मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
भूमिहीन समस्या

सुकुमबासीलाई समस्या देख्ने कि अवसर ?

बिहीबार, ३१ वैशाख २०८३, ११ : ३०
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • नेपालको भूमिहीन तथा सुकुमबासी समस्यालाई दशकौंदेखि राजनीतिक नाराबाजी र टालटुले समाधानले झन् जटिल बनाएको छ, तर यसलाई राष्ट्रिय पुनर्निर्माणको अवसरका रूपमा हेरिनुपर्छ।
  • राष्ट्रिय भूमि आयोगका अनुसार ११ लाखभन्दा बढी परिवार भूमि तथा व्यवस्थित बसोबास समस्यासँग जोडिएका छन्, जसमध्ये करिब दुई देखि तीन लाख परिवारलाई तत्काल पुनर्स्थापना आवश्यक पर्ने देखिन्छ।
  • भूमिहीनतालाई अवसरमा बदल्दै एकीकृत बस्ती तथा उत्पादन मोडेलमार्फत करिब तीन लाख भूमिहीन परिवारलाई पुनर्स्थापन गर्दा सामाजिक तनाव अन्त्य भई नेपालको आर्थिक तथा सामाजिक संरचनामा ऐतिहासिक परिवर्तन ल्याउन सकिन्छ।

महान् वैज्ञानिक अल्वर्ट आन्सटाईनका अनुसार, ‘एउटा सोचको तहबाट सिर्जना भएको समस्या, त्यही तहको सोचबाट समाधान हुन सक्दैन । समस्या समाधान गर्न खोजिएको हो भने सोचको तह बदल्नै पर्छ ।’ नेपालको भूमिहीन तथा सुकुमबासी समस्या पनि ठिक त्यही अवस्थामा छ । 

दशकौँदेखि यो विषयलाई राजनीतिक नाराबाजी, अस्थायी आयोग, टालटुले वितरण र चुनावी आश्वासनको माध्यमबाट हेरियो तर समस्या समाधान हुनुको सट्टा झन् जटिल बन्दै गयो । कारण स्पष्ट छ, समस्यालाई समस्या जस्तै गरेर मात्र हेरियो, अवसरका रूपमा हेरिएन । जबसम्म राज्यले भूमिहीन अवस्थालाई गरिबी, अव्यवस्था र राजनीतिक बोझका रूपमा मात्र हेर्छ, तबसम्म यो समस्या समाधान हुँदैन । 

तर जुन दिन राज्यले यही जनशक्तिलाई उत्पादनशील शक्ति, श्रमशक्ति र नयाँ आर्थिक आधारका रूपमा हेर्न सुरु गर्छ, त्यही दिनबाट नेपालमा सामाजिक तथा आर्थिक रूपान्तरणको नयाँ अध्याय सुरु हुनेछ । विगतमा गरिब, किसान र सुकुमबासीको नाममा राजनीति गर्ने धेरै शक्तिहरू सत्तामा पुगे । तर उनीहरूले यो समस्यालाई राष्ट्रिय पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्न सकेनन् । 

त्यसैले बालेन नेतृत्वको सरकारसँग इतिहास बदल्ने दुर्लभ अवसर छ । अब सरकार समक्ष मूल प्रश्न के हो भने के नेपाल फेरि पुरानै शैलीमा समस्या धकेलिरहने देश बन्नेछ वा यही अवसरलाई उपयोग गरेर नयाँ इतिहास निर्माण गर्नेछ ? के वर्तमान सरकारसँग लाखौँ नागरिकको जीवन बदल्दै नेपाललाई आधुनिक, व्यवस्थित र उत्पादनमुखी राष्ट्रमा रूपान्तरण गर्ने साहस छ ? इतिहासले सधैँ अवसर दिन्न, तर जब दिन्छ, त्यसलाई समात्ने राष्ट्रहरू नै अगाडि बढ्छन् ।

पछिल्लो समय राष्ट्रिय भूमि आयोगद्वारा सङ्कलित विवरणअनुसार नेपालमा करिब ८८ हजार भूमिहीन दलित, १ लाख ६७ हजार भूमिहीन सुकुमबासी र ८ लाख ६७ हजार अव्यवस्थित बसोबासी परिवार रहेका छन् । अर्थात् ११ लाखभन्दा बढी परिवार कुनै न कुनै रूपमा भूमि तथा व्यवस्थित बसोबास समस्यासँग जोडिएका छन् । यद्यपि, व्यावहारिक रूपमा तत्काल पुनर्स्थापना आवश्यक पर्ने परिवारको सङ्ख्या करिब दुई देखि तीन लाखबिचमा हुन सक्ने देखिन्छ । 

यी परिवारलाई योजनाबद्ध रूपमा आर्थिक केन्द्र नजिक पुनर्स्थापन गरियो भने नेपालले पाँच वर्षभित्रै अव्यवस्थित बस्ती, वन अतिक्रमण, जोखिमयुक्त बसोबास, बेरोजगारी र अव्यवस्थित सहरीकरणजस्ता समस्यालाई उल्लेखनीय रूपमा घटाउन सक्छ । वास्तवमा भूमिहीनता भनेको केवल घर नहुनु मात्र होइन । यो बेरोजगारी, कमजोर उत्पादन प्रणाली, सामाजिक असुरक्षा, नदीकिनार अतिक्रमण, वन विनाश र दीर्घकालीन राष्ट्रिय योजना अभावसँग जोडिएको राष्ट्रिय चुनौती हो । 

यो समस्याका कारण हजारौँ परिवार आफ्नै देशमा शरणार्थी जस्तो जीवन बिताउन बाध्य छन् । उनीहरूसँग नागरिकता छ, मताधिकार छ, तर सम्मानजनक जीवनको आधार छैन । तर फरक तरिकाले सोच्ने हो भने यही समुदाय नेपालकै सबैभन्दा ठुलो सम्भावना पनि हो । राज्यले उनीहरूलाई ‘समस्या’ नभई ‘राष्ट्र निर्माणको साझेदार’ का रूपमा हेर्ने हो भने यही जनशक्तिले नेपालको सामाजिक र आर्थिक संरचना बदल्न सक्छ । 

संसारका धेरै राष्ट्रहरूले कमजोर समुदायलाई बोझका रूपमा नभई विकासको ऊर्जा बनाएर प्रगति गरेका छन् । अब नेपालले पनि त्यही बाटो समाउनु पर्ने समय आएको छ । 

नेपालमा करिब तीन लाख भूमिहीन परिवार रहेको अनुमान गरिन्छ । यदि प्रत्येक परिवारलाई न्यूनतम आठ आना जमिन, सुरक्षित आवास, करेसाबारी, शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएको ‘एकीकृत बस्ती तथा उत्पादन मोडेल’ अन्तर्गत पुनर्स्थापन गरियो भने नेपालले दशकौँ पुरानो सामाजिक तनाव अन्त्य गर्न सक्छ । 

तीन लाख परिवारका लागि करिब सात हजार पाँच सय हेक्टर जमिन पर्याप्त हुन सक्छ, जुन राष्ट्रिय स्तरमा असम्भव क्षेत्रफल होइन । वास्तवमा यो जमिनको समस्या भन्दा पनि व्यवस्थापन, इच्छाशक्ति र प्रस्ट दृष्टिकोणको प्रश्न हो । अहिले देशभरि अव्यवस्थित रूपमा प्रयोग भइरहेका धेरै जमिन वैज्ञानिक व्यवस्थापन मार्फत पुनः राज्यको नियन्त्रणमा आउन सक्छन् । 

त्यसकारण जमिनका बारेमा देशले चिन्ता लिनु पर्दैन । यसरी व्यवस्थापन गर्न सक्दा एकातर्फ खोलाकिनार, जङ्गल क्षेत्र र जोखिमयुक्त बस्तीहरू व्यवस्थित हुनेछन भने अर्कोतर्फ उद्योग, निर्माण, कृषि र सेवा क्षेत्रमा आवश्यक श्रमशक्ति आर्थिक केन्द्र नजिक केन्द्रित हुन्छ । यही सोचका आधारमा सरकारले दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, भरतपुर, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी लगायत आर्थिक केन्द्र नजिक योजनाबद्ध आधुनिक बस्ती विकास गर्न सक्छ । 

यसले यी बस्तीहरूलाई आधुनिक नेपालको आर्थिक उत्पादन केन्द्रका रूपमा रुपान्तरण गर्न सक्छ । यस्ता एकीकृत बस्तीहरूले ठुला सहरलाई आवश्यक जनशक्ति, उत्पादन र सेवा आपूर्ति गर्नेछन् र देशलाई योजनाबद्ध सहरीकरणतर्फ लैजानेछन् । राज्यसँग स्पष्ट दृष्टि, दृढ राजनीतिक इच्छाशक्ति र परिणाममुखी कार्यसंस्कृति हुने हो भने यो योजना दशकौँ लाग्ने परियोजना होइन । 

उच्चस्तरीय राष्ट्रिय प्रतिबद्धतासहित काम गर्ने हो भने आगामी दुई वर्षभित्रै आधारभूत रूपान्तरण सुरु गर्न सकिन्छ । पहिलो तीन महिनाभित्र भूमिहीन परिवारहरूको डिजिटल पहिचान, वास्तविक लाभग्राही प्रमाणीकरण, वैज्ञानिक भू–उपयोग योजना र उपयुक्त जमिन छनोट गर्न सकिन्छ । त्यसपछि नौ महिनाभित्र सडक, पानी, बिजुली, ढल, इन्टरनेट र आधारभूत पूर्वाधार निर्माणसँगै स्थानीय सामग्रीमा आधारित आवास निर्माण गरेर वर्षदिन भित्र घर हस्तान्तरण गर्न सकिन्छ । 

यसका लागि पुरानो प्रशासनिक शैलीलाई विद्युतीय गतिको राष्ट्रिय कार्यसंस्कृतिले विस्थापन गर्न सक्नु पर्छ । नेपालले भूकम्पपछिको पुनर्निर्माण गर्न सक्छ भने आफ्नै नागरिकलाई सम्मानजनक जीवन दिन अझ ठुलो सङ्कल्प गर्न किन सक्दैन ? प्रश्न स्रोतको होइन, सोच र इच्छाशक्तिको हो ।

आर्थिक रूपमा पनि यो योजना पूर्णतया व्यवहारिक छ । एउटा सुरक्षित र वातावरणमैत्री घरको औसत लागत पाँच लाख रुपैयाँ मान्ने हो भने तीन लाख घर निर्माणका लागि करिब एक खर्ब ५० अर्ब रुपैयाँ आवश्यक पर्छ । पहिलो दृष्टिमा यो रकम ठुलो देखिए पनि राष्ट्रिय अर्थतन्त्रको दृष्टिले यो असम्भव लगानी होइन । नेपालले हरेक वर्ष अरबौँ रुपैयाँ अनुत्पादक क्षेत्रमा खर्च गरिरहेको छ । यदि त्यही स्रोतलाई दीर्घकालीन सामाजिक तथा आर्थिक रूपान्तरणमा केन्द्रित गरियो भने यसको प्रतिफल धेरै गुणा ठुलो हुनेछ । 

अझ सबै घर महँगा कङ्क्रिट संरचनामा बनाउनुपर्छ भन्ने सोच पनि वैज्ञानिक होइन । नेपालको भूगोलअनुसार तराईमा बाँस, कम्प्रेस्ड ब्लक र स्थानीय इँटा, पहाडमा ढुंगा, माटो, स्लेट र स्थानीय काठ प्रयोग गरेर कम लागतमा टिकाउ घर निर्माण गर्न सकिन्छ । सामुदायिक श्रमदान, स्थानीय मिस्त्री र प्राविधिक परिचालनले लागत घटाउनुका साथै समुदायमा स्वामित्व भावना पनि बढाउँछ । त्यसैले यो अभियान सरकार एक्लैले गर्ने कार्यक्रम नभई यो सम्पूर्ण राष्ट्रले मिलेर सञ्चालन गर्ने राष्ट्रिय पुनर्निर्माण अभियान बन्नुपर्छ ।

नेपालले भूकम्प, बाढी वा विपद्को बेला राष्ट्रिय एकता देखाउन सक्छ भने आफ्नै नागरिकलाई सम्मानजनक जीवन दिनका लागि किन सक्दैन ? वास्तवमा यो खर्च नै होइन । यो त नेपालको भविष्यमा गरिने सबैभन्दा महत्त्वपूर्ण सामाजिक आर्थिक लगानी हो । सरकारले राष्ट्रिय भूमिहीन आवास तथा पुनर्स्थापन कोष स्थापना गरेर प्रारम्भिक बजेट सुनिश्चित गर्न सक्छ । विपद् कोषमा आर्थिक सङ्कलन गरेजस्तै सरकारले यो अभियानका लागि पनि राष्ट्रिय सहयोग जुटाउन सक्छ । 

निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत जोड्न सकिन्छ, बैंक तथा वित्तीय संस्थालाई सहुलियत लगानीमा सहभागी गराउन सकिन्छ । अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गर्न सकिन्छ र प्रवासी नेपालीलाई राष्ट्र निर्माणको अभियानमा योगदान गर्न प्रेरित गर्न सकिन्छ । स्थानीय तहलाई भूमि व्यवस्थापन र पूर्वाधार विकासको जिम्मेवारी दिन सकिन्छ । त्यसैले यहाँ मुख्य कुरा अर्थतन्त्रको होइन, यो त राष्ट्रिय इच्छाशक्ति, दूरदृष्टि र नेतृत्व क्षमताको हो ।

यो योजना इमान्दारीपूर्वक कार्यान्वयन गरियो भने आगामी पाँच वर्षभित्र नेपालमा ऐतिहासिक परिवर्तन सम्भव हुनेछ । खोलाकिनार र जङ्गल अतिक्रमण घट्नेछ, लाखौँ रोजगारी सिर्जना हुनेछन्, वैदेशिक पलायन कम हुनेछ, योजनाबद्ध सहरीकरण सम्भव हुनेछ र सामाजिक असुरक्षा घट्नेछ । स्थानीय उत्पादन प्रणाली बलियो हुँदा आयात निर्भरता क्रमशः कम हुँदै जानेछ । 

सबैभन्दा महत्त्वपूर्ण कुरा, भूमिहीन समुदायलाई सहायताको आस गर्ने समूहबाट राष्ट्र निर्माणको साझेदारमा रूपान्तरण गर्न सकिनेछ । यही परिवर्तनले नेपालको आर्थिक संरचना, सामाजिक स्थिरता र राष्ट्रिय आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याउन सक्नेछ । नेपालले धेरै वर्ष समस्याको चर्चा गर्‍यो; अब समाधानको इतिहास लेख्ने समय आएको छ ।

भूमिहीनता कुनै एउटा राजनीतिक दलको मुद्दा हुँदै होइन; यो सम्पूर्ण नेपाली राज्यको साझा नैतिक र ऐतिहासिक जिम्मेवारी हो । त्यसैले यो कार्यक्रम सरकार फेरिएसँगै रोकिने परियोजना हुनु हुँदैन । यो त संसद्बाट राष्ट्रिय सङ्कल्पका रूपमा पारित हुने दीर्घकालीन राष्ट्रिय अभियान बन्नु पर्छ । पारदर्शी वितरण प्रणाली, डिजिटल भूमि अभिलेख, भूमाफिया नियन्त्रण र सबै दलको साझा प्रतिबद्धता बिना यो सम्भव हुँदैन । 

यदि कुनै सरकारले यो अभियान सफलतापूर्वक कार्यान्वयन गर्‍यो भने त्यो केवल राजनीतिक उपलब्धि मात्र हुनेछैन; त्यो त नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठुलो सामाजिक–आर्थिक रूपान्तरणमध्ये एक हुनेछ । नेपाललाई केवल सडक, भवन र भाषणले मात्र विकसित बनाउन सकिँदैन । वास्तविक विकास तब सम्भव हुन्छ, जब प्रत्येक नागरिकले सुरक्षित आवास, सम्मानजनक जीवन र उत्पादनशील अवसर प्राप्त गर्नेछन् । 

भूमिहीनलाई घर दिनु राज्यको दायित्व हो । रोजगारीसहितको एकीकृत बस्ती निर्माण गर्नु खर्च नभई राष्ट्र निर्माणको आधार हो । अब नेपालसामु एउटै प्रश्न छ, यो सरकार पनि विगतका सरकार जस्तै समस्यालाई बोकेर हिँड्ने सरकार बन्ने वा समस्यालाई अवसरमा बदल्दै सरकार बन्नेछ ? रोजाई बालेन सरकारकै । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. आरसी लामिछाने
डा. आरसी लामिछाने
लेखकबाट थप