मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
सारांश
- व्यास नगरपालिकाले पर्यटकीय गन्तव्य मानुङकोटलाई व्यवस्थित र दिगो विकास गर्न सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ।
- यस आयोजनामार्फत मानुङकोटलाई योजनाबद्ध पूर्वाधारसहितको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ, जसले स्थानीय रोजगारी र बसोबासको अवसर बढाउनेछ।
- मानुङकोटबाट देखिने हिमालका दृश्य, सूर्योदय र कुहिरो तथा धार्मिक किंवदन्तीले यस क्षेत्रलाई पर्यटकको आकर्षक गन्तव्य बनाएको छ।
तनहुँ । व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ।
नगरपालिका वडा नम्बर ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उक्त ठाउँलाई पर्यटकीय ग्रामका रूपमा विकास गर्ने उद्देश्यसहित जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरिएको जानकारी दिए । त्यसका लागि प्रारम्भिक अध्ययनसमेत भइसकेको उनले बताए।
आयोजनालाई नगरपालिकाको आफ्नै जग्गा एकीकरण आयोजना कार्यान्वयन एकाइमार्फत सञ्चालन गर्ने गरी संस्थागत तयारी भइरहेको लम्सालको भनाइ छ । “आयोजनामार्फत मानुङकोटलाई योजनाबद्ध पूर्वाधारसहितको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आधार निर्माण हुनेछ”, उनले भने,“दमौली बजार नजिकै रहेको यो क्षेत्र मौलिक पहिचान र दृश्यात्मक सौन्दर्यका कारण दीर्घकालीन पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ ।”
आयोजना कार्यान्वयनमा आएपछि सडक, खानेपानी, विद्युत्, पदमार्ग, पार्क तथा अन्य आधारभूत पूर्वाधार योजनाबद्ध रूपमा विकास गरिने नगरपालिकाले जनाएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै व्यवस्थित बसोबासको अवसर बढ्ने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने विश्वास गरिएको छ।
यहाँबाट कुहिरो र सूर्योदय देखिने भएकाले पछिल्लो सयम मानुङकोट पर्यटकको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।
यहाँबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ।
पछिल्लो समय मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरू पनि पुनः मानुङकोट फर्केर व्यवसाय गर्न थालेका छन्।
सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको छ । अलैँचेबाट मानुङकोटसम्म चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको १८० मिटर ठाउँमा ‘आरसिसी’ ढलान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण