आधुनिकतासँगै मिथिलाका मौलिक परिकार ओझेलमा
सारांश
- आधुनिकतासँगै मिथिलाञ्चलका मौलिक परिकारहरू जस्तै विरिया, तिलौरी, दनौरी, तिस्यौरी, अदौरी आदि लोपोन्मुख अवस्थामा पुगेका छन् ।
- मोबाइल र प्रविधिमा बढ्दो निर्भरताका कारण मानिसहरूले परम्परागत परिकार बनाउन समय दिन छाडेकाले पुस्तान्तरण हुन नसकी यी परिकार लोप हुने अवस्थामा पुगेका छन् ।
- शेफ सन्तोष साहले सुरु गरेको 'मिथिला थाली' ले लोप हुन लागेका परम्परागत मिथिला परिकारहरूलाई पुनः प्रस्तुत गर्ने प्रयास गरेको छ ।
जनकपुरधाम । मिथिलाञ्चलमा बढ्दो आधुनिकतासँगै यहाँका मौलिक परिकारहरू दिन प्रतिदिन लोपोन्मुख अवस्थामा पुग्दै गइरहेका छन् । परम्परागत रूपमा खेतीपाती गरी जीवनयापन गर्दै आएका मिथिलावासी आधुनिक जीवनशैलीतर्फ आकर्षित हुँदैजाँदा ती मौलिक स्वाद ओझेलमा परेका छन् ।
घरघरमै महिलाहरूले समय र आवश्यकता अनुसार बनाउने विरिया (अरिकंचन), तिलौरी, दनौरी, तिस्यौरी, अदौरी लगायतका परिकारहरू आजभोलि दुर्लभ बन्दै गएका छन् । तरकारी अभाव हुने समयमा घरमै उपलब्ध सामग्री प्रयोग गरी बनाइने यस्ता परिकारले केवल स्वादमात्र होइन, स्वास्थ्य र आत्मनिर्भरताको सन्देश पनि बोकेको हुन्थे ।
अहिलेको व्यस्तता, विशेषगरी मोबाइल र प्रविधिमा बढ्दो निर्भरताका कारण मानिसहरूले यस्ता परिकार बनाउन समय छुट्ट्याउन छाडेका छन् । परिणामस्वरूप परम्परागत सिप र स्वाद पुस्तान्तरण हुन नसक्दा यी परिकार लोप हुने अवस्थामा पुगेका छन् । बजारमा यस्ता परिकार पाइने भए पनि मेसिनबाट बनाइएका ती उत्पादनहरूमा घरेलु स्वाद र मौलिकता भने हुँदैन ।

दुर्लभ बन्दै गइरहेको मिथिलाका परिकारमध्ये अदौरी एक महत्त्वपूर्ण परिकार हो, जसले वर्षा यामका लागि संरक्षित सब्जीको रूपमा मात्र होइन, सामाजिक र सांस्कृतिक महत्त्व पनि बोकेको छ । यो परिकार मुख्यतः उरिद (मास)को दालबाट तयार गरिन्छ । उरिदको दाल पिसेर बेसन बनाइन्छ र त्यसको पेस्ट सानो–सानो गोलो आकारमा बनाइ घाममा सुकाएर अदौरी तयार गरिन्छ । यसरी सुकाएर राखिएको अदौरी आवश्यकता अनुसार भान्टा वा लौकासँग मिसाएर पकाइन्छ, जसले विशेष स्वाद प्रदान गर्छ ।
मिथिलामा अदौरी बाहेक पनि उरिदको प्रयोगबाट विभिन्न परिकार बनाउने चलन छ । मूला र कुभिन्डोमा उरिदको बेसन मिसाएर मुरौरी र कुम्रौरी बनाइन्छ भने बथुवा (बेथे)को सागमा उरिदको पिठो मिसाएर बिरिया अडेकोच तयार गरिन्छ । उरिदको पिठोको लेसिलोपनाले सागपातलाई राम्रोसँग गुँथ्न मद्दत गर्छ, जसले परिकारलाई विशेष स्वाद र बनावट दिन्छ ।बिरिया पनि मिथिलाको एक अनौठो र मौलिक परिकार हो । बथुवा सागका पातहरू हल्का सुकाएर उरिदको पिठोमा लेप गरी राखिन्छ र आवश्यक पर्दा मसालेदार आलुको रसमा पकाएर सेवन गरिन्छ ।
अन्न, तरकारी र फलफूल सुकाएर दीर्घकालसम्म सुरक्षित राख्ने परम्परा विश्वका धेरै ठाउँमा पाइन्छ, तर मिथिलामा यसले विशेष सांस्कृतिक पहिचान बनाएको छ । वर्षायाममा तरकारीको अभाव हुँदा यिनै सुकाइएका परिकारहरूले दैनिक जीवन सहज बनाउने काम गर्थे । बदलिँदो समय, आधुनिक जीवनशैली र परम्परागत सिपको कमीका कारण यस्ता मौलिक परिकारहरू बिस्तारै लोप हुँदै गएका छन् ।
_P7f261f3k8.jpg)
मैथिली अभियानी पुनम झा मैथिलीका अनुसार पहिले घरपरिवारमा आमाहरूले अदौरी लगायतका परिकार बनाउने परम्परा थियो । प्रत्येक आमाले आफ्ना छोरी–बुहारीलाई अदौरी बनाउने सिप सिकाउँदै लैजाँदा यो परम्परा पुस्तान्तरण हुँदै गएको तर अचेल भने बिस्तारै यी परिकार लोप हुन थालेको उनको भनाइ छ ।
डा. झाका अनुसार अहिले पनि सरकारले यस्ता परिकारलाई बजारीकरण गर्न सके महिलाहरू आर्थिक रूपमा सशक्त बन्नुका साथै समाजमा सम्मानजनक स्थान हासिल गर्न सक्छन् । मैथिली भाषी जिल्लाहरूमा बथुवाको साग र त्यसबाट बनाइने बिरिया अत्यन्तै रुचाइने परिकार रहेको उनको भनाइ छ ।
सुकाएर दीर्घकालसम्म प्रयोग गर्न सकिने भएकाले यो परिकार पनि परम्परागत संरक्षण विधिको उत्कृष्ट उदाहरण हो ।
वरिष्ठ पत्रकार अवधेश कामतका अनुसार मैथिली समुदायमा सागबिना कुनै पनि भोजन अधुरो मानिन्छ । यहाँका परिकारहरू सागमा अत्यधिक निर्भर छन् । बथुवा, रातो साग, पटुवा साग, गेन्हारी साग, कर्मी साग, सरसों सागका साथै अरिकञ्चन, कदिमा (फर्सी)का पात वा फूलबाट बनाइने तरुवाजस्ता परिकारहरूले पनि मिथिलाको खानपान संस्कृतिलाई झल्काउँछन् ।
_iYRrKyEjdU.jpg)
आधुनिकताको चपेटामा पर्दै लोपोन्मुख अवस्थामा पुगेका मिथिलाका यस्ता मौलिक परिकारहरूको संरक्षणका लागि पछिल्लो समय केही सकारात्मक पहल सुरु भएका छन् । तिनै प्रयासमध्ये ‘मिथिला थाली’ को अवधारणा उल्लेखनीय रूपमा अगाडि आएको छ ।
अमेरिकामा ख्याति कमाएका नेपाली सेफ सन्तोष साहले अहिले नेपालका प्रमुख सहरहरूमा थकाली थालीकै शैलीमा ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका छन् । उनले यस थालीमार्फत लोप हुन लागेका परम्परागत मिथिला परिकारहरूलाई पुनः प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
मिथिला थालीमा अदौरी, बिरिया, तिलौरी, कुम्रौरी जस्ता घरघरमा बनाइने तर अहिले हराउँदै गएका परिकारहरू समावेश गरिएका छन् । घरमा बनाउने चलन घट्दै गएका यी परिकारहरू पुनः स्वाद लिन चाहने मानिसहरू मिथिला थालीतर्फ आकर्षित हुन थालेका छन् । यसले केवल व्यावसायिक सफलतामात्र होइन, परम्परागत खानाको संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ ।
साहले यस्ता परिकारहरू घरमै बनाउन पनि आग्रह गरेका छन् । स्थानीय महिलाहरूले घरमै बनाएर उपलब्ध गराएका परिकारहरू आफूले खरिद गर्ने प्रतिबद्धता जनाएपछि यसले ग्रामीण महिलाहरूका लागि आयआर्जनको नयाँ सम्भावना पनि सिर्जना गरेको छ । यस कदमले लोपोन्मुख अवस्थामा रहेका मिथिला परिकारहरू पुनः जीवित हुने आशा जगाएको छ । यसरी परम्परागत ज्ञान, स्वाद र संस्कृतिलाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको सन्देश पनि यस पहलले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण