बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्वेलर्समा लुटपाट रोक्ने सञ्जिताको अदम्य साहसलाई प्रहरीले गर्‍यो सम्मान

बिहीबार, २४ वैशाख २०८३, १७ : ४१
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • काठमाडौँको एक ज्वेलर्समा लुटपाटको प्रयास गर्ने सशस्त्र समूह विरुद्ध ज्यानको पर्वाह नगरी बहादुरीपूर्वक प्रतिरोध गर्ने सञ्जिता शाक्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ ।
  • गत वैशाख १७ गते काठमाडौँको नैना एण्ड ईशान ज्वेलर्समा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको थियो ।
  • शाक्यले देखाएको हिम्मत, आत्मविश्वास र नागरिक दायित्वको कदर गर्दै प्रहरीले उनलाई कदर पत्र प्रदान गरी सम्मान गरेको हो ।

काठमाडौँ । काठमाडौँको एक ज्वेलर्समा लुटपाट गर्न आएका सशस्त्र समूह विरुद्ध ज्यानको पर्वाह नगरी बहादुरीपूर्वक प्रतिरोध गर्ने सञ्जिता शाक्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच शाक्यलाई कदर पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित ‘नैना एण्ड ईशान ज्वेलर्स’ मा गत वैशाख १७ गते दिउँसो दुई जना व्यक्तिहरूले पेस्तोल देखाएर आतंक सिर्जना गरी लुटपाटको प्रयास गरेका थिए । उक्त समयमा ज्वेलर्समा कार्यरत सञ्जिताले देखाएको हिम्मत, उच्च आत्मविश्वास र नागरिक दायित्वको कदर गर्दै प्रहरीले उनलाई सम्मानित गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले विषम् परिस्थितिमा समेत सञ्जिताले देखाएको साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे । सभ्य र सुरक्षित समाज निर्माण तथा अपराध अनुसन्धानमा प्रहरी र नागरिकबीचको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै उनले आगामी दिनमा पनि नागरिकसँग सहकार्य गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकता दिने बताए ।

‘सञ्जिताले देखाएको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुनुका साथै समाजमा अपराध विरुद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको छ,’ महानिरीक्षक कार्कीले भने । सञ्जिताले घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारुकताका कारण प्रहरीलाई अनुसन्धानमा सहज भएको थियो । 

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै सम्मानित शाक्यले कुनै पनि आपराधिक घटनाको सफल अनुसन्धानका लागि प्रहरीलाई शीघ्र जानकारी दिनु र प्रविधिको प्रयोग गर्नु महत्वपूर्ण हुने सन्देश आम नागरिकलाई मिलेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप