आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विराटनगरमा कांग्रेसको छुट्टै भेला : क्रियाशील सदस्यताको नयाँ इन्ट्री नगर्ने, पुरानै नवीकरणबाट महाधिवेशन गर्न माग

बिहीबार, ०७ जेठ २०८३, १८ : २६
बिहीबार, ०७ जेठ २०८३

विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर विराटनगरमा संस्थापन इतरपक्षको बिहीबार छुट्टै भेला बसेको छ । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंको सभापतित्वमा जानकी सेवा सदनमा आयोजित भेलाले निष्पक्ष महाधिवेशन सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीलाई कसरी एक ढिक्का बनाउने र सबै पक्षलाई कसरी सम्मानजनक स्थान दिने भन्ने विषयमा केन्द्रित रहेर भेला आयोजना गरिएको सभापति चापागाईंले जानकारी दिए । उनका अनुसार पछिल्लो समय केन्द्रले क्रियाशील सदस्यता अद्यावधिक (इन्ट्री) गर्न दिएको समय अगावै वडा सभापतिहरूलाई छलेर अन्य व्यक्तिहरू परिचालन गरिएको भन्दै वडाहरूबाट तीव्र असन्तुष्टि र विरोध आएपछि यो भेला डाकिएको हो ।

भेलाले अहिले भइरहेको क्रियाशील सदस्यताको नयाँ इन्ट्री र नवीकरण प्रक्रियालाई रोक्नुपर्ने निष्कर्ष निकालेको छ । सदस्यता नवीकरणको काम सम्पन्न भइसकेको अवस्थामा फेरि नयाँ प्रक्रिया थाल्दा पार्टीभित्र विवाद बढेको भेलाको ठहर छ।

‘हामीले यसअघि नै नवीकरण गरेर सबै काम सकिसकेका छौँ । फेरि अहिले किन आवश्यक पर्‍यो ? तिनै नवीकरण गरिएका क्रियाशील सदस्यहरूबाटै अबको अधिवेशन गराउनुपर्छ,’ सभापति चापागाईंले भने, ‘हामी प्रविधिको विरोधी होइनौँ, यसलाई बिस्तारै डिजिटल प्रणालीमा जोड्दै लैजानुपर्छ तर अहिलेलाई पुरानै नवीकरणलाई मान्यता दिएर अधिवेशनमा जानुपर्छ ।’

भेलामा कांग्रेसका विभिन्न तहका करिब १५० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । भेलामा वडा सभापतिहरूदेखि लिएर प्रदेश महामन्त्री भूपेन्द्र राई, पूर्व केन्द्रीय सदस्य भीम पराजुली, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, जिल्ला उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, क्षेत्रीय सभापतिहरू र महानगर समितिका पदाधिकारीको उपस्थिति थियो । 

सभापति चापागाईंले यो भेलालाई नियमित र फेयर महाधिवेशन पक्षधरहरूको भेलाको रूपमा अर्थ्याएका छन् । ‘पार्टीभित्र जालझेलको चक्करमा नपरी सिधा हिसाबले महाधिवेशनमा जाऔँ र पार्टीलाई एक ढिक्का बनाएर लैजाऔँ भन्ने हाम्रो मुख्य कुरा हो,’ उनले भने।

भेलाले पार्टीका राम्रा कामको समर्थन गर्ने तर नराम्रा प्रवृत्ति र पक्षपातपूर्ण निर्णयहरूको सामूहिक रूपमा प्रतिवाद गर्दै निरन्तर छलफलमा जुट्ने निर्णय समेत गरेको छ । वडा तहदेखि नै देखिएको सदस्यता विवादलाई सम्बोधन नगरी अगाडि बढे पार्टीभित्रको दुर्घटना अझै बढ्न सक्ने चेतावनी भेलाले पार्टी नेतृत्वलाई दिएको जनाइएको छ।

भेलामा सहभागी एक नेताले गगन थापा नेतृत्वको केन्द्रीय समितिले क्रियाशील सदस्यता नवीकरणका लागि गरेको आव्हानलाई बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिए । ‘यो सदस्यता नवीकरण हुँदैन । हामी बहिष्कार गर्छौँ,’ ती नेताले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप