शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कलाकार

डेब्यु फिल्मबाटै छाप छोडे, अब नाटक खेल्न चाहन्छन् मुकुन

पर्दामा छोरालाई ‘रोल नम्बर १’ बनाउन लागिपरेका ‘सञ्चार’
सोमबार, ११ जेठ २०८३, ०७ : ००
सोमबार, ११ जेठ २०८३

सारांश

  • मुकुन भुसाल अभिनित आगामी फिल्म 'रोल नम्बर १' शैक्षिक विषयवस्तुमा आधारित छ, जसले अभिभावकहरूमाझ सन्तानलाई उत्कृष्ट बनाउने प्रतिस्पर्धालाई देखाउँछ।
  • फिल्म 'रोल नम्बर १' ले परीक्षा प्रणालीमाथि प्रश्न उठाउँदै बालबालिकामाथि हुने अत्यधिक दबाब र अपूर्ण सपनाहरू सन्तानमा थोपर्ने प्रवृत्तिलाई चित्रण गर्दछ।
  • डेब्यु फिल्म 'बुलबुल' बाट स्थापित भएका मुकुन अब रंगमञ्चमा अभिनय गर्ने रहर व्यक्त गर्छन्, जहाँ दर्शकको प्रत्यक्ष प्रतिक्रिया पाइन्छ।

काठमाडौं । मुकुन भुसाल अभिनित पछिल्लो फिल्म हो, ‘रोल नम्बर १’ । आगामी शुक्रबार (जेठ १५ गते) देखि प्रदर्शनमा आउने यो फिल्म शैक्षिक विषयवस्तुमा आधारित छ ।

‘हाम्रो समाजमा ‘रोल नम्बर १’ कक्षामा प्रथम हुने विद्यार्थी मात्र होइन, सामाजिक प्रतिष्ठाको विषय पनि हो’, उनी भन्छन्, ‘यो एउटा अघोषित युद्धको स्वर्ण पदक जस्तै हो ।’ आफ्नो हातमा आधा दर्जन फिल्म भए पनि विषयवस्तु मन परेर यो फिल्म रोजाइमा परेको उनले खुलाए ।

‘शैक्षिक सत्रको सुरुवातसँगै विद्यालय छिर्ने बालबालिका मात्र होइन, अभिभावकमा पनि आफ्नो सन्तान अरूभन्दा ‘पहिलो’ बनेको देख्ने चाहना हुन्छ । त्यही कथामा बनेको छ फिल्म रोल नम्बर १,’ मुकुनले फिल्मको कथा खोले । सन्तानलाई पढाइ, खेलकुद, कला, अतिरिक्त क्रियाकलाप लगायत हरेक विधामा अब्बल बनाउने तीव्र होडबाजीसमेत फिल्मले देखाउने उनले बताए ।

एउटा स्थापित कलाकारका लागि कुन फिल्म रोज्ने र कुन छोड्ने भन्ने निर्णय निकै संवेदनशील मानिन्छ । कतिपय अवस्थामा व्यावसायिक सफलता त कतिपय अवस्थामा प्रसिद्धिको लोभले यस्ता निर्णय प्रभावित हुन्छन् ।

‘फिल्म मेरो सहपाठी जोन योन्जनको निर्देशनमा बन्न लागेको थियो,’ उनले फिल्म रोज्नुको दोस्रो कारण खोले, ‘विरलै बन्ने शैक्षिक र सामाजिक मनोविश्लेषणको कथा पनि थियो ।’ यो फिल्मलाई अभिनय यात्राको एउटा महत्त्वपूर्ण खुड्किलो समेत मानेका छन् । फिल्ममा मुकुनले ‘सञ्चार’ नामक मुख्य चरित्र निर्वाह गरेका छन् ।

mukun 2

सञ्चार एउटा यस्तो बाबु हो, जो गरिबी, अभाव र विपन्नताबीच संघर्ष गरिरहेको छ, तर आफ्नो छोरालाई समाजको नजरमा फर्स्ट (रोल नम्बर १) बनाउन हरसम्भव प्रयास गरिरहेको छ । मुकुनका अनुसार ‘रोल नम्बर १’ एउटा फिल्म मात्र नभएर नेपाली समाजको ऐना पनि हो ।

‘सञ्चार एउटा यस्तो प्रतिनिधि बुबा हो, जो आफ्नो आर्थिक विपन्नता र सामाजिक अभावका बीच पनि छोरालाई हरहालतमा कक्षाकोठामा पहिलो अर्थात् ‘रोल नम्बर १’ बनाउने दौडमा छ’, मुकुन भन्छन्, ‘हाम्रो समाजमा हुर्किएको एउटा यस्तो प्रवृत्ति, जहाँ बा–आमा आफ्ना अपूर्ण सपनाहरू सन्तानको कलिलो काँधमा थोपर्छन्, त्यही प्रवृत्तिको प्रतिनिधित्व सञ्चारले गर्छ ।’ फिल्ममा उनको छोराको भूमिकामा निर्भिक रेग्मी छन् ।

फिल्मले अहिलेभन्दा केही दशकअघिको त्यो समयलाई स्मरण गराउँछ, जहाँ बच्चालाई 'पढ, पढ’ भन्ने बाहेक अन्य सीप वा कलाको खासै मूल्यांकन हुँदैनथ्यो । मुकुनका अनुसार आजको समयमा बालअधिकार र मानसिक स्वास्थ्यका कुराहरू उठ्न थाले पनि विगतमा बालबालिकालाई अत्यधिक दबाब दिने चलन थियो । फिल्मले परीक्षा प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको उनले बताए ।

फिल्म ‘रोल नम्बर १’ मार्फत पर्दामा छोरालाई मरिहत्ते गर्ने भुसाल आफ्नो वास्तविक विद्यालय जीवनमा कहिल्यै पहिलो नम्बरको विद्यार्थी भएनन् । उनी स्वयं आफूलाई औसतभन्दा कम स्तरको विद्यार्थीका रूपमा सम्झिन्छन् । पढाइमा खासै मन नजाने उनको जीवनमा नयाँ मोड तब आयो, जब उनी फिल्म पढ्नका लागि ओस्कार फिल्म कलेजमा भर्ना भए । उनले पढाइलाई बोझका रूपमा होइन, रमाइलोका रूपमा लिए । ‘आफूलाई रुचि भएको विधामा सिकाइ सहज हुने रहेछ । फिल्म पढ्दा मैले कहिल्यै दबाब महसुस गरिनँ, बरु रमाएरै धेरै कुरा सिकें,’ मुकुन भन्छन् ।

‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले बनाएको यो फिल्ममा मुकुनसँगै सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका छ ।

mukun

  • कलाकार निर्देशकको माध्यम

मुकुनले फिल्म ‘बुलबुल’ बाट अभिनयमा डेब्यु गरेका हुन् । यही फिल्ममा निर्वाह गरेको ‘चोपेन्द्र’ चरित्रबाट उनी स्थापित भए । त्यो दर्शकको मानसपटलमा यसरी बसेको छ कि अन्य दर्जनौं फिल्ममा फरक भूमिका गरिसक्दा पनि उनलाई धेरैले चोपेन्द्रकै रूपमा चिन्छन् । यो छाप मेटाउनु उनका लागि अहिले अर्को चुनौती हो ।

‘केही चरित्रहरू यस्ता अमिट हुन्छन्, जसलाई दर्शकले सधैँ माया गरिरहन्छन् । अर्को चरित्रको छाप बनाउनु मेरो लागि चुनौती हो’, उनी भन्छन्, ‘म त्यो पहिचानलाई मेट्न चाहन्नँ, बरु नयाँ चरित्र लिएर दर्शकमाझ स्थापित हुन चाहन्छु ।’

अभिनयमा माहिर कलाकार हुन्, भुसाल । उनी अहिलेसम्म जति फिल्ममा देखिए ती सबै चरित्रप्रधान छन् । रोमान्टिक र एक्सन फिल्ममा निर्माताहरूले आफूलाई नरोज्ने उनको अनुभव छ ।

अभिनयको विषयमा भुसालको स्पष्ट धारणा छ- ‘कलाकार निर्देशकको माध्यम हो ।’ उनी एउटै कलाकारले कुनै फिल्ममा राम्रो र कुनैमा नराम्रो गर्छ भने त्यसमा कलाकारभन्दा निर्देशकको दोष ठान्छन् । निर्देशकले कलाकारलाई कसरी बुझ्छ, उसलाई कस्तो वातावरण दिन्छ, चरित्रलाई कसरी स्थापित गर्छ भन्ने कुराले अभिनयको स्तर निर्धारण गर्छ भन्ने उनको ठम्याइ छ । फिल्म अध्ययनपछि सिधै अभिनयमा अवसर पाउने भाग्यमानी कलाकारमा मुकुन पर्छन् ।

mukun 3

  • अबको रुचि नाटक

पहिलो फिल्म ‘बुलबुल’ बाटै सर्वत्र चिनिएका मुकुनले यसपछिका फिल्मबाट भने उति साह्रो छाप छाड्न सकेका छैनन् । तर लगातार फिल्म भने पाइरहेका छन् । फिल्ममा होमिँदै गर्दा आफू यहाँसम्म आइपुग्ने र लगातार फिल्म पाउने सपनामा पनि नसोचेको उनले बताए । अहिले उनको ‘रोल नम्बर १’ सहित करिब आधा दर्जन फिल्म प्रदर्शनमा आउन बाँकी छन् ।

त्यत्तिकै हाराहारी नयाँ फिल्मका स्क्रिप्ट अध्ययन गरिरहेका उनी अभिनय यात्रामा निकै सन्तुष्ट छन् । ‘पहिलो फिल्म ‘बुलबुल’ दर्शकले नपत्याएको भए यो यात्रा कति कठिन हुन्थ्यो,’ उनी भन्छन्, ‘डेब्यु फिल्मले नै बलियो जग दियो ।’

पछिल्लो समय थुप्रै फिल्मका कलाकारले रंगमञ्च रोजेका छन् । मुकुनको पनि त्यो रहर छ । बेलाबेलामा त्यसको अफर पनि आइरहेकै छन् । फिल्म सुटिङको काममा व्यस्त भएर उनले समय दिन पाएका छैनन् । ‘कुनै दिन समय मिलाएर नाटक खेल्ने ठूलो इच्छा छ’, उनी भन्छन्, ‘लाइभ अडियन्सको अगाडि उभिएर अभिनय गर्ने र तुरुन्तै प्रतिक्रिया लिन पाउनु रंगमञ्चको सुन्दर पक्ष हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप