्तर्राष्ट्रिय मापदण्डको सलाइन उत्पादन गरी आयात प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ।
  • हाल उद्योगले १५० जनालाई रोजगारी दिँदै भविष्यमा आँखा र कानको औषधिसमेत उत्पादन गर्ने योजना बनाएको छ।

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा १ अर्ब बढीको लगानीमा ‘एलेक्सा लाइफसाइन्सेज’ नामक सलाइन उत्पादन उद्योग सञ्चालनमा आएको छ । 

अन्तर्राष्ट्रिय मापदण्डको यस उद्योगको औपचारिक रुपमा शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान् कोइरालाले एक विशेष समारोहका बीच विधिवत् रूपमा उद्घाटन गरे । 

स्वदेशमै सलाइन उत्पादन गरी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यले स्थापित यो उद्योगले केही समयअघिदेखि नै आफ्ना उत्पादन बजारमा ल्याउन थालिसकेको छ । उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतले पाँच वर्षको निरन्तर अध्ययन र योजनापछि यो उद्योग सञ्चालनमा ल्याएका हुन् ।

जर्मन प्रविधिको अत्याधुनिक मेसिन प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधि उत्पादन सुरु गरिएको सञ्चालकहरूले दाबी गरेका छन् । उद्घाटन समारोहमा बोल्दै डा. कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए । उनले भने, 'स्वदेशमै औषधि उत्पादन हुनु सकारात्मक कदम हो । गुणस्तरमा कुनै सम्झौता नगरी यसलाई निरन्तरता दिन सके देशलाई ठूलो योगदान पुग्नेछ ।’

उद्योगले हाल पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मको सलाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा १ देखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधीहरू उत्पादन गर्ने योजना रहेको निर्देशक दिनेश ठाकुरले जानकारी दिए । 

'हाम्रो मुख्य उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र औषधिको परनिर्भरता घटाउनु हो,’ ठाकुरले भने, 'तर सलाइन उत्पादनको लागत बढी हुने र बजार मूल्य समायोजन नहुँदा हाल हामीले घाटा सहेरै उत्पादन गरिरहनुपरेको छ ।’

उनले सरकारले नीतिगत सुधार र आवश्यक सहुलियत नदिए स्वदेशी उद्योगहरू धराशायी हुनसक्ने तर्फ ध्यानाकर्षण गराए । 

यस उद्योगले हाल १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । दक्ष जनशक्ति र अत्याधुनिक व्यवस्थापन प्रणाली अपनाएको यस उद्योगले दीर्घकालमा विदेशमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ । सलाइन उत्पादनमा पूर्ण रूपमा स्वदेशी लगानी र उत्पादन गर्ने यो नेपालकै अग्रणी कम्पनी हुने दाबी गरिएको छ । 

नेपालमा औषधि बजारको ठुलो हिस्सा विदेशी कम्पनीहरूको कब्जामा रहेका बेला एलेक्सा लाइफसाइन्सेजको सञ्चालनले औद्योगिक र स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको सरोकारवालाहरूले बताएका छन् । यसले आयातमा निर्भरता घटाउनुका साथै मुलुकको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप