सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
बाँके । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्यहारेपछि आलु वा तोरीखेती लगाउने र त्यसलगत्तै वसन्ते मकैखेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
“सिँचाइको व्यवस्था भएसँगै तीन बाली खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ, आलु र वसन्ते मकैबाट किसानले नगद कमाई रहनुभएको छ”, उनले भने, “बर्खेधान स्यहारिसकेपछि गहुँखेती गर्ने किसान दुई बालीमा सीमित हुनुहुन्छ भने गहुँखेतीको सट्टा तोरी वा आलुखेती गर्ने किसानले मकैखेतीसमेत गर्न भ्याउनुभएको छ ।”
गहुँखेतीको तुलनामा तोरीखेती वा आलुखेती छिटो तयार हुने भएकाले त्यसलगत्तै मकैखेती समेत गर्न सकिने भएकाले तीन बाली खेती गर्न कृषि ज्ञान केन्द्रले समेत प्रोत्साहन गर्दै आएको अधिकृत पाठकले जानकारी दिए । बाँके जिल्लामा सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकैखेतीमा ज्ञान केन्द्रले बीउ तथा प्राविधिक सहयोग गरेर प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।
बाँकेमा बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँखेती २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५००, आलु तीन हजार २५०, तोरी छ हजार ५३०, हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ । सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि खेती गर्न किसानलाई सहज हुँदै आएको छ । सिक्टा सिँचाइको पानी नपुगेको क्षेत्रमा कृषि ज्ञान केन्द्रले सिँचाइका लागि ५० प्रतिशत अनुदानमा सहकारी र कृषक समूहलाई बोरिङ वितरण गरेको पाठकले बताए ।
किसानलाई सिँचाइको अभाव हुन नदिन खेती गर्ने समयमा सिक्टाले नहरमा पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।
उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा आव २०८२–८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुर्याएर किसानको अनुहारमा खुसी छर्ने प्रयास गरेको छ ।
सिँचाइको नियमित सुविधा हुनसके बाँकेमा किसानले तीन बाली खेती गरेर राम्रो उत्पादन लिन सक्ने र त्यसले आर्थिक रूपमा समृद्धिको लागि सहयोग पुग्ने अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण