‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
सारांश
- गायिका सिर्जना खत्रीले आफ्नो 'हाउडे माया' गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् र 'लाहुरे माया' गीतले उनको करियरलाई बदलिदियो।
- उनले 'फूलमाया' नामक नयाँ डान्सिङ शैलीको आइटम गीत सार्वजनिक गरेकी छिन्, जसमा समसामयिक ट्रेन्ड अनुसार र्याप पनि समावेश गरिएको छ।
- खत्रीका अनुसार, सांगीतिक बजारमा भाइरल हुने होडबाजी भए पनि क्षणिक सफलताभन्दा दीर्घकालीन सिर्जनामा ध्यान दिनुपर्छ।
काठमाडौँ । ‘हाउडे’ गायन शैलीका कारण चर्चित छिन् गायिका सिर्जना खत्री । यससँगै दमदार स्टेज प्रस्तुति उनको पहिचान हो । सानैदेखि संगीतमा रुचि राख्ने उनी ‘हाउडे माया’ गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसैकारण उनी आफ्नो नामको पछाडि ‘हाउडे’ लेख्छिन् ।
तर उनलाई धेरैमाझ चिनाउने गीत भने ‘लाहुरे माया’ बन्यो । ‘एक्सको छम्मा’, ‘नौटङ्की माया’ लगायत अन्य थुप्रै गीत उनका चर्चित छन् । शब्द लेखन, सङ्गीत सिर्जना र गायन तीनै विधामा सक्रिय सिर्जना खत्रीसँग रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’मा सांगीतिक करिअर लगायत विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
भर्खर ‘फूलमाया’ गीत आएको छ, यो कस्तो गीत हो ?
यो एउटा डान्सिङ शैलीको आइटम गीत हो । पारिवारिक वा साथीभाइको जमघट र नाचगानको रमाइलो माहोल यसमा प्रस्तुत गरिएको छ । यो गीत मैले करिब आठ–दश वर्षअघि नै लेखेकी थिएँ ।

यस पटक केही परिमार्जन गरी लोक–पप धुनमा आयुष प्रतीकको र्यापसहित पूर्ण प्याकेज बनाएर ल्याइएको हो । मलाई आफ्नो सिर्जनामा समसामयिक ट्रेन्ड मिसाउन मनपर्छ । अहिले र्यापको ट्रेन्ड चलेकोले यो गीतमा मिसाएकी छु ।
तपाईंका अधिकांश गीतको बोलमा ‘माया’ शब्द जोडिएको छ, ‘फूलमाया’, ‘नौटङ्की माया’, ‘डबल माया’ । किन यस्तो ?
मेरो पहिलो साङ्गीतिक एल्बम ‘हाउडे माया’ थियो, जसलाई श्रोताहरूले निकै रुचाउनुभयो । त्यसपछि आएको ‘लाहुरे माया’ र ‘डबल माया’ले पनि राम्रो चर्चा पाए । ‘लाहुरे माया’ले मेरो करिअर नै बदलिदियो । ‘माया’ शब्द मेरो लागि व्यावसायिक रूपमा फापेको जस्तो लागेकाले यसलाई मैले एउटा ब्रान्ड वा शृङ्खलाका रूपमा निरन्तरता दिएकी हुँ ।
गीतमा शब्द, संगीत र स्वर आफैँ तयार पार्नुहुन्छ । अरूसँग सहकार्य गर्न कठिन भएर हो कि अन्य केही कारण छ ?
सुरूवाती दिनमा आफ्नो आवाजको प्रकृति र आफूलाई सुहाउने काम गर्न अरूबाट फुत्काउन केही कठिन हुने भएकाले आफैँले गरे । सानैदेखि गीत लेखनमा रुचि थियो । अन्योलका बिच आफैँले काम सुरु गरेपछि यो क्रम सहज बन्दै गयो । अहिले आफ्नै शब्द र सङ्गीतमा काम गर्दा बढी सहज महसुस हुन्छ ।
सांगीतिक बजारमा गुणस्तर भन्दा ‘भाइरल’ हुने होडबाजी छ नि ?
यो समयको माग र प्रविधिको प्रभाव हो । बजारको माग र दर्शकको चाहना अनुसार आफूलाई परिमार्जन गर्नु कलाकारको व्यावसायिक बाध्यता पनि हो । तर यसको अर्थ गुणस्तर नै खस्कनुपर्छ भन्ने होइन । बौद्धिक सिर्जना आज नचले पनि भोलि जुनसुकै समयमा चल्न सक्छ । त्यसैले क्षणिक भाइरल हुनुभन्दा दीर्घकालीन सिर्जनामा ध्यान दिनु आवश्यक छ ।

गीत र भिडियोमा लगानी ठुलो गर्दै आउनुभएको छ, लगानी उठ्छ त ?
अहिले डिजिटल प्लेटफर्महरू (युट्युब, स्पोटीफाइ, टिकटक आदि) बलिया माध्यम बनेका छन् । गीतकै कारण देश–विदेशमा हुने स्टेज शो र मेला-महोत्सवमा सहभागी हुन पाइन्छ ।
साङ्गीतिक क्षेत्रमा ठगिएका घटना दिन प्रतिदिन सुन्न पाइन्छ । यस्तो समस्या तपाईंले पनि झेल्नुपर्यो ?
सुरुवाती दिनमा म आफैँले पनि यस्ता समस्या भोगेकी छु । नयाँ कलाकार र नयाँ आयोजकबिच काम गर्दा लिखित सम्झौता नहुनुले यस्ता समस्या निम्त्याउँछ । बिचौलिया र गैरजिम्मेवार आयोजकका कारण कतिपय कलाकार मर्कामा पर्ने गरेका छन् । त्यसैले अचेल म लिखित सम्झौता र विश्वसनीय आयोजकसँग मात्र काम गर्छु ।

अहिलेसम्मको सांगीतिक करिअरमा कति सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट नै छु । कुनै टाइममा चाहिँ हुँदैनथ्यो । यो फिल्ड मेरो लागि होइन रहेछ, म सक्दिन भनेर हार पनि मानियो । कोभिडको बेलामा लकडाउन सकिने टाइममा त मैले लुगाको बिजनेस समेत गरे । गीत गाउन पनि लगभग छोडेकी थिएँ । तर पछि मेरो घरबाट नि किन नगरेको भनेर चासो भयो । राम्रै भइरहेको थियो भनेर आमाले अलि बढी नै चासो गर्नुभयो । अनि मैले फेरि कन्टिन्यु गरेँ ।
भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण