विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
सारांश
- विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले होन्डुरसलाई २-० गोलले पराजित गरेको छ।
- मांसपेशीको थकानका कारण लियोनेल मेस्सी खेलभर बेन्चमै सीमित रहे।
- गोलकर्ता लाउटारो मार्टिनेजले विश्वकपमा साख जोगाउन टोलीले आफ्नो सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गरे।
टेक्सस । फिफा विश्वकप सुरु हुन केही दिन मात्र बाँकी छँदा साबिक विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ। अमेरिकाको टेक्ससस्थित कलेज स्टेसनको कायल फिल्ड स्टेडियममा शनिबार भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई २–० गोल अन्तरले पराजित गरेको हो।
रंगशालामा उपस्थित विशाल समर्थकको भिडले खेल अवधिभर अर्जेन्टिनाको पक्षमा हुटिङ गरे पनि टोलीका मुख्य खेलाडी लियोनेल मेस्सी मैदानमा नउत्रिँदा उनीहरू केही निराश बनेका थिए। मांसपेसीको थकानका कारण आराम गरिरहेका मेस्सी खेलभर बेन्चमै सीमित भएका थिए।
प्रतिस्पर्धात्मक खेलको ३७ औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। होन्डुरसका डिफेन्डरले निकोलस टागलियाफिकोमाथि खराब फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो, जसलाई मार्टिनेजले सहजै गोलमा परिणत गरे।
दोस्रो हाफको सुरुवातमा एट्लेटिको म्याड्रिडका विङ्गर जिउलियानो सिमेओनीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। उक्त गोलका लागि मार्टिनेजले ब्याकहील मार्फत सुन्दर पास उपलब्ध गराएका थिए, जसलाई सिमेओनीले नजिकैबाट प्रहार गर्दै जाली चुमाए।
खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गोलकर्ता मार्टिनेजले कतार विश्वकपमा प्राप्त गरेको साख जोगाउनु आफूहरूको मुख्य जिम्मेवारी रहेको बताए। उनले यो पटकको यात्रा निकै कठिन हुने भए पनि अर्जेन्टिनालाई फेरि शीर्ष स्थानमा पुर्याउन टोलीले आफ्नो सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गरे।
दोस्रो गोल लगत्तै मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले टोलीमा धेरै परिवर्तन गरे पनि मेस्सीलाई भने मैदान प्रवेश गराएनन्। ३८ वर्षीय स्टार मेस्सी गत मे २५ मा इन्टर मियामीका लागि आफ्नो अन्तिम खेल खेल्ने क्रममा सामान्य घाइते भएका थिए र उनी अहिले पनि पूर्ण रूपमा निको हुने प्रक्रियामै छन्। प्रशिक्षक स्कालोनीले खेलाडीहरूको कार्यभार व्यवस्थापन गर्न र धेरैभन्दा धेरै खेलाडीलाई अवसर दिन केही मुख्य सदस्यलाई आराम दिइएको स्पष्ट पारे।
यो विश्वकप पछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने अपेक्षा गरिएका मेस्सीको नाममा विश्वकपमा सबैभन्दा धेरै २६ खेल खेलेको कीर्तिमान छ। यसका साथै जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको विश्वकीर्तिमान तोड्न मेस्सीलाई अब मात्र ४ गोलको आवश्यकता छ।
विश्वकपको समूह ‘जे’ मा रहेको अर्जेन्टिनाले जुन १६ मा अल्जेरिया विरुद्ध खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ। उक्त समूहमा अस्ट्रिया र जोर्डन पनि रहेका छन्। विश्वकपमा होमिनु अघि अर्जेन्टिनाले जुन ९ मा आइसल्यान्ड विरुद्ध आफ्नो अन्तिम मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण