सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

हेनरी र डी ब्रुइनाको कीर्तिमान तोड्दै फर्नान्डेसले रचे इतिहास

सोमबार, ११ जेठ २०८३, ०७ : ४८
सोमबार, ११ जेठ २०८३

सारांश

  • म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले एकै सिजनमा सबैभन्दा धेरै असिस्ट गर्ने सर्वकालीन कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
  • फर्नान्डेसको कीर्तिमानी प्रदर्शन र व्यक्तिगत एक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि सानदार जित निकालेको हो।
  • गत जनवरीमा सम्हालेयता क्यारिकको नेतृत्वमा युनाइटेडको यो १७ खेलमा १२औँ जित हो।

लन्डन । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले प्रिमियर लिग र फुटबल राइटर्स ‘प्लेयर अफ द इयर’ को अवार्ड जितेकै सिजन एकै सिजनमा सबैभन्दा धेरै असिस्ट गर्ने सर्वकालीन कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। 

फर्नान्डेसको कीर्तिमानी प्रदर्शन र व्यक्तिगत एक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि सानदार जित निकालेको हो। यो जितसँगै क्लबको स्थायी मुख्य प्रशिक्षकका रूपमा माइकल क्यारिकको पहिलो खेल सुखद बनेको छ।

खेल सुरु हुनुअघि घरेलु टोली ब्राइटन आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने झिनो आशामा रहेको थियो। तर खेल सकिँदा उनीहरू अर्को सिजनको यूइएफए कन्फरेन्स लिगको स्थान सुरक्षित गर्न संघर्ष गरिरहेका देखिए। 

ब्राइटनलाई अङ्क तालिकामा सन्डरल्यान्डले पछि पारे पनि ब्रेन्टफोर्डले भेट्न नसकेका कारण ब्राइटन आठौँ स्थानमा रहँदै कन्फरेन्स लिगमा स्थान बनाउन सफल भयो। क्लबको इतिहासमा यो दोस्रो पटक युरोपेली प्रतियोगितामा छनोट हुनु आफैँमा उत्सव मनाउनुपर्ने विषय भए पनि फाइनल ह्विसल बज्दा रंगशालामा फ्यानहरूको ताली भने निकै मधुरो सुनिएको थियो। प्रशिक्षक फाबियन हुर्ज्लेरको टोलीको फितलो प्रदर्शनबाट समर्थकहरू निराश देखिन्थे, तर एनफिल्डबाट आफ्नो अनुकूल नतिजा आएको खबर निश्चित भएपछि मात्र रंगशालामा खुसीयाली छाएको थियो।

यता पाहुना टोली युनाइटेड भने ब्राइटनको स्थितिप्रति उदासीन रहँदै आफ्नै जितको खुसीयालीमा झुमिरहेको थियो। यसअघिका सात भ्रमणमध्ये चार खेलमा यसै मैदानमा पराजित भएको युनाइटेडका समर्थकहरूले यसपटक भने फरक नतिजाको स्वाद पाए। 

गत जनवरीमा सम्हालेयता क्यारिकको नेतृत्वमा युनाइटेडको यो १७ खेलमा १२औँ जित हो। क्यारिकले टोली सम्हाल्दा दुई वर्षको अनुपस्थिति पछि युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा फर्कन सक्छ भन्ने कुरामा निकै कम प्रशंसकले मात्र विश्वास गरेका थिए। टोलीलाई सहजै च्याम्पियन्स लिगको टिकट दिलाउन सफल भएकै मुख्य कारणले क्यारिकलाई क्लबले स्थायी प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।

युनाइटेडलाई यो उचाइमा पुर्‍याउन कप्तान फर्नान्डेसको योगदान सबैभन्दा महत्त्वपूर्ण रह्यो। गत हप्ता नटिङ्घम फरेस्ट विरुद्धको खेलमा थियरी हेनरी र केभिन डी ब्रुइनाको नाममा रहेको एकै सिजनमा सर्वाधिक असिस्टको कीर्तिमान बराबरी गरेका फर्नान्डेसले यस खेलमा त्यसलाई तोडेका हुन्। खेलको पहिलो हाफमा उनको कर्नर पासमा प्याट्रिक डोर्गुले बललाई जाली चुमाएपछि फर्नान्डेसले प्रिमियर लिग इतिहासमा एकल कीर्तिमान स्थापित गरे। 

त्यसपछि अमाद डियालो र मेसन माउन्टबीचको उत्कृष्ट वान–टु पासको तालमेलमा ब्रायन एम्बुमोले युनाइटेडका लागि दोस्रो गोल गरे। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै फर्नान्डेसले प्रहार गरेको बल गोलमा परिणत भएपछि युनाइटेडले ३–० को सहज जित सुनिश्चित गर्‍यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप