सकारात्मक सोचले व्यक्तिको स्वास्थ्यमा पार्ने प्रभाव
सारांश
- सकारात्मक सोचले व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यमा गहिरो प्रभाव पार्दै तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ।
- मानिसले सकारात्मक दृष्टिकोण अपनाउँदा मस्तिष्कमा हुने रसायनको परिवर्तनले प्रतिरक्षा प्रणाली सुदृढ बनाउनुका साथै उच्च रक्तचाप नियन्त्रण गर्छ।
- सकारात्मक विचारले असफलताबाट बचाउँदै पारिवारिक र सामाजिक सम्बन्ध सुधार्नका साथै जीवनलाई अर्थपूर्ण बनाउँछ।
आजको द्रुतगतिमा बदलिँदो संसारमा तनाव, चिन्ता र रोगका कारण मानिसको जीवनशैली प्रभावित हुँदै गएको छ । यस्ता चुनौतीपूर्ण परिस्थितिमा सकारात्मक सोच एक यस्तो अमूल्य औषधि हो, जसले व्यक्तिको मानसिक मात्र होइन, शारीरिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्छ । सकारात्मक सोच समस्यालाई इन्कार गर्नु वा कर्म विनाको स्वप्नरूपी आशावाद होइन, बरु कठिन परिस्थितीमासमेत आफूभित्र भएको क्षमतालाई पहिचान गरी समाधान खोज्ने दृष्टिकोण हो ।
देव र दानव गुणको सम्मिश्रण मानव हो । मानिसमा होनहार देव बन्न सक्ने गुण पनि हुन्छ र राक्षसरुपी मानव हुने सम्भावना पनि त्यति नै हुन्छ । त्यो उसको सोचमा निर्भर रहन्छ । भगवद्गीताको १६औँ अध्याय (दैवासुर सम्पद्विभाग योग) मा श्रीकृष्णले २६ वटा दैवी गुण र १४ वटा आसुरी गुणहरू बारे उल्लेख गरिएका छन् ।
बुज्रुकहरूले ३२ गुण ले युक्त भन्ने शब्दावली त्यहीबाट आएको हो । विद्यालयदेखि उच्च शिक्षासम्मको औपचारिक शिक्षा, हालसम्मको जीवन भोगाइलाई फर्केर हेर्दा यो एक थान मानव शरीरले अथाह दैवी गुण बोकेर हिँडेको छ । मानव भित्रको आसुरी गुण हाबी भए दुःख, अशान्ति र विनाश निम्त्याउँछन् । तर आफैभित्रको अथाह सकारात्मकतालाई जीवन व्यवहारमा उतार्न सके आसुरी गुणमाथि विजय प्राप्त गर्न सकिन्छ ।
यस्तो मानव स्वयं प्रदीप्त हुनुका साथै समाजमा आसुरी गुणमाथि विजय प्राप्त गराउन सक्ने सक्षम व्यक्ति बन्न पुग्छ । तर यी सकारात्मक सोच र व्यवहार कुनै सफ्टवेयर भने होइनन् जुन डाटा ट्रान्सफर गरेर अर्कोमा सार्न सकिने । सकारात्मक सोच जीवन र व्यवहार हो । जब कुनै घटनाबाट कुनै मानिसले सकारात्मक सन्देश प्राप्त गर्छ, तब उसको मस्तिष्कले डोपामिन, सेरोटोनीन र एन्डोर्फिन उत्पन्न गर्छ । जसले क्रमशः प्रेरणा, शान्ति, तनाव र पिडा निवारणको काम गर्छ ।
हामीलाई कुनै अनपेक्षित घटना व्यवस्थापन गर्ने क्षमता दिन्छ । शान्त, प्रेरित, आनन्दित तथा आत्मविश्वासी बनाउँछ । तर सोही घटना यदि कुनै मानिसले नकारात्मक रूपमा बुझ्छ भने उसको मस्तिष्कबाट कोर्टिसोल र एड्रेनालिन रसायन उत्पन्न हुन्छ । यसले मानिसलाई तनाव, उच्च रक्तचाप, अनिन्द्रा तथा स्मरण शक्तिलाई कमजोर पार्ने गर्छ । त्यसैले सकारात्मक सोच कुनै दर्शन मात्र होइन, यो त मानव मस्तिष्कको रसायन परिवर्तन गर्ने शक्तिशाली अभ्यास हो ।
मेडिकल साइन्स हारेको ठाउँमा पनि जीवनको कोपिला अङ्कुरित भएकै छ । त्यो कसरी सम्भव भयो होला ? त्यसैलाई सकारात्मक सोचको उपज भनिन्छ ।
जीवनका घटनाहरूलाई यथार्थपरक र आशावादी दृष्टिकोणबाट ग्रहण गर्ने मानसिक प्रवृत्ति सकारात्मक मानव प्रवृत्ति हो । जुन भावनात्मक अवस्था मात्र नभई मानसिक संरचना, व्यवहारिक प्रतिक्रिया र जीवनप्रतिको दृष्टिकोणलाई निर्देशित गर्ने महत्त्वपूर्ण मनोसामाजिक तत्त्व हो । मानिसको सोच र उसको स्वास्थ्य एक आपसमा अन्तरसम्बन्ध छ । व्यक्तिको मानसिक स्वास्थ्यमा सकारात्मक सोचरूपी ऊर्जाले के गर्छ त आउनुस् जानौँ ।
तनाव र चिन्ता कम हुन्छ: सकारात्मक सोच राख्ने मानिसले समस्यालाई अन्त्य होइन, जीवनको थप सिकाइको रूपमा हेर्छ।दैनिक व्यवहारिक तथा पेसागत समस्या तथा चुनौती लाई सहजै व्यवस्थापन गर्ने कौशलता प्राप्त हुन्छ यसले तनाव घटाउँछ र चिन्ता नियन्त्रणमा राख्नुका साथै शान्त र शीतल रहन मद्दत गर्छ।
आत्मविश्वासी: आफूप्रति विश्वास गर्न सक्षम व्यक्ति जस्तोसुकै कठिन परिस्थितिमा पनि हिम्मत हारेको हुँदैन । सदैव उच्च मनोबलका साथमा कर्म गर्छ । यसले जीवनमा उत्साह, स्थिरता र लक्ष्यप्रति समर्पण बढाउँछ । व्यक्तिको आफूप्रतिको विश्वास र भरोसा अन्य व्यक्तिको लागि पनि प्रेरणा र ऊर्जाको प्रतीक बन्न पुग्छ ।
निराशाबाट बचाउँछ: भागवत गीतामा भनिएको छ ‘कर्म गर फलको आसा नगर’ असफल हुनु जीवनको अन्त्य होइन तर असफलता पश्चात् कर्मप्रतिको निरन्तरता नभएमा जीवनको यात्रामा मूलबाटोमै नपुगी रुमल्लिनु पर्ने अवस्था रहन्छ । असफलता, हानि वा निराशालाई स्विकारेर अघि बढ्ने शक्ति कसैमा हुन्छ भने यस्तो सोचले डिप्रेसन, डर, नकारात्मक भावनाबाट छुटकारा दिलाउन मद्दत पुर्याउँछ ।
सम्बन्धमा सुधार: परिवारविहीन भई सडक र सार्वजनिक स्थललाई आश्रय बनाई रहेका मानिसलाई हेरौँ उ पैसा नभएर होइन सम्बन्धका कारण सडक मानवको जीवन व्यतीत गर्न विवश छ । सकारात्मक विचारको व्यक्तिले अरूलाई क्षमा दान दिन सक्छ, नम्र बोली, शिष्ट व्यवहार र भावना निश्चल हुन्छ । पारिवारिक, सामाजिक र पेसागत सम्बन्ध बलियो बनाउँछ । जुन मानवका लागि सबै भन्दा ठुलो ऊर्जा साहस तथा खुसी हुने गर्छ ।
प्रतिरक्षा प्रणाली सुदृढ: सकारात्मक सोच भएका व्यक्तिले हरेक घटनालाई सकारात्मक दृष्टिले बुझ्ने गर्छ, जुन बुझाई उसको मस्तिष्कले ग्रहण गर्छ । यस कारण तनाव कम हुन्छ र प्रतिरक्षा प्रणाली बलियो बन्छ । यसले बिरामीपनलाई हटाउनुका साथै बिरामी पर्ने सम्भावना घटाउँछ ।
रक्तचाप नियन्त्रण: सकारात्मक सोचले तनाव कम हुन्छ । तनाव व्यवस्थापन गर्न सक्ने व्यक्तिमा रक्तचाप सन्तुलनमा रहन्छ । सकारात्मक सोच भएका मानिसमा मुटु सम्बन्धी रोगको जोखिम कम पाइन्छ ।
आरामदायी निन्द्रा: सकारात्मक मनोभावले चिन्ता र डर कम पार्छ जसले निद्राको गुणस्तर बढाउँछ । अब प्रश्न उठ्छ मानव भित्रै रहेका ती सकारात्मक सोचलाई कसरी अपनाउने ? आनीबानी तथा सोचसहित व्यवहार रूपान्तरणका लागि के–के गर्दा सकारात्मक सोच विकास हुन्छ ? यसबारे पनि हामीले त्यति नै ध्यान दिनुपर्ने देखिन्छ ।
यसका लागि महत्त्वपूर्ण हो– आहार, दैनिक योग अभ्यास, गहिरो निन्द्रा, सुमधुर सम्बन्ध, मनोरञ्जन र अध्ययन । निष्कर्षमा हामी के भन्न सक्छौँ भने सकारात्मक सोच मानव जीवनको हरेक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्छ । सकारात्मक दृष्टिकोणबाट मानिसले आफूभित्रको क्षमता चिन्न सक्छ । चुनौतीहरूको सामना गर्न सक्छ तथा मानव जीवनलाई अर्थपूर्ण बनाउन सक्छ ।
(ज्ञवाली कर्णाली प्रदेश सरकारमा उपसचिव हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण