बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जङ्गल छेउका नागरिकलाई सरकार नभएको अनुभूति भइरहेको छ : इन्दिरा रानामगर

बुधबार, ३० वैशाख २०८३, १२ : ०१
बुधबार, ३० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले झापा लगायत तराईका जिल्लामा बढ्दो हात्ती आतङ्क नियन्त्रणका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेकी छन्।
  • सांसद रानाले जङ्गल छेउका नागरिकले सरकार नभएको अनुभूति गरिरहेको र वनपालेको अभाव तथा सुरक्षा उपकरण नहुँदा जोखिममा परेको बताइन्।
  • उनले घाइते पराजुलीको उपचार र जङ्गल छेउका बासिन्दाको सुरक्षाका लागि लाइट र माइक जस्ता सामग्रीको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायत तराईका विभिन्न जिल्लामा बढ्दै गएको हात्ती आतंक नियन्त्रणका लागि सरकारसँग तत्काल कदम चाल्न माग गरेकी छन्। 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रानाले जङ्गल छेउमा बस्ने नागरिकहरूले सरकार नै नभएको अनुभूति गरिरहेको बताएकी हुन्।

सांसद रानाले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ का दिनेश पराजुली जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भई अस्पताल भर्ना भएको जानकारी सदनलाई गराइन्। उनले झापा मात्र नभई तराईका विभिन्न भेगका मानिसहरू हात्तीको आक्रमणका कारण आतंकित भइरहेको उल्लेख गर्दै मानव र वन्यजन्तुको सहअस्तित्वका लागि उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

जङ्गल छेउका बस्तीहरूमा वनपालेको अभाव र आवश्यक सुरक्षा उपकरण नहुँदा नागरिकहरू थप जोखिममा परेको उनको तर्क छ। सदनमा बोल्दै उनले भनिन्, ‘झापा अर्जुनधारा वडा नम्बर २ मा दिनेश पराजुली जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भई अस्पतालमा भर्ना भएको म जानकारी गराउन चाहन्छु। झापा मात्रै होइन, तराईका विभिन्न भेगहरूमा हात्ती आक्रमणका कारण मानिसहरू आतंकित भइराखेका छन्। यसलाई तत्कालीन सरकारले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्न म ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै गरेर लाइट, माइक जस्ता सामग्रीहरूको व्यवस्था नभएको र पालेहरू पनि थोरै भएकाले जङ्गलको छेउमा बस्ने जनतालाई सरकार नै नभएको अनुभूति भइराखेको छ।’

सांसद रानाले घाइते पराजुलीको उपचारको उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराउँदै जङ्गल छेउका बासिन्दाको सुरक्षाका लागि लाइट र माइक जस्ता आधारभूत सामग्रीको तत्काल प्रबन्ध गर्न माग गरेकी छन्। 

जङ्गली जनावरको आक्रमणबाट हुने जनधनको क्षति रोक्न सरकारले वन क्षेत्रमा जनशक्ति र प्रविधिको उचित परिचालन गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप