कर्णालीमा फेरियो नियति, भर्ना अभियान अगावै पुग्यो पाठ्यपुस्तक
सारांश
- कर्णालीका हिमाली तथा पहाडी जिल्लामा यो वर्ष शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पुगेको छ ।
- विगतमा परीक्षाको समयसम्म पनि पाठ्यपुस्तक नपुग्दा शैक्षिक गुणस्तर खस्कने समस्या थियो ।
- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार हालसम्म ७० प्रतिशत पाठ्यपुस्तक बिक्री भइसकेको छ ।
सुर्खेत । विगतमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा प्रायः वार्षिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातमा पूरा सेट पाठ्यपुस्तक पुग्दैनथ्यो । परिणामस्वरुप शैक्षिक गुणस्तर खस्कनेमात्र होइन, रिजल्ट समेत अन्य प्रदेशको तुलनामा कर्णालीको कमजोर रहँदै आएको छ ।
यद्यपि पाठ्यपुस्तकको विगतको नियति भने अहिले फेरिएको छ । यो वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै कर्णालीका जिल्लाहरूमा पाठ्यपुस्तक पुगिसकेको छ ।
विगतमा वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र लागु हुने गरेकोमा यो वर्ष सरकारले कार्यतालिका संशोधन गरेर वैशाख १५ देखि भर्ना अभियान सुरु गरेको छ । यस्तै, वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने भनिएको छ ।
तर, कर्णालीका जिल्लाहरूमा भर्ना अभियान सुरु हुनुपूर्व नै पहिलो चरणको पाठ्यपुस्तक पुगिसकेको हो । विशेषगरी कर्णालीका हिमाली जिल्लाहरूमा पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । जुम्लामा चैत अन्तिम सातामै पाठ्यपुस्तक पुगिसकेको थियो ।
कर्णालीका जिल्लाहरूमा जनक शिक्षाको नेपालगञ्ज र प्रादेशिक कार्यालय सुर्खेतबाट पाठ्यपुस्तक पठाइन्छ । पाठ्यपुस्तक व्यवसायीहरूले ढुवानी गर्दा जताबाट सहजता हुन्छ, उतैबाट पाठ्यपुस्तक जिल्लाहरूमा पु¥याउँछन् । यद्यपि हुम्ला, डोल्पा, रुकुम पश्चिम, सल्यान र केही मात्रामा जाजरकोटमा जनक शिक्षाको नेपालगञ्ज कार्यालयबाट पुस्तक जान्छ ।
सुर्खेत कार्यालयबाट सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, जाजरकोट र केही मात्रामा हुम्लामा पनि पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षाको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख जमुना ढकालका अनुसार धेरैजसो ठाउँमा पाठ्यपुस्तक यसअघि नै जिल्लाहरूमा गइसकेको छ ।
‘पाठ्यपुस्तकहरू गइरहेका छन्, केन्द्रबाट पनि अहिले पहिला जस्तो पुस्तकको समस्या भएको छैन,’ उनले रातोपाटीसँग भनिन्, ‘अहिले पर्याप्त छ । केन्द्रबाट पनि आइरहेको छ अनि यताबाट पनि सबै जिल्लामा पुगेको छ ।’ लगभग ७० प्रतिशत पाठ्यपुस्तक बिक्री भइसकेको उनले बताइन् ।
ढकालका अनुसार यो कार्य अझ छिटो हुन सक्थ्यो । उनले अगाडि भनिन्, ‘शैक्षिक सत्र अलिकति पछाडि सरेको हुनाले र स्थानीय तहबाट भुक्तानी अलि ढिलो हुनाले सबैजसो व्यापारी अझै आइपुग्नुभएको छैन ।’
जनक शिक्षाको सुर्खेत कार्यालयबाट जिल्ला तथा पालिकामा ५० भन्दा बढी पुस्तक व्यवसायीहरूले किताब पु¥याउने गरेका छन् । ‘एक लट त सबैले लगिसक्नुभयो । उहाँहरूमध्ये नै केहीले थप पुस्तक लिन बाँकी छ,’ प्रमुख ढकालले भनिन्, ‘नत्र लगभग सबै स्थानीय तहमा पाठ्यपुस्तक पुगिसक्यो ।’
सुर्खेत कार्यालयबाट हालसम्म ७ करोड ६९ लाख ८७ हजार ९१ रुपैयाँ बराबरको ५ लाख ६६ हजार ८१ वटा पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ ।
सेटअनुसार करिब १४ देखि १५ हजारको हाराहारीमा जिल्लामा गइसकेको छ भने अझै गोदाममा करिब ६ देखि ७ हजार थान पुस्तक स्टक छ । हालसम्म दैलेखमा १ करोड ५५ लाख ५० हजार ३०० रुपैयाँ बराबरको १ लाख २५ हजार ८९३ वटा पाठ्यपुस्तक गइसकेका छन् । सुर्खेतमा १ करोड ३५ लाख ५० हजार ५६० रुपैयाँ बराबरको १ लाख ९ हजार ३५० वटा पाठ्यपुस्तक बिक्री वितरण भइसकेका छन् ।
जाजरकोटमा ५४ लाख ६ हजार ४८७ रुपैयाँ बराबरको ३९ हजार ६६१ वटा पाठ्यपुस्तक पुगिसकेका छन् । हुम्लामा ९४ लाख ११ हजार ८७० रुपैयाँ बराबरको ६८ हजार ९२३ वटा पाठ्यपुस्तक पठाइएको छ । मुगुमा ६२ लाख ८२ हजार ८१२ रुपैयाँ बराबरको ४६ हजार ५०८ वटा पाठ्यपुस्तक गइसकेका छन् । कालिकोटमा १ करोड ८० लाख ९० हजार ५०१ रुपैयाँ बराबरको १ लाख २० हजार ५५० वटा पाठ्यपुस्तक वितरण भएका छन् । जुम्लामा ७४ लाख २२ हजार ७७० रुपैयाँ बराबरको ४५ हजार ९५९ वटा पाठ्यपुस्तक पुगेका छन् ।
जनक शिक्षाको सुर्खेत कार्यालयबाट सुदूरपश्चिमको अछाम जिल्लामा पनि झन्डै १२ लाख ७१ हजार ७९० रुपैयाँ बराबरको ९ हजार २३७ वटा पाठ्यपुस्तक गएका छन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपालगञ्जका प्रमुख रुद्रबहादुर खनालका अनुसार, हुम्लामा १६ हजार १९०, डोल्पामा ३७ हजार २०८, रुकुम पश्चिममा १ लाख ६८ हजार ६७६, जाजरकोटमा ४७ हजार ३२ र सल्यानमा ६६ हजार ४१५ थान पाठ्यपुस्तक गइसकेको छ ।
शैक्षिक सत्र ढिलो सुरु भएकाले केही व्यवसायी आउन बाँकी भए पनि पहाडी तथा हिमाली जिल्लाहरूमा पाठ्यपुस्तकको उपलब्धता भइसकेको खनालले रातोपाटीलाई बताए ।
‘केही व्यवसायीहरू व्यक्तिगत कारणले ढिलो आउनुभएको हुन सक्छ, तर हामीले पर्याप्त मात्रामा पुस्तक लैजान सबैलाई सूचित गरिसकेका छौँ,’ उनले भने, ‘यदि कतैबाट अभावको गुनासो आएमा व्यवसायीहरू मार्फत तुरुन्तै पुस्तक पु¥याउने प्रबन्ध मिलाइनेछ ।’
कुनै विद्यालयमा व्यवसायीको कारण वा विद्यालयकै ढिलाइले पुस्तक नपुगेको हुन सक्ने, तर आफ्नो तर्फबाट बिक्री–वितरणको दायित्व पूरा भइसकेको खनालले बताए ।
अहिले पुस्तक अभाव हुने अवस्था छैन
जनक शिक्षाका सुर्खेत कार्यालय प्रमुख जमुना ढकाल विगतजस्तो यो पटक पुस्तक अभाव नहुने बताइन् । उनका अनुसार, केन्द्रले पनि ‘जति सक्नुहुन्छ दिनुस्, हामी अभाव हुन दिँदैनौँ’ भनिरहेको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, कर्णाली प्रदेशका अध्यक्ष गणेश रोकायाले पनि सबै जिल्लामा आवश्यक पुस्तक पुगिसकेको बताए ।
‘म अपडेट गरिरहेको छु, मैले जनक शिक्षामा पटक–पटक फोन गरिरहेको हुन्छु,’ उनले भने, ‘किताबहरू सबै ठाउँ उठाएर लगिसकिएको छ ।’
उनका अनुसार, भर्ना अभियान वैशाख १५ पछि भनिएकाले पनि विद्यार्थी, अभिभावक र शिक्षक केही अन्योलमा देखिन्छन् ।
‘के नियम आउने हो र कसरी गर्ने भन्ने कुरामा स्पष्टता नभएको जस्तो देखिन्छ,’ उनले भने, ‘अघिल्ला वर्षहरूमा यो समयसम्म पठनपाठन सुरु भइसक्थ्यो । अहिले किताबहरू समयमै आइपुग्दा पनि अन्योलचाहिँ छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण