सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

सोमबार, ११ जेठ २०८३, ०६ : २५
सोमबार, ११ जेठ २०८३

सारांश

  • मलेसियाको शाह आलमस्थित पानासोनिक स्टेडियममा मे ३१ र जुन १ मा 'दोस्रो आरटी गोल्ड कप २०२६' फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
  • यस नकआउट प्रतियोगितामा १८ वटा टोलीले सहभागिता जनाउनेछन्, जसको विजेताले २२,००० मलेसियन रिंगेट पुरस्कार पाउनेछ।
  • प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ र समूह 'ए' तथा समूह 'बी' मा टोलीहरूलाई विभाजन गरिएको छ।

क्वाललम्पुर । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन गइरहेको 'दोस्रो आरटी गोल्ड कप २०२६' फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक आरटी एफसी मलेसियाले एक विशेष कार्यक्रमका बीच खेल तालिका सार्वजनिक गरेको हो।

द ग्रान्ड केलाना दमनसारा सुइटमा आयोजित टाइसिट ड्र कार्यक्रम आरटी एफसीका अध्यक्ष राजु तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली फुटबल एसोसिएसन (एनएफए) मलेसियाका कार्यवाहक अध्यक्ष विष्णु चौधरी प्रमुख अतिथि रहेका थिए भने अन्य एनएफए पदाधिकारी, व्यवसायी मन्दिप भट्टराई तथा सहभागी क्लबका अध्यक्ष एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।

मलेसियामा रहेका नेपाली क्लब र नेपाली खेलाडीमाझ निकै प्रतिष्ठित मानिने यस दुईदिने नकआउट प्रतियोगितामा कुल १८ वटा टोलीले सहभागिता जनाउँदै छन्। सहभागी टोलीहरूलाई ग्रुप 'ए' र ग्रुप 'बी' गरी दुई समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताको विजेताले आकर्षक ट्रफीसहित २२,००० मलेसियन रिंगेट प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११,००० मलेसियन रिंगेटमा चित्त बुझाउनेछ। टोलीगत पुरस्कारका अलावा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही ३०० मलेसियन रिंगेट प्रदान गरिने आयोजकले जनाएको छ।

खेल तालिका र समूह विभाजन

ग्रुप 'ए' (Group A):

  • आरटी एफसी विरुद्ध मकालु एफसी जोहोर – मे ३१ बिहान ०९:०० बजे
  • काठमाडौँ एफसी विरुद्ध बीजेवाई एफसी निलाई – मे ३१ दिउँसो १२:०० बजे
  • न्यू ब्वाइज एफसी जोहोर विरुद्ध मुआर एफसी – मे ३१ दिउँसो ३:०० बजे
  • बीआरएस एफसी विरुद्ध बालेन सिटी एफसी – मे ३१ बेलुका ६:०० बजे

(नोट: मनकामना एफसी तालिका अनुसार पहिलो चरणमा बाइ (Bye) पाउँदै अघिल्लो चरणको विजेतासँग भिड्नेछ।)

ग्रुप 'बी' (Group B):

  • एनएफसी केएल विरुद्ध सर्लाही एफसी – मे ३१ बिहान १०:३० बजे
  • माईक्रोन एफसी विरुद्ध ब्रदर एफसी केएल – मे ३१ दिउँसो १:३० बजे
  • हिमालयन एफसी विरुद्ध युनाइटेड एफसी – मे ३१ दिउँसो ४:३० बजे
  • चर्च एफसी केएल विरुद्ध न्यू ब्वाइज एफसी केएल – मे ३१ बेलुका ७:३० बजे
  • एन पेनाङ एफसी विरुद्ध युनाइटेड एफसी – मे ३१ राति १०:३० बजे

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल जुन १ तारिख दिउँसो ३:०० बजे र दोस्रो सेमिफाइनल सोही दिन बेलुका ५:०० बजे खेलिनेछ। समूह 'ए' र समूह 'बी' का सर्वश्रेष्ठ टोलीहरूबीच उपाधिका लागि महाभिडन्त (फाइनल) सोही दिन राति ८:०० बजे पानासोनिक स्टेडियममा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप