आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मोबाइल व्यवसायीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छ : नेता आङदेम्बे

शनिबार, ०२ जेठ २०८३, १३ : ४३
शनिबार, ०२ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले मोबाइल व्यवसायमा संलग्न उद्यमीहरूको सुरक्षा र भविष्यप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
  • उनले पछिल्लो तथ्याङ्क प्रस्तुत गर्दै अघिल्लो वर्षको तुलनामा चालु समयमा झन्डै ८ अर्ब रुपैयाँ बराबरको अतिरिक्त आयात हुनु र ९० हजारभन्दा बढी थान मोबाइल भित्रिनुले यसको बढ्दो मागलाई स्पष्ट पारेको बताए ।
  • नेता आङदेम्बेले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी अड्चनहरू फुकाउनका लागि आफूले संसदमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मोबाइल व्यवसायमा संलग्न उद्यमीहरूको सुरक्षा र भविष्यप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । 

पछिल्लो समय मोबाइल आयातको परिमाण बढे पनि व्यवसायीहरूमा उत्साह नदेखिनु र पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको उनले बताउनुभएको हो । नेता आङदेम्बेले मोबाइल फोनको आवश्यकता र अपरिहार्यता समाजका हरेक वर्गमा बढ्दै गएको उल्लेख गरे ।

उनले पछिल्लो तथ्याङ्क प्रस्तुत गर्दै अघिल्लो वर्षको तुलनामा चालु समयमा झन्डै ८ अर्ब रुपैयाँ बराबरको अतिरिक्त आयात हुनु र ९० हजारभन्दा बढी थान मोबाइल भित्रिनुले यसको बढ्दो मागलाई स्पष्ट पारेको बताए । किसान, मजदुरदेखि हरेक वर्गका लागि मोबाइल प्रविधि आजको युगको सबैभन्दा भरपर्दो र आवश्यक माध्यम बनेको उनको भनाइ छ । 

उनले भने, ‘मोबाइल जस्तो अत्यावश्यक र फ्रिक्वेन्टली आयात हुने व्यवसायमा संलग्न साथीहरूले आफ्नो र व्यवसायको भविष्य सुरक्षित देख्नुहुन्न भने त्यहाँ पक्कै केही गम्भीर समस्या छ । व्यवसायीहरूमा उत्साह छैन भने यो क्षेत्रले कसरी आगामी पुस्तालाई सेवा दिइरहन सक्छ ? यो आजको मुख्य प्रश्न हो । अहिलेको सरकार प्रविधि र भावनाको जगमा उभिएर दुई तिहाइको समर्थनमा पुगेको छ । त्यसैले यो सरकारको मुख्य कार्यसूचीमा प्रविधि र यससँग जोडिएका व्यवसायीका समस्याहरू पर्नुपर्छ।’

उनले थप भने, ‘राज्य अभिभावक भएकाले यस क्षेत्रको निकास खोज्नु सरकारको प्राथमिक दायित्व हो । प्रतिपक्षी दलको नेता र एक जिम्मेवार राजनीतिक दलको हिसाबले म भन्न चाहन्छु । यदि कानुनी रूपमा कतै अप्ठ्यारो छ र राज्यले त्यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ भने सङ्घीय संसदभित्र म र मेरो दल तपाईँहरूको साथमा रहनेछ ।’

नेता आङदेम्बेले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी अड्चनहरू फुकाउनका लागि आफूले संसदमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे । व्यवसायीहरूले भोगिरहेका समस्यालाई नजिकबाट नियालेर समाधानको मार्ग प्रशस्त गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । –न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप