सुकुमबासी बस्ती हटेको मनोहरा खोलामा के बन्दैछ ? यस्तो छ आयोजना प्रमुखको योजना
सारांश
- मनोहरा खोलाको अव्यवस्थित बस्ती हटाइएपछि खोलालाई पुरानै लयमा फर्काउने काम भइरहेको छ।
- मनोहरा जग्गा एकीकरण आयोजनाले २०२१ सालको नापी नक्साबमोजिम खोलाको बहाव फर्काउने योजनाअन्तर्गत हाल करिब ३०० मिटर खोला फर्काउने काम गरिरहेको छ।
- आयोजनाले खोलाको चौडाइ ३० मिटर, ग्रिनबेल्ट ९ मिटर र सडक ११ मिटरको संरचनासहित ढिलोमा दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।
डोजर चलेको सुकुमबासी बस्तीमा अब कस्तो संरचना बन्ला ? यो आम जिज्ञासाको विषय हुन सक्छ। मनोहरा खोला किनारमा बसेको अव्यवस्थित बसोबास हटाइसकेपछि अहिले यस क्षेत्रमा खोलालाई पुरानै लयमा फर्काउने काम भइरहेको छ।
मनोहरा जग्गा एकीकरण आयोजनाले यसको काम धमाधम गरिरहेको छ। यसको नेतृत्व गरिरहेका छन्, आयोजना प्रमुख निर्मलराज बराल। दिनहुँजसो स्थानीय तह, संघीय सरकार तथा काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग आवश्यक समन्वय गरेर उनले तीव्र गतिमा काम अघि बढाइरहेका छन्। आयोजना प्रमुख बरालसँग रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

- मनोहरा खोलालाई पुरानै ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको छ। यसको काम र व्यवस्थापन कसरी अगाडि बढ्दै छ ?
मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत डीपीआरअनुसार वि.सं. २०२१ सालको नापी नक्साबमोजिम मनोहरा नदी जसरी बगेको थियो, त्यसैगरी बगाउने हाम्रो योजना हो। यसअघि नै हामीले २०२१ सालको नापी नक्साबमोजिम खोलाको ५७५ मिटर बहाव साविककै स्थानमा कायम गरिसकेका छौँ।
यो खोलाको कुल लम्बाइ १.५ किलोमिटर हो। ५७५ मिटर सारिसके पनि बाँकी लगभग १ किलोमिटर क्षेत्रमा अव्यवस्थित बस्ती बसेका कारण डीपीआरअनुसार खोला सार्न सकिएको थिएन। हालै संघीय सरकारको निर्णयअनुसार उक्त अव्यवस्थित बस्ती हटिसकेको छ। बस्ती हटेसँगै हामीले पहिलो चरणमा साइटमा काम सुरु गरेका छौँ। तत्काललाई करिब ३०० मिटर खोला फर्काउने काम भइरहेको छ; जसमा खोलाको चौडाइ ३० मिटर, ९ मिटरको ग्रिनबेल्ट (हरियाली क्षेत्र) र ११ मिटरको सडक हुनेछ। बाँकी खण्डलाई पनि साविकबमोजिम नै फर्काउन विस्तृत सर्वेक्षण (डिटेल सर्भे) गरेर इस्टिमेट तयार गरिसकेका छौँ। अब कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ।
- अब यो काम कहिलेसम्म सम्पन्न हुन्छ होला ?
यो काम हामी निरन्तर अगाडि बढाउँछौँ। यसमा हामीलाई संघीय सरकार, काठमाडौँ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाको पूर्ण साथ, सहयोग र हौसला प्राप्त भएको छ।
_eBxC6EDzha.jpg)
अहिले हामीले सर्भे गरेर डिटेल इस्टिमेट निकालिसकेका छौँ, यसलाई नियमअनुसार अगाडि बढाउँछौँ। साथै, अहिले त्यहाँ भग्नावशेष (डोजर चलाउँदा भत्किएका संरचना/डेब्रिज) को व्यवस्थापन हुन सकेको छैन। यस विषयमा काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूसँगै काठमाडौँ महानगरपालिकाको जग्गा व्यवस्थापन समितिका अध्यक्षलगायत सबैसँग कुरा अगाडि बढाएको छु। यो हप्ताभित्र हामी भग्नावशेषलाई एकै ठाउँमा थुपार्ने काम गर्छौं। त्यसपछि स्थानीय निकायहरूले दिएको विकल्पअनुसार त्यसको व्यवस्थापन गरिसकेपछि बाँकी रहेको स्थानमा खोला बगाउने काम सुरु हुन्छ।
- मनोहरा खोला स्थानान्तरण र निर्माणको काम गरिरहँदा कुनै अवरोध सिर्जना त भएको छैन ?
छैन। अहिले कुनै पनि अवरोध छैन। स्थानीय बासिन्दाहरूको साथ, सहयोग र हौसला प्राप्त भएको छ। स्थानीय तह र संघीय सरकारबाट पनि पूर्ण सहयोग मिलेको छ। हामीलाई अहिले काम गर्न कुनै अप्ठ्यारो छैन।
_zU9eQKecmd.jpg)
- मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत मनोहरामा मात्रै नयाँ संरचना बन्न लागेको हो कि ? शंखमूल, वंशीघाट, टेकु, बल्खु क्षेत्रमा पनि यसै प्रोजेक्टअन्तर्गत संरचना बन्दैछन् ?
होइन। यो मनोहरा जग्गा एकीकरण आयोजना मनोहरा क्षेत्रका लागि मात्रै हो। वंशीघाट, सिनामंगल, थापाथली, बल्खुजस्ता क्षेत्रहरू हाम्रो आयोजनाको कार्यक्षेत्रभित्र पर्दैनन्।
- मनोहरा क्षेत्रमा कति घरपरिवार थिए, कति जनसङ्ख्या थियो ?
त्यहाँ अनुमानित १ हजार २०० घर थिए। हिजो नदीले बहाव परिवर्तन गरेका कारण काठमाडौँमा जग्गाको स्रेस्ता कायम भएका तर खोला भक्तपुरतिर पर्न गएका लगभग १०० रोपनी जग्गा थियो। साविकको नापी नक्साबमोजिम हामीले नदीको बहाव फर्कायौँ भने त्यो १०० रोपनी जग्गा काठमाडौँतर्फ नै फर्किन्छ। त्यसको 'ल्यान्ड पुलिङ' (जग्गा एकीकरण) को व्यवस्थापन पनि हामीले सुरु गरिसकेका छौँ। त्यसैगरी, हिजो काठमाडौँमा परेको करिब १४ रोपनी जग्गा नदीको बहाव परिवर्तनले अहिले भक्तपुरतिर परेको छ। त्यसको पनि हामीले जग्गा व्यवस्थापन गर्ने काम गरिरहेका छौँ।
_W3U5BfdaEU.jpg)
- अब खोला पुरानै अवस्थामा फर्काइसकेपछि यहाँ कस्ता संरचनाहरू बन्छन् ? सडक वा पार्कहरू के बन्छन् ?
२०२१ सालको नापी नक्साबमोजिम नदीको बहाव कायम भइसकेपछि खोलाको चौडाइ ३० मिटरको हुन्छ। खोलाको दायाँबायाँ ९/९ मिटरको ग्रिनबेल्ट हुन्छ, जहाँ हामी हरियाली प्रवर्द्धन गर्ने काम गर्छौं। त्यसको बाहिरपट्टि दायाँबायाँ नै ११/११ मिटरको सडक बन्नेछ।
- खोलाको वारिपारि नै एउटै प्रकारको संरचना बन्नेछ ?
हजुर, वारिपारि नै हामी समान संरचना कायम गर्छौं।

- मनोहरामा काम रफ्तारमा भइरहेको छ। अब नयाँ स्वरूप कहिलेसम्ममा बन्छ होला ?
अहिले हामी चालु आर्थिक वर्षको करिब अन्त्यमा आएका छौँ। नयाँ आर्थिक वर्षको बजेट बनाउँदा यो सम्पूर्ण खर्चलाई समावेश गर्ने गरी कार्यक्रम स्वीकृत गराएर बजेट विनियोजन गर्छौं। यदि हामीले अहिलेकै रफ्तारमा काम गर्न पायौँ भने, ढिलोमा दुई वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ।
- कामदारको अभाव भएको छ कि छैन ?
छैन। हामीले पर्याप्त कामदार पाएका छौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण