आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सडक बनाउन सार्वजनिक जमिन उत्खनन् गर्दै निर्माण कम्पनी

वडा अध्यक्षकै मिलेमतोमा उत्खनन् भएको स्थानीयको आरोप
बुधबार, २३ वैशाख २०८३, १८ : ४८
बुधबार, २३ वैशाख २०८३

सिरहा । सरकारले सार्वजनिक सम्पति संरक्षण गर्न धमाधम सूचना जारी गर्ने र बस्ती भत्काउने कार्य गरिरहेको बेला सिरहाको गोलबजारमा भने जनप्रतिनिधिकै मिलेमतोमा सार्वजनिक जमिन अवैध रूपमा उत्खनन् भइरहेको छ ।

गोलबजार नगरपालिका–१२, असनपुर चौरमा रहेको रामजानकी मन्दिरको जग्गा अवैध उत्खनन् भइरहेको हो । स्थानीयका अनुसार वडा अध्यक्ष गणेश मुखियाले निर्माण कम्पनीसँगको मिलेमतोमा माटो बिक्री गरेका हुन् । मन्दिरका पुजारी विहारी दास (मुखिया)सहित स्थानीय केही व्यक्तिलाई वडा अध्यक्षले प्रभावमा पारेर मन्दिरको नाममा रहेको खेतीयोग्य जग्गाको माटो सडक निर्माण कम्पनीलाई बिक्री गरेको स्थानीयको आरोप छ ।

मन्दिरको नाममा जम्मा ८ बिघा ५ कट्ठा जग्गा छ । जसमध्ये १ बिघा ९ कट्ठाको कित्ताबाट माटो उत्खनन् भइरहेको स्थानीय उमाप्रसाद मण्डलले जानकारी दिए ।

मण्डलका अनुसार करिब १५ कट्ठा क्षेत्रफलबाट माटो उत्खनन् भएको हो ।

मन्दिरको अन्य जमिन ठेक्कामा लगाए पनि यो जग्गामा पुजारी आफैँले खेतीपाती गर्दै आएका थिए । खेतीपाती हुँदै आएको जमिनबाट पोखरी बन्ने गरी माटो उत्खनन् भएकाले अब बाली लगाउनसमेत नमिल्ने स्थानीय बताउँछन् । वर्षामा आसपासबाट बगेर आउने पानी सोही जमिनमा जम्ने गरी खाडल बनेकाले अब खेतीको सम्भावना नहुने स्थानीयको भनाइ छ ।

स्थानीय सुरेन्द्र मण्डलले उक्त जमिनमा पछिल्लो करिब १० दिनदेखि माटो खन्ने, ओसार्ने र नजिकै निर्माणाधीन बाटोमा प्रयोग गर्ने कार्य भइरहेको बताए । उनले भने, ‘मन्दिरमा एउटा पात हल्लिँदा पनि जानकारी हुने, सोधीखोजी गर्ने वडा अध्यक्षले दिनदहाडै दर्जनौँ ट्याक्टर र जेसीभी लगाउँदा पनि वास्ता नहुनु अनौठो हो ।’

अर्का स्थानीय राजकुमार मुखियाले पनि आफूले पछिल्लो १०/१२ दिनदेखि रातको समयमा माटो खन्ने गरेको देखेको बताए । उनले भने, ‘मन्दिरको विषयमा वडाअध्यक्षले नै बारम्बार चासो राख्दै आउनु भएको छ । माटो खन्ने काम उहाँको सहमति विना सम्भव नै छैन ।’

वडा अध्यक्ष मुखियाले भने आफूलाई माटो खनिरहेको विषयमा कुनै जानकारी नभएको जिकिर गरे । उनले भने, ‘मलाई कसले, कसरी र किन मन्दिरको जमिनबाट माटो निकालिरहेको हो भन्ने जानकारी भएन । मैले पनि सञ्चार माध्यमबाटै जानकारी पाएको हो । अब बुझेर कारबाहीका लागि अगाडि बढ्छु ।’

मन्दिर विकास समितिका सदस्य माधव प्रसाद यादवले आफूलाई यसबारे भर्खरै जानकारी आएको बताए । उनले समितिको बैठक राखेर आवश्यक निर्णय लिने जानकारी दिए ।

मन्दिरका पुजारी विहारी दास (मुखिया)ले भने माटो खनेको भोलिपल्ट वडा अध्यक्षले हेर्न एक जनालाई पठाएको  बताए । उनले भने, ‘मैले कसैलाई नसोधी खेत सम्याउन भनेको थिएँ । भोलिपल्ट वडाअध्यक्षले समितिको एक जनालाई हेर्न पठाउनु भएको थियो । उहाँले पनि कुनै–कुनै ठाउँमा गहिरो भयो भनेर जानु भयो ।’

निर्माण कम्पनीका प्रमोद यादवले भने यस विषयमा मन्दिरका पुजारीसँगै यसबारे कुरा गर्न सुझाव दिए ।

मधेस प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयको १०  करोड ३७ लाख ८ हजार ५१५ रुपैयाँ लगानीमा  दुर्गापुर विश्वकर्माचोक, मोतियाही, कसहा हुँदै सर्रेआम्वाससम्मको सडक निर्माण योजना सञ्चालन गरेको छ ।

नगरपालिकाले आफ्नो अनुमतिविना सार्वजनिक जग्गाको माटो उत्खनन् गरेकोप्रति सचेत गराउँदै तत्काल राजस्व शाखामा सम्पर्क गर्न निर्माण कम्पनीको नाममा पत्र काटेको छ । सम्पर्कमा नआए कानुन बमोजिम कारबाही हुने पत्रमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप