बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्ट्रेट अफ होर्मुजमा इरानद्वारा तीन कार्गो जहाजमाथि हमला, दुई वटा कब्जामा

बुधबार, ०९ वैशाख २०८३, २० : ५७
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • इरानको इस्लामिक रिभोलुसनरी गार्डले स्ट्रेट अफ होर्मुजमा तीनवटा कार्गो जहाजमाथि हमला गर्दै दुईवटालाई आफ्नो नियन्त्रणमा लिएको छ।
  • अमेरिकाले युद्धविरामको समयसीमा बढाएपछि इरानले यसलाई रणनीतिक चाल भन्दै सैन्य कारबाहीमार्फत जवाफ दिएको छ।
  • जहाज नियन्त्रणमा लिएपछि इरान र अमेरिकाबीचको तनाव बढ्दा इस्लामावादमा हुने भनिएको शान्ति वार्ता अन्योलमा परेको छ।

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएको घोषणा गरेलगत्तै बुधबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुजमा तीनवटा कार्गो जहाजमाथि हमला गर्दै दुई वटालाई आफ्नो नियन्त्रणमा लिएको छ। बेलायती म्यारीटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ) र इरानी मिडियाका अनुसार आईआरजीसीले स्ट्रेट अफ होर्मुज हुँदै गइरहेका जहाजहरूलाई निसाना बनाएको हो।

इरानी नौसेनाले एमएससी फ्रान्सेस्का र एपामाइनोन्डास नामक कार्गो जहाजलाई नियन्त्रणमा लिएर इरानी तटतिर मोडेको छ। युफोरिया नामक अर्को जहाजलाई पनि निसाना बनाइएको र त्यो अहिले इरानको तट नजिकै रहेको फार्स न्युज एजेन्सीले जनाएको छ। आवश्यक अनुमतिबिना चलेको र नेभिगेसन प्रणालीमा छेडछाड गरेको आरोप लगाउँदै इरानी नौसेनाले यी जहाजहरू नियन्त्रणमा लिएको दाबी गरेको छ।

बीबीसी भेरिफाइ र युकेएमटीओको रिपोर्टअनुसार ग्रिसको झन्डा भएको एपामाइनोन्डास जहाज ओमानबाट १५ नटिकल माइल उत्तर–पूर्वमा पुग्दा आईआरजीसीमा आबद्ध बन्दुकधारी बोटले बिना कुनै रेडियो चेतावनी गोली चलाएको थियो। यसबाट जहाजको कन्ट्रोल सेन्टरमा ठुलो क्षति पुगेको छ। इरानी मिडियाले भने उक्त जहाजले सेनाको चेतावनीलाई बेवास्ता गरेकाले कारबाही गरिएको बताएका छन्।

यसैगरी, पनामाको झन्डा रहेको र युएईको कम्पनीले सञ्चालन गरेको युफोरिया जहाजलाई इरानबाट करिब आठ नटिकल माइल पश्चिममा हमला गरिएको थियो। जहाजका क्याप्टेनले जहाज रोकेको र चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ।

तेस्रो जहाज एमएससी फ्रान्सेस्कामाथि पनि पनामाकै झन्डा थियो। स्ट्रेट अफ होर्मुजबाट निस्केर ओमानको खाडीतर्फ जाँदै गर्दा इरानी तटबाट करिब छ नटिकल माइल टाढा आईआरजीसीले यसलाई रोकेर एङ्कर खसाल्न आदेश दिएको थियो।

यसअघि मङ्गलबार राति अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको तर्फबाट स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी जारी राख्दै युद्धविरामको म्याद अनिश्चितकालका लागि लम्ब्याएको घोषणा गरेका थिए। पाकिस्तानमा अमेरिकासँग हुने भनिएको शान्ति वार्ताअघि इरानमाथि दबाब बढाउने उद्देश्यले अमेरिकाले यस्तो कदम चालेको थियो।

मङ्गलबार नै पेन्टागनले इन्डो–प्यासिफिक क्षेत्रमा एम/टी टिफनी नामक झन्डाविहीन ट्याङ्करलाई नियन्त्रणमा लिएको बताएको थियो। इरानलाई समर्थन गर्ने अवैध नेटवर्क रोक्न यस्तो गरिएको अमेरिकी दाबी थियो भने इरानले यसलाई सशस्त्र लुट र युद्धविरामको उल्लङ्घन भन्दै कडा विरोध गरेको थियो। इरानले उक्त कार्गो सिप तत्काल रिहा गर्न माग गरिरहेको छ।

अमेरिकाले ओमानको खाडीमा इरानी झन्डा भएको मालवाहक जहाज टुस्कामाथि गोली चलाएपछि स्थिति थप तनावपूर्ण बनेको हो। इस्लामावादमा हुने भनिएको शान्ति वार्ताको दोस्रो चरणको बैठक यसै कारण अन्योलमा परेको छ।

इरानी प्रतिनिधिमण्डल वार्ताको टेबुलमा बस्न तयार भए पनि अमेरिकी कदमपछि उनीहरूले आफ्नो योजना बदले र कोही पनि इस्लामावाद गएनन्। अर्कोतर्फ अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार मङ्गलबार पाकिस्तान प्रस्थान गरेनन्। ह्वाइट हाउसले नाकाबन्दी र हमलाबाट इरानलाई दबाबमा राखेर वार्तामा झुकाउने सोचेको भए पनि त्यसको उल्टो असर परेको छ र इरानी सेनाले उल्टै जवाफी कारबाही थालेको छ।

ट्रम्पको भनाइमाथि इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। तर, इरानी संसदका सभामुख मोहम्मद बागर गालिबाफका सल्लाहकार महदी मोहम्मदीले ट्रम्पले युद्धविराम बढाउनुको कुनै अर्थ नभएको र यो अचानक हमला गर्नका लागि समय निकाल्ने चाल मात्र भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै हार्ने पक्षले सर्त तय गर्न नसक्ने र घेराबन्दी जारी राख्नु बमबारी गर्नुभन्दा फरक नभएको उल्लेख गरेका छन्। ट्रम्पले हमलाको तयारी गर्नका लागि मात्र युद्धविराम लम्ब्याएको आरोप लगाउँदै उनले अब इरानले सैन्य कारबाहीमार्फत पहलकदमी लिने समय आएको चेतावनी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप