साउदीमा रोनाल्डोको प्रतीक्षा समाप्त : अल-नासरलाई ११ औँ पटक लिग उपाधि
सारांश
- क्रिस्टियानो रोनाल्डोले साउदी अरबमा आफ्नो पहिलो लिग उपाधि जितेका छन्, जसमा अल-नासरले ११ औँ पटक साउदी प्रो लिगको उपाधि उचालेको छ।
- रोनाल्डोले उपाधि निर्धारण गर्ने अन्तिम खेलमा दुई गोल गरे, जसले अल-नासरलाई कट्टर प्रतिद्वन्द्वी अल-हिलाललाई पछि पार्न मद्दत गर्यो।
- यो उपाधि रोनाल्डोको व्यक्तिगत आठौँ लिग च्याम्पियनसिप हो र यसले साउदी अधिकारीहरूका लागि रोनाल्डोको अनुबन्धलाई औचित्य साबित गरेको छ।
रियाद । विश्व फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोले साउदी अरब पुगेको साढे तीन वर्षपछि पहिलो पटक साउदी प्रो लिगको उपाधि उचालेका छन्। सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर सनसनीपूर्ण रूपमा अल-नासरसँग आबद्ध भएका ४१ वर्षीय रोनाल्डोका लागि यो प्रतिक्षित क्षण बन्यो।
विश्व फुटबल जगतलाई चकित पार्दै साउदी अरबलाई खेलकुदको विश्वमञ्चमा स्थापित गर्ने उद्देश्यका साथ भित्र्याइएका रोनाल्डोले लामो समयसम्म कुनै पनि ठुलो घरेलु उपाधि जित्न नसक्दा विभिन्न टिप्पणी भइरहेका थिए। तर, बिहीबार राति भएको सिजनको अन्तिम खेलमा डामकमाथि ४–१ को सानदार जित निकाल्दै अल-नासरले आफ्ना कट्टर प्रतिद्वन्द्वी अल-हिलाललाई पछि पारेर सन् २०१९ पछिको पहिलो लिग उपाधि कब्जा गर्यो।
उपाधि निर्धारण गर्ने निर्णायक खेलमा रोनाल्डो आफैँले दुई गोल गरे। साउदी प्रो लिगमा भर्खरै मात्र आफ्नो १०० औँ गोल पूरा गरेका रोनाल्डोले अल-नासरका लागि सबै खाले प्रतियोगितामा गरी कुल १२९ गोल गरिसकेका छन्।
तर, यो लिग उपाधि नै त्यस्तो उपलब्धि हो, जसका लागि उनलाई क्लबले कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको थियो। रोनाल्डोको आगमनपछि साउदी फुटबलमा ठुलो रूपान्तरण आएको छ। उनकै सिको गर्दै करिम बेन्जेमा, एनगोलो कान्टे, रियाद महरेज, साडियो माने र नेयमार जस्ता विश्वप्रसिद्ध खेलाडीहरू साउदीका 'बिग फोर' भनिने अल-हिलाल, अल-नासर, अल-अहली र अल-इत्तिहाद क्लबमा भित्रिएका थिए।
यस सिजनको उपाधि होड निकै रोमाञ्चक र उतारचढावले भरिएको थियो। इभान टोनीको गोलको मद्दतले बलियो बनेको अल-अहली र साउदीको तेल कम्पनी अरामकोको लगानी रहेको अल-कादिसियाले पनि प्रशिक्षक ब्रेन्डन रोजर्सको नेतृत्वमा उपाधिका लागि कडा चुनौती पेश गरेका थिए।
यद्यपि, प्रतियोगिताको अन्तिम चरणमा यी दुई टोली पछि परे। अन्ततः उपाधिको भिडन्त नासर र हिलालबिच मात्र सीमित हुन पुग्यो। गत मे १२ मा भएको यी दुई टोलीबीचको भिडन्तलाई साउदी फुटबल इतिहासकै सबैभन्दा ठुलो खेल मानिएको थियो, जुन विश्वका १८० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
उक्त खेलको ९७ औँ मिनेटसम्म अल-नासर १–० ले अगाडि रहेको अवस्थामा गोलकिपर बेन्टोको गल्तीका कारण आत्मघाती गोल हुन पुग्दा खेल १–१ को बराबरीमा सकिएको थियो र उपाधि होड जीवितै रहेको थियो। तर, अन्तिम दिन अल-नासरले कुनै गल्ती नगरी सहज जितका साथ काम फत्ते गर्यो।
यो उपाधि अल-नासरका लागि ११ औँ लिग उपाधि हो भने रोनाल्डोका लागि व्यक्तिगत आठौँ लिग च्याम्पियनसिप हो। यसअघि उनले इंग्ल्यान्डमा म्यानचेस्टर युनाइटेड, स्पेनमा रियल म्याड्रिड र इटालीमा युभेन्टसबाट लिग उपाधि जितिसकेका छन्। फ्रान्सको एम्लियन बिजनेस स्कूलका अफ्रो-युरेशियन खेलकुद विज्ञ प्राध्यापक साइमन चाडविकका अनुसार साउदीका अधिकारीहरूले अल-नासरको यो जितलाई रोनाल्डोको अनुबन्ध र क्लबलाई पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) कै स्वामित्वमा राख्ने निर्णयको औचित्य साबित भएको रूपमा लिनेछन्।
चाडविकले भने, ‘यस लिग जितले सही आन्तरिक रणनीति र विदेशी खेलाडीको आगमनको मिश्रणबाट द्रुत रूपमा सफलता हासिल गर्न सकिन्छ भन्ने साउदी दृष्टिकोणलाई बलियो बनाउँछ। तर अल-नासरले आफ्ना घरेलु र एसियाली प्रतिद्वन्द्वीहरू जस्तै प्रतिष्ठित छवि बनाइराख्नका लागि निरन्तर जित हासिल गर्नुका साथै महादेशीय उपाधि पनि जित्न आवश्यक छ।’
यो उपाधि जितले रोनाल्डोलाई ठुलो राहत दिएको छ, किनभने केही दिनअघि मात्र अल-नासर एसियाको दोस्रो ठुलो क्लब प्रतियोगिता ‘एएफसी च्याम्पियन्स लिग टू’ को फाइनलमा जापानको गाम्बा ओसाकासँग स्तब्ध हुन पुगेको थियो।
यो सिजन विवादमुक्त भने रहेन। गत फेब्रुअरीमा रोनाल्डोले दुईवटा लिग खेल गुमाएका थिए, जसको कारण पीआईएफले अल-हिलालको तुलनामा अल-नासरलाई गरेको व्यवहार र व्यवस्थापनप्रतिको असन्तुष्टि भएको बताइएको थियो। अर्कोतर्फ, अल-अहलीका इभान टोनी र ब्राजिलियन विङ्गर गालेनो लगायतका खेलाडीहरूले लिगले रोनाल्डो र अल-नासरको पक्षपोषण गरेको आरोप समेत लगाएका थिए।
त्यस आरोपको प्रतिवाद गर्दै रोनाल्डोले भनेका थिए, ‘मलाई लाग्छ यो लिगका लागि राम्रो होइन। सबैजना गुनासो मात्र गर्छन्। यो फुटबल हो, युद्ध होइन। तर यहाँ जे पायो त्यही गर्न पाइँदैन। मैले धेरै नराम्रा कुराहरू देखेकाले सिजनको अन्त्यमा यसबारे विस्तृत रूपमा बोल्नेछु। धेरै खेलाडीले रेफ्री र लिगको परियोजनालाई लिएर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गर्दै गुनासो गरिरहेका छन्, जुन यो लिगको उद्देश्य होइन।’
पछिल्लो समय साउदी अरबको समग्र खेलकुद परियोजनामाथि पनि प्रश्नहरू उठ्न थालेका छन्। गत अप्रिलमा पीआईएफले यस सिजनको अन्त्यपछि एलआईभी गल्फलाई आर्थिक सहयोग बन्द गर्ने घोषणा गरेको थियो। यस्तै, आगामी सन् २०२९ मा साउदीमा हुने भनिएको विन्टर एसियन गेम्स पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ भने डब्ल्यूटीएको टेनिस फाइनल खेलहरू पनि तीन वर्षको सम्झौता सकिएपछि साउदीबाट बाहिरिने रिपोर्टहरू सार्वजनिक भएका छन्।
फुटबलमा पनि सन् २०२३ को तुलनामा ठुला नामहरू महँगो रकममा भित्र्याउने ट्रेन्ड कम भएको छ र अचेल क्लबहरूले भविष्यमा पुन: बिक्री गर्न सकिने युवा खेलाडीहरूमा जोड दिन थालेका छन्।
यद्यपि, साउदी क्लबहरूसँग अझै पनि उपयुक्त खेलाडीका लागि पर्याप्त रकम उपलब्ध छ। लिभरपुल छाड्ने तयारीमा रहेका इजिप्टका स्टार मोहम्मद सलाहलाई अल-इत्तिहादले उपयुक्त मूल्यमा भित्र्याउन चाहेको बुझिएको छ। रोनाल्डोको यो ऐतिहासिक जित ठुलो खर्चको परिणाम र एउटा सुनौलो युगको सुखद अन्त्य दुवै हुन सक्छ, जहाँ साउदी टोलीहरूले एउटै ट्रान्सफर विन्डोमा ७०० मिलियन पाउन्डसम्म खर्च गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण