मधेसमा गठबन्धन जोगाउने दाउमा जसपा नेपाल, जनमत पार्टी ‘यता न उता’को अवस्थामा
सारांश
- जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
- जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने भएका छन् ।
- जनमत पार्टीले जसपा नेपालमाथि आफूलाई धोका दिएको आरोप लगाएको छ ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । जसपा नेपाल मधेस प्रदेश सभा, संसदीय दलको बैठकले मधेस प्रदेशको सत्ता गठबन्धनलाई निरन्तरता दिने धारणा बनाएको हो ।
जसपा नेपालका एक नेताका अनुसार अहिले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बेला भएकाले गठबन्धन भत्काएर नयाँ सरकार बनाउनुभन्दा पनि वर्तमान गठबन्धनलाई नै निरन्तरता दिएर अगाडि बढ्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।
यो गठबन्धनमा कसको नेतृत्वमा सरकार बनाउने या अहिलेको मुख्यमन्त्रीलाई नै निरन्तरता दिने भन्नेबारे गठबन्धन दलहरूको बिचमा कुराकानी चलिरहेको र भोलिसम्ममा कुनै निष्कर्ष आउन सक्ने उनको भनाइ छ ।
अहिले कांग्रेसका मधेस प्रदेश सभापति एवं प्रदेश सभा सदस्य कृष्ण यादवको नेतृत्वमा मधेस प्रदेश सरकार छ । सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने भएका छन् । हालसम्मको अवस्था हेर्दा जसपा नेपाल पनि वर्तमान गठबन्धनको साथमा रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन कठिन हुने छैन । यद्यपि जसपा नेपालको औपचारिक निर्णय बाहिर आइसकेको छैन ।
जसपा नेपालले पार्टीको एकता प्रक्रिया टुङ्गो लागेपछि मधेस प्रदेश सरकारबारे कुनै निर्णय गर्ने भनेको थियो । निर्वाचन आयोगबाट एकता प्रक्रिया टुङ्गो लागिसकेको छ । मधेस प्रदेशको सचिवालयलाई आयोगले त्यसबारे जानकारी पनि पठाइसकेको छ ।
यो एकता प्रकृया टुङ्गो लागेसँगै मधेस प्रदेशमा जसपा नेपाल सबैभन्दा ठुलो दल बनेको छ । ठुलो दल बनेको हैसियतमा जसपा नेपालले सरकारको नेतृत्वमा दाबी गर्न सक्ने बताइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिने तयारी गरिरहेको बेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर पुगेका छन् । बुधबार जसपा नेपालका संरक्षक महन्थ ठाकुर पनि जनकपुर पुग्ने कार्यक्रम रहेको बुझिएको छ ।
उनीहरूले गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर सहमतिको प्रयास गर्ने नेताहरूको भनाइ छ । जसपा नेपालका नेता डा.सुरेन्द्र झाले भने, ‘मधेस सरकारको बारेमा पार्टीमा आन्तरिक छलफल चलिरहेको छ । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिइसकेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो । विश्वासको मत लिने प्रक्रियामा मुख्यमन्त्री गइसक्नु भएको छ । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिइसकेको अवस्थामा के गर्ने भन्ने विषयमा हामीले आन्तरिक रूपमा छलफल गरिरहेका छौँ ।’
यता, जनमत पार्टीका नेताहरूले जसपा नेपालमाथि आफूलाई धोका दिएको आरोप लगाएका छन् । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसके पनि सो पार्टीका दुई जना मन्त्री अझै सरकारमै छन् ।
जसपा नेपालले पनि सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ र सरकार ढल्छ भन्ने ठानेर जनमत पार्टीले हतार हतारमा सरकारबाट समर्थन फिर्ता लिए पनि जसपा नेपालले समर्थन फिर्ता लिएको छैन ।
जनमत पार्टीका एक पदाधिकारीले भने, ‘जसपा नेपालसँगको सल्लाहमै सरकारबाट समर्थन फिर्ता लिएका थियौँ, तर त्यो पार्टी अझै सरकारबाट फिर्ता हुने कि नहुने भन्नेमा अनिर्णित अवस्थामा छ । यो त हाम्रो लागि धोका भयो । जसपा नेपालले नै तपाईंहरू अगाडि बढ्नुस्, पछि हामी पनि फिर्ता लिन्छौँ भनेको थियो ।’
तर जसपा नेपाल वर्तमान गठबन्धनलाई निरन्तरता दिने लाइनमा गएको छ । अहिले जनमत पार्टी ‘यता न उताको’ भएको छ ।
वर्तमान गठबन्धनलाई निरन्तरता दिनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष प्रचण्डबिच कुराकानी भएको स्रोतले दाबी गरेको छ । उनीहरूको बिचमा भएको छलफलबाट नै परिस्थिति फेरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण