आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
सांसदसँग

'पछि परेका वर्ग र समुदायहरूका लागि आवाज बनिराख्छु'

आइतबार, ०३ जेठ २०८३

  काठमाडौँ । किशोरावस्थामै राजनीतिक आन्दोलनमा सक्रिय बनेकी रोल्पाकी भीमकुमारी बुढा मगरले संघर्षका धेरै घुम्तीहरू पार गरिसकिन् । ग्रामीण वर्गसंघर्षले राजनीतिमा होमिएकी उनी २०४७ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय बनिन् ।

२०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा मशाल एकता केन्द्र हुँदै नेकपा माओवादी बन्यो । चुनाव बहिष्कार गर्ने नीति लिएको माओवादी जनयुद्धमा जाने तयारीमा थियो । रोल्पाका विभिन्न स्थानहरूमा झडप र द्वन्द्वको स्थिति आयो । रोल्पाको कोर्चाबाङका विभिन्न झडपहरूमा निडर भएर बुढाले सामना गरिन् ।

घरका भित्ताहरूमा पार्टीको निर्देशन बमोजिम ‘चुनाव बहिष्कार गरौँ’ जस्ता नारा कोर्न थालिन् । त्यसबेला उनले कांग्रेस कार्यकर्ताको कुटाइ खानु परेको थियो । चुनाव बहिष्कारकै क्रममा जिनाबाङमा उनलाई बुथ कब्जाको मुद्दा लाग्यो । उनी २०५१ सालदेखि नै भूमिगत भइन् । उनी माओवादी जनयुद्ध सुरु हुनुअघि नै भूमिगत भएकी योद्धा हुन् ।

उनै भीमकुमारी बुढा मगरले फागुनमा सम्पन्न भएको निवार्चनबाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट समानुपातिक सांसद बन्ने मौका पाइन् । लामो राजनीतिक संघर्ष, समर्पणपछि उनी संसद् पुगिन् । ‘पहिले युद्धमा पनि हिँड्नुभयो, अहिले संसदसम्म पुग्नुभएको छ । कस्तो महसुस गर्नुभएको छ ?’ उनलाई सोधियो ।

‘जनयुद्धको थालनी गर्ने महिला हो म पनि । देशको व्यवस्था चेन्ज गर्न, यो देशमा उत्पीडनमा परेका वर्ग, जाति, क्षेत्र, लिङ्गहरूको मुक्तिको लागि उनीहरूको हरेक कुरामा अधिकारको लागि अन्यायपूर्ण तरिकाले, शान्तिपूर्ण तरिकाले नभएपछि हामी युद्धमा गएका थियौँ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनपछि यो देशमा गणतन्त्र ल्यायौँ । संविधानमा ल्यायौँ । जनताको अवस्था परिवर्तन गर्न हामी निरन्तर लागिराख्यौँ,’ उनले भनिन् ।

संसदमा पहिलो पटक पुगेकी भीमकुमारी नयाँ कुरा सिक्दै छिन् । आफू जहिल्यै पनि उत्पीडित वर्गहरू, भुईँ मान्छेहरूको आवाज बन्ने मान्छे भन्न रुचाउँछिन् । ‘उनीहरूकै आवाज लिएर हामी जनयुद्धमा मुक्ति या मृत्यु भनेर नै लागेको हो,’ हालैको भेटमा उनले भनिन्, ‘हाम्रो जीवन त नाफाको जीवन हो । म हाम्रो वगको स्वास्थ्य, शिक्षा, रोजगार, गाँस, बास, कपास लगायतका सवालहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा लागिरहेको छु ।’ यो सरकारले कसरी योजना ल्याउँछ ? त्यसका लागि आफ्नो तर्फबाट दबाब दिइरहने उनले बताइन् । 

भीमकुमारीले फागुन १, २०५२ साल पहिलो रात नै बन्दुक बोकेर निस्केको स्मरण गरिन् । १० वर्ष निरन्तर युद्ध लडेको उनी १९ दिने दोस्रो जनआन्दोलनमा पनि सहभागी बनिन् । उनी निरन्तर पार्टीमा सक्रिय छिन् । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य ५० वर्षको उकालोमा छिन् । 

३० वर्ष पहिले महिलाहरूको अवस्था कठिन रहेको विगत उनले कोट्याइन् । ‘त्यो बेला महिलाहरूले पढ्नु हुँदैन भन्ने मान्यता थियो । छोरीहरूले अंश पाउँदैनथे । एकात्मक, वंशवादी निरङ्कुश राज्य व्यवस्थामा थियौँ हामी,’ उनी भन्छिन्, ‘महिलाहरू पूरै दासताको जञ्जीर बेरेर बसिराखेको अवस्था थियो । त्यसबाट मुक्ति खोज्यौँ हामीले ।’

उनका अनुसार आम महिलाहरूलाई कर्म र भाग्यले नै यही दिएको हो भन्ने लाग्थ्यो । तर भीमकुमारी जस्ता सचेत महिलाहरूले यो राज्यले गरेको विभेद हो भन्ने तर्क गर्थे । त्यो चेत आइसकेपछि राज्यलाई उनीहरूले घच्घच्याउन थाले । जनयुद्धमा हिँडे । महिलाहरूको अधिकारको निम्ति लडिराखे । कैयौँ पटक युद्धमा गोलीबाट बचे । अहिले नाफाको जिन्दगी बाचेको उनी बताउँछिन् ।

भीमकुमारी प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छिन् । आफूले रचनात्मक भूमिका खेल्ने उनी बताउँछिन् । जनताहरू उपचार नपाएर मर्नु पर्ने अवस्था छ । उत्पीडित समुदायहरूको बच्चाहरू पढ्न पाइराखेको छैन। महँगो शिक्षा छ । सरकारी स्कुलहरू एकदमै अव्यवस्थित त्यस्तो छ। यी सबै देखेकी छिन् उनले ।

 ‘शिक्षा निःशुल्क, सबैको पहुँच होस्,’ उनी भन्छिन्, ‘रोजगार यही देशमा सिर्जना होस् । आदिवासी समुदाय, दलित, मधेसी, मुस्लिम, पछि परेका वर्ग, समुदायहरूका लागि आवाजमा बनिराख्छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया