शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जापान सरकारको सहयोगमा जाजरकोटमा बन्यो विद्यालयको नयाँ भवन

बुधबार, १३ जेठ २०८३, १२ : ४९
बुधबार, १३ जेठ २०८३

सारांश

  • जापान सरकारको सहयोगमा जाजरकोटको श्री भेरी त्रिवेणी माध्यमिक विद्यालयका लागि निर्माण गरिएको नयाँ कक्षाकोठा भवन हस्तान्तरण गरिएको छ।
  • जापानको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) अन्तर्गत १ लाख ७० हजार १५९ अमेरिकी डलरको अनुदानमा १२ कोठे भवन निर्माण गरिएको हो।
  • भूकम्पले पुरानो भवन भत्किएपछि विद्यार्थीहरूले सुरक्षित शैक्षिक वातावरणमा सिक्ने अवसर पाउने अपेक्षा गरिएको छ।

जाजरकोट । जापान सरकारको सहयोगमा जाजरकोट जिल्लास्थित श्री भेरी त्रिवेणी माध्यमिक विद्यालयका लागि निर्माण गरिएको नयाँ कक्षाकोठा भवन बुधबार एक औपचारिक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ। 

नेपालका लागि जापानी दूतावासका उप-प्रमुख शिन्तो यासुहारुको उपस्थितिमा सो भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो। 

जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) अन्तर्गत जाजरकोट जिल्लाको श्री भेरी त्रिवेणी माध्यमिक विद्यालयको कक्षाकोठा पुननिर्माण परियोजनाका लागि १ लाख ७० हजार १५९ अमेरिकी डलर अर्थात् करिब २ करोड २७ लाख नेपाली रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको थियो। भवन हस्तान्तरण समारोहमा उप-प्रमुख शिन्तोले परियोजनामा आबद्ध सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै नयाँ भवनको निर्माणसँगै अब विद्यार्थीहरूले सुरक्षित र उपयुक्त शैक्षिक वातावरणमा सिक्ने अवसर पाउने विश्वास व्यक्त गरे।

सन् १९८५ मा स्थापना भएको श्री भेरी त्रिवेणी माध्यमिक विद्यालय जाजरकोट र यसका छिमेकी जिल्लाका झन्डै ५०० विद्यार्थीहरूका लागि शिक्षाको एक प्रमुख केन्द्रका रूपमा रहँदै आएको छ। वि.सं. २०८० कात्तिकमा गएको विनाशकारी भूकम्पका कारण विद्यालयको पुरानो भवन पूर्ण रूपमा भत्किएको थियो। 

जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको यो नयाँ १२ कोठे भवनले विद्यार्थीहरूको सिकाइ वातावरणमा उल्लेखनीय सुधार ल्याउने र नेपाल तथा जापानका जनताबिचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो परियोजना जापान सरकारको जीजीपी अन्तर्गत ,भोलेन्टियर कप्स नेपाल, (भीसीएन) नामक संस्थामार्फत कार्यान्वयन गरिएको हो। सन् २०१८ मा स्थापना भएको यस संस्थाले नेपालभर सामाजिक-शैक्षिक विकास, विपद् राहत र स्वयंसेवी गतिविधिहरूमा सक्रिय रूपमा काम गर्दै आएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप