आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सडकपेटी व्यवस्थापनमा बुटवल उपमहानगरको कडाइ

अव्यवस्थित पार्किङ नियन्त्रण गरिने
मङ्गलबार, ०८ वैशाख २०८३, १८ : ४९
मङ्गलबार, ०८ वैशाख २०८३

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ तथा सरसफाइसम्बन्धी समस्यालाई नियन्त्रण गर्न कडाइ गर्ने निर्णय गरेको छ । 

उपमहानगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले सडकपेटी खाली गराउने, अव्यवस्थित रूपमा राखिएका सामान हटाउने तथा पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । 

बैठकमा व्यवसायी, बुटवल उद्योग वाणिज्य संघ का प्रतिनिधि तथा सम्बन्धित निकायबिच सार्वजनिक स्थानको उपयोग व्यवस्थित बनाउन आवश्यक कदम चाल्ने सहमति भएको छ । सडकपेटीमा राखिएका निर्माण सामग्री, होर्डिङ बोर्ड तथा पसलका सामान तत्काल हटाइने र नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गरिने जनाइएको छ । 

त्यस्तै बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधार गर्न पार्किङका लागि निश्चित स्थान तोक्ने, अनधिकृत पार्किङ नियन्त्रण गर्ने तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिने योजना अघि सारिएको छ ।

उपमहानगरपालिकाले ‘सफा र व्यवस्थित बुटवल’ अभियानअन्तर्गत सरसफाइमा विशेष ध्यान दिने, सडक किनार तथा सार्वजनिक स्थल नियमित सफा गर्ने र व्यवसायीलाई पनि जिम्मेवार बनाउने नीति लिएको जनाएको छ । 

बैठकले सबै सरोकारवालाको सहकार्यमा निर्णय कार्यान्वयन गर्ने तथा अनुगमनलाई नियमित बनाउने प्रतिबद्धता जनाएको छ । 

यसअघि सडकपेटी हटाउने क्रममा नगर प्रहरीको व्यवहारप्रति बुटवलका विभिन्न संघसंस्थाले असन्तुष्टि जनाएका थिए । यस सन्दर्भमा प्रमुख पाण्डेयले सहरलाई सुन्दर बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप