सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इन्जिनियरिङको नयाँ चमत्कार : विश्वकै सबैभन्दा अग्लो तेर्सो गगनचुम्बी भवन

बिहीबार, ०७ जेठ २०८३, १५ : ०३
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • चीनको चोङकिङ सहरमा 'द क्रिस्टल' नामक विश्वकै सबैभन्दा अग्लो तेर्सो गगनचुम्बी भवन निर्माण गरिएको छ।
  • यो भवन ३०० मिटर लामो छ र यसले चारवटा ठाडो गगनचुम्बी भवनहरूलाई जोड्छ।
  • द क्रिस्टलमा अवलोकन डेक, कौसी बगैँचाहरू, बारहरू, रेष्टुरेन्टहरू र दुईवटा इन्फिनिटी पुलहरू जस्ता सुविधाहरू रहेका छन्।

काठमाडाैँ। याङ्त्से र जियालिङ नदीको सङ्गमस्थलमा अवस्थित चीनको हलचलले भरिएको चोङकिङ सहरको सबैभन्दा घना बस्ती भएको क्षेत्रमा निर्माण गरिएको ‘द क्रिस्टल’ चिनियाँ मापदण्ड अनुसार पनि अहिलेसम्मकै सबैभन्दा महत्त्वाकाङ्क्षी वास्तुकला परियोजनाहरूमध्ये एक हो।

क्षितिज समानान्तर (तेर्सो) रूपमा फैलिएका गगनचुम्बी भवन वा स्काईब्रिजहरू विश्वका लागि नयाँ कुरा भने होइनन्।

सिङ्गापुरको पहिचान बनेको प्रतिष्ठित मेरिना बे स्यान्ड्स र चिनियाँ राजधानीको सबैभन्दा प्रभावशाली भवनहरूमध्ये एक बेइजिङको लिङ्क हाइब्रिड यसका उदाहरण हुन्, तर द क्रिस्टल यी सबैभन्दा निकै फरक र उत्कृष्ट छ। यो विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तेर्सो गगनचुम्बी भवन हो जसले एकैसाथ सबैभन्दा धेरै ठाडो टावरहरूलाई जोड्ने काम गर्छ।

एसियाकै सबैभन्दा ठूला घरजग्गा कम्पनीहरूमध्ये एक क्यापिटाल्यान्डले विकास गरेको द क्रिस्टलको अनुमानित बजेट १.१ अर्ब डलर रहेको थियो। यसको बाहिरी भाग सजाउनका लागि करिब ३ हजार थान सिसाका प्यानल र ५ हजार थान आल्मुनियमका टुक्राहरू आवश्यक परेका थिए, तर ती सबैलाई एकै ठाउँमा जोड्नु नै सबैभन्दा ठूलो चुनौती थियो।

३०० मिटर लामो यो तेर्सो गगनचुम्बी भवनमा सातवटा ठूला खण्डहरू रहेका छन्, जसमध्ये केहीलाई जमिनको सतहमा पहिले नै तयार पारेर उच्च–परिशुद्धता भएको हाइड्रोलिक्स प्रविधिको प्रयोग गरी २५० मिटर माथि हावामा उठाएर जडान गरिएको थियो। बाँकी खण्डहरूलाई भने द क्रिस्टललाई सन्तुलन दिने टावरहरूमा सीधा माथि नै माउन्ट गरिएको थियो।

विश्वकै सबैभन्दा अग्लो यो तेर्सो गगनचुम्बी भवनको फलामको संरचना (स्टील फ्रेम) को तौल मात्रै १२ हजार टन छ, जुन आइफेल टावरको तौलसँग तुलना गर्न सकिन्छ। यस तथ्याङ्कबाट यो परियोजनालाई वास्तविकतामा बदल्ने आर्किटेक्ट र इन्जिनियरहरूको दक्षतालाई सजिलै बुझ्न सकिन्छ।

यसले आफूलाई ओगटेका चारवटा परम्परागत ठाडो गगनचुम्बी भवनहरूलाई जोड्ने काम मात्र गर्दैन, बरु यो बस्न योग्य र मनोरञ्जनात्मक ठाउँका रूपमा समेत सञ्चालनमा छ। यसको मुख्य आकर्षणहरूमध्ये एक १५०० वर्ग मिटरमा फैलिएको सिसाको भुइँ भएको अवलोकन डेक हो, जहाँबाट चोङकिङ सहरको सुन्दर दृश्य देखिन्छ।

यस स्काईब्रिजमा कौसी बगैँचाहरू, बारहरू, रेष्टुरेन्टहरू, समारोह गर्ने स्थानहरू र एउटा निजी क्लबका साथै दुईवटा ५० मिटर लामा इन्फिनिटी पुलहरू रहेका छन्। द क्रिस्टललाई वास्तुकला र इन्जिनियरिङको एक अद्भुत चमत्कारका रूपमा प्रशंसा गरिएको छ, जसले दिनानुदिन घना बन्दै गएका सहरी केन्द्रहरूका लागि एउटा नयाँ समाधान प्रदान गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप