विपक्षीको कडा आलोचना, सत्तापक्षको बचाउ
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आइतबारदेखि सुरु भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षबिच जुहारी चलेको छ ।
विपक्षी सांसदहरूले सरकारलाई ‘यथास्थितिवादको जब्बर मानक’ र नीति कार्यक्रमलाई ‘असफल योजनाको म्युजियम’ को संज्ञा दिँदै कडा आलोचना गरेका छन् भने सत्तापक्षले यसलाई समृद्धिको आधार भन्दै बचाउ गरेको छ।
विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशप्रसाद उप्रेतीले वर्तमान सरकारले नयाँपन दिन नसकेको र जे छ त्यसमै रमाउने यथास्थितिवादी चरित्र प्रदर्शन गरेको आरोप लगाए । उनले नीति तथा कार्यक्रमलाई मन्त्रालयहरूको वार्षिक कार्यक्रमको सँगालो मात्र भएको टिप्पणी गरे । ‘यो सरकार बनेदेखि नै कोशी प्रदेशले यथास्थितिवादको एउटा जब्बर मानक स्थापित गरेको छ,’ उप्रेतीले भने, ‘तमोर–चिस्याङ डाइभर्ट, केचना–सगरमाथा द्रुतमार्ग र चतरा–चौरीखर्क रेलमार्ग जस्ता योजनाहरू वर्षौँदेखि एउटै रूपमा दोहोरिरहेका छन् । यो नयाँ गन्तव्यको पहिचानभन्दा पनि पुराना र कार्यान्वयन हुन नसक्ने योजनाहरूको ‘म्युजियम’ जस्तो देखिएको छ।’
उनले पर्यटनका नाममा विगतमा भएका भ्रष्टाचारको स्मरण गराउँदै पूर्वाधार बिनाको पर्यटन वर्ष घोषणा केवल ‘जग हँसाउने काम’ मात्र भएको बताए ।
नेकपाकै अर्का सांसद बाबुराम गौतमले सरकारको दृष्टिकोणमाथि प्रश्न उठाउँदै सुकुमबासीहरूले ओत नपाइरहेका बेला पूर्वराष्ट्रपति र प्रधानमन्त्रीका घरलाई सङ्ग्रहालय बनाउन बजेट विनियोजन गर्नु समाजवाद विरोधी भएको तर्क गरे । उनले सरकार सीमित घेराभित्र अलमलिएको आरोप लगाए।
त्यस्तै, नेकपाका सांसद गोम्बु शेर्पाले नीति तथा कार्यक्रमलाई ‘टपरटुइँया र आश्वासनमुखी’ भन्दै मन्त्री र मुख्यमन्त्री नै आफ्ना कार्यक्रमबारे अनभिज्ञ रहेको टिप्पणी गरे । सांसद सपना दर्जीले दलित, महिला र भूमिहीनका समस्या सम्बोधन गर्न सरकार चुकेको बताइन् भने राजेन्द्र कार्कीले पुराना योजनाहरू कागजमा मात्र सीमित नगरी कार्यान्वयनमा इमानदार हुन चुनौती दिए ।
सांसद उप्रेतीले सरकारले कांग्रेसको मन राख्न गिरिजाप्रसाद क्रिकेट रङ्गशालाको कुरा उठाएको र भाषाको मुद्दामा ‘संस्थागत झुटको खेती’ गरिरहेको आरोप लगाए । उनले पहिचानको आन्दोलन र उपनिर्वाचनको जनमतलाई सरकारले बुझ्न नसकेको र दुई तिहाइको सरकारले पनि भाषाको विषय टुङ्गो लगाउन नसक्नु दुःखद भएको बताए ।
विपक्षीको कडा आलोचनाकाबिच सत्तापक्षका सांसदहरूले भने नीति तथा कार्यक्रमको बचाउ गरेका छन् । एमाले सांसद राधाकृष्ण खनालले ‘युवा ट्यालेन्ट हन्ट’ र ‘म अघि बढ्छु’ जस्ता कार्यक्रमले युवामा उत्साह जगाउने दाबी गरे।
सांसद होमबहादुर थापाले अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने प्रस्तावले आर्थिक समृद्धिको ढोका खोल्ने बताउँदै सङ्घीय सरकारबाट अधिकार लिन मुख्यमन्त्रीहरूको सम्मेलन आवश्यक रहेको उल्लेख गरे ।
अर्का सांसद किशोरचन्द्र दुलालले यो कार्यक्रम केवल सपना मात्र नभई प्रदेशवासीको जीवन बदल्ने कार्य योजना भएको दाबी गरे । त्यस्तै, जयप्रकाश चौधरीले मुख्यमन्त्री ड्यासबोर्डमार्फत हुने अनुगमनले सरकारी कार्यक्षमतामा सुधार आउने तर्क गरे भने प्रेमराज थाम्सुहाङले नीति कार्यक्रमको १५ प्रतिशत मात्रै कार्यान्वयन भए पनि ठुलो उपलब्धि हुने बताए।
विपक्षीले बजेट समानुपातिक र प्राकृतिक वितरण प्रणालीका आधारमा आउनुपर्ने माग गर्दै कार्यशैली नसुध्रिए नयाँ शक्तिहरूको आलोचना खेप्न तयार रहन सरकारलाई चेतावनी दिएका छन्। नीति तथा कार्यक्रममाथिको छलफल सोमबार पनि जारी रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण