सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेविसंघका नेताहरूले राखे महाधिवेशनको रोडम्याप र वैचारिक स्पष्टताको माग

आइतबार, १० जेठ २०८३, १४ : ५२
आइतबार, १० जेठ २०८३

सारांश

  • नेपाल विद्यार्थी संघ (नेविसंघ) का '१२ औँ महाधिवेशन पक्षधर' समूहले पार्टी सभापति गगन थापासँग संघभित्रको नेतृत्व विवाद र संरचनागत अस्पष्टताले विद्यार्थीमा निराशा उत्पन्न भएको भन्दै आधिकारिक धारणा माग गरेको छ ।
  • समूहले नेविसंघको अधिवेशनको मिति, प्रक्रिया र तयारीको स्पष्ट रोडम्याप सार्वजनिक गर्न, सिनेट बैठकले प्रस्ताव गरेको स्वायत्त तथा स्वचालित मोडलमा पार्टीको धारणा माग्दै विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति पार्टीको आधिकारिक धारणा र विद्यार्थी आन्दोलनको स्वतन्त्रताको पक्षमा पार्टीको मत सार्वजनिक गर्न माग गरेको छ ।
  • परिवर्तित राजनीतिक र शैक्षिक परिवेश अनुसार विद्यार्थी आन्दोलनको भावी दिशा र रणनीतिबारे पार्टीको वैचारिक र नीतिगत दृष्टिकोण सार्वजनिक गर्न पनि आग्रह गरिएको छ ।

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र साङ्गठनिक र वैचारिक अन्योल बढेको भन्दै  ‘नेविसंघ १२ औँ महाधिवेशन पक्षधर’ समूहले नेपाली कांग्रेसका सभापति गगन थापासँग  संघभित्र देखिएको नेतृत्व सम्बन्धी विवाद र संरचनागत अस्पष्टताले विद्यार्थीहरूमा निराशा उत्पन्न भएको भन्दै त्यस सम्बन्धमा पार्टीको आधिकारिक धारणा माग गरेको छ । 

समूहले ज्ञापनपत्र बुझाउँदै सङ्गठनको भावी दिशाबारे गम्भीर प्रश्नहरू उठेको भन्दै चार माग अघि सारेको हो । ज्ञापनपत्रमा उनीहरूले नेविसंघको नियमित अधिवेशनको मिति, प्रक्रिया र तयारीको स्पष्ट ‘रोडम्याप’ सार्वजनिक गर्न माग गरिएको छ ।

नेविसंघको सिनेट बैठकले प्रस्ताव गरेको स्वायत्त तथा स्वचालित मोडलको सम्बन्धमा पार्टीले कहिले औपचारिक छलफल गरी निर्णय प्रक्रिया अघि बढाउँछ ? सरकारले विद्यार्थी सङ्गठन खारेज गर्ने भनी गरेको निर्णयप्रति पार्टीको आधिकारिक धारणा के हो ? विद्यार्थी आन्दोलन र सङ्गठन स्वतन्त्रताको पक्षमा पार्टीको स्पष्ट मत के हो सार्वजनिक गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । 

परिवर्तित राजनीतिक र शैक्षिक परिवेश अनुसार अबको विद्यार्थी आन्दोलन कस्तो हुने ? यसको भावी दिशा र रणनीतिबारे पार्टीको स्पष्ट वैचारिक र नीतिगत दृष्टिकोण सार्वजनिक गर्न पनि समूहले आग्रह गरेको छ । 

ज्ञापनपत्रमा लेखिएको छ, ‘नेपाल विद्यार्थी संघको सुदृढीकरण, वैचारिक स्पष्टता र लोकतान्त्रिक अभ्यासका लागि पार्टीले यी प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

विद्यार्थी नेताहरूले पार्टीले समयसापेक्ष योजना र आवश्यक निर्णय प्रक्रिया यथाशीघ्र अगाडि नबढाए सङ्गठन थप धराशायी हुने चेतावनी समेत दिएका छन् । अमृत कार्की, प्रमोद राई, पुष्कर शाहीलगायतले ज्ञापनपत्र पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई बुझाएका हुन् ।

704386448_978062931510677_7375648829279837856_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप