काठमाडौँका जार : न पानी सफा, न भाँडा
सारांश
- काठमाडौँका उपभोक्ताहरूले जारको पानीमा निर्भर हुनुपरेको छ, तर पानीको गुणस्तर र जारको सरसफाइमा गम्भीर समस्याहरू देखिएका छन्।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनमा धेरैजसो पानी उद्योगहरूले न्यूनतम मापदण्डसमेत पालना नगरेको र पुराना, कुच्चिएका जारहरू प्रयोग गरेको पाइएको छ।
- उपभोक्ता अधिकारकर्मी र पानी उद्योग महासंघले गुणस्तरमा सुधारका लागि उद्योगी, वितरक र सरकारी निकायको सक्रियता तथा कडा कारबाहीको आवश्यकतामा जोड दिएका छन्।
काठमाडौंँ । काठमाडौँ ३२ जडीबुटीमा आइतबार पवन बानियाँले नजिकैको किराना पसलमा ३ वटा जार साटे । हतार गरेका उनलाई एउटा जार चुहिने रैछ भन्ने घर ल्याएपछि मात्र थाहा भयो ।
उनले पछि पसलेलाई यसबारे बताए । पसलेले भन्यो, ‘हामीलाई पनि ग्राहकहरूले यस्तै ल्याएर दिएका भएर तपाईंले नै यस्तै पाएको हो । अब यो कम्पनीले झारेको जार, गाडी आउँदा आउनुस् । हामीले कहाँ साट्ने हो र ?,’ पसलेको जवाफपछि पवन चुप लागेर फर्किए ।
काठमाडौँमा खानेपानीको दुःख मेलम्ची आएपछि पूर्ण रूपमा हट्न सकेको छैन । अहिले पनि उपत्यकाका लाखौँ उपभोक्ता जारकै खानेपानीमा निर्भर छन् ।
तर यतिका धेरै उपभोक्ताकाले विश्वास गरेको जारको पानीमा भने पूर्ण रूपमा विश्वास गर्न सकिने अवस्था छैन । कतिपय जार त बाहिरैबाट फोहोर, दागैदाग लागेको, कुच्चिएको हुने गरेका छन् ।
कम्पनीबाट सीधै झारिएका धेरै कम्पनीका जारहरू पनि सफा भेटिँदैनन् । भित्र पनि धुलोका कणहरू, लेदो भेटिएका घटनाहरू, समाचारहरू बेलाबेलामा आइरहन्छन् ।
तर विकल्प नपाउँदा उपभोक्ताहरू यस्तै जारको पानी खान विवश छन् ।
काठमाडौँ उपत्यकामा दैनिक उपभोग हुने जारको खानेपानीको गुणस्तर र वितरण प्रणालीमा बेलाबेलामा कुरा उठिरहन्छ । पानीको शुद्धताबारे प्रश्न उठिरहन्छ ।
मानिसको जीवनसँग सीधा जोडिएको पिउने पानीजस्तो संवेदनशील वस्तुमा उद्योगीहरूले न्यूनतम मापदण्डसमेत पालना नगर्दा जनस्वास्थ्यमा गम्भीर खतरा पैदा भएको उपभोक्ताकर्मी ज्योति बानियाँ बताउँछन् ।
पानीका जारहरू फोहोर हुनु, लेउ लाग्नु र प्याकेजिङमा कमजोरी हुनुले उद्योगीहरूको नाफामुखी प्रवृत्तिलाई छर्लङ्ग पारेको उनले बताए । पसलेले उद्योगलाई र उद्योगले जार उत्पादकलाई दोष देखाएर उम्किने प्रयास गर्दा अन्ततः मारमा भने सर्वसाधारण उपभोक्ता नै परिरहेका छन् ।
बजारमा बढ्दो बेथितिलाई मध्यनजर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै काठमाडौँका विभिन्न पानी उद्योगहरूमा आकस्मिक अनुगमन गर्ने गरेको छ ।
विभागका अनुसार धेरैजसो उद्योगहरूले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को सामान्य पालना समेत गरेको पाइएन । अनुगमन टोलीले गत साता मात्रै विभिन्न उद्योगबाट करिब १५० वटा पुराना, कुच्चिएका र कामै नलाग्ने जारहरू बरामद गरी तत्कालै नष्ट गरेको छ ।
विभागका अनुसार अनुगमन गरिएका उद्योगहरूमध्ये भद्रकाली पानी उद्योग र सिद्धकाली अक्वा पानी उद्योगमा सरसफाइको अवस्था नाजुक पाइएको थियो । सिद्धकाली अक्वामा पानी शुद्धीकरणका लागि अनिवार्य मानिने ‘अल्ट्रा भायोलेट’ लाइटलाई सही स्थानमा नराखेको पाइएको छ ।
यस्तै मनोहरा फुड एण्ड वेभरेज र ओसियन ड्रिङ्किङ वाटर इण्डस्ट्रिजको अवस्था झनै चिन्ताजनक पाइएको छ । मनोहरा फुडमा जार पखाल्ने र भर्ने काम एउटै कोठामा हुने गरेको पाइएको हो, यसले संक्रमणको जोखिम बढाएको विभागले जनाएको छ ।
यस्तै ओसियन ड्रिङ्किङ वाटरको त खाद्य अनुमति पत्र (लाइसेन्स) समेत नवीकरण नभएको र अरू नै कम्पनीको जारमा आफ्नो पानी भरेर बेच्ने गरेको गम्भीर कैफियत भेटिएको छ ।
उद्योगभित्रको समस्या मात्र नभई ढुवानीका क्रममा हुने लापरबाही पनि उत्तिकै भयानक छ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको निरीक्षणका क्रममा जार बोक्ने गाडीमा कामदारहरूले जारमाथि नै खुट्टा राख्ने र अत्यन्तै फोहोर अवस्थामा जारहरू सडकमा ओसार्ने गरेको पाइएको छ ।
बाहिरी आवरण नै प्रदूषित र लेउ लागेको जारभित्रको पानी स्वस्थ हुन्छ भनेर विश्वास गर्ने आधार देखिँदैन । नगर प्रहरीका अनुसार प्रत्येक हप्ता यस्ता थुप्रै उद्योग र वितरकहरू फेला पर्छन्, जसले उपभोक्ताको स्वास्थ्यलाई पूर्णतः बेवास्ता गरिरहेका छन् ।
कमजोरी भए कारबाही हुनुपर्छ – पानी उद्योग महासंघ
यस विषयमा नेपाल पानी उद्योग महासंघले भने आफ्नो तर्फबाट सुधारको प्रयास भइरहेको दाबी गरेको छ । महासंघका महासचिव ध्रुव अधिकारीले गुणस्तरमा सम्झौता गर्ने उद्योगीलाई संरक्षण नगर्ने र पुराना जारहरू नष्ट गर्ने अभियान चलाएको बताए ।
तर उनले जारको गुणस्तर कमजोर हुनुमा पानी उद्योगको मात्र नभई जार बनाउने कारखानाहरूको पनि दोष रहेको औँल्याएका छन् । मूल्यका सन्दर्भमा पनि डिलर र खुद्रा व्यापारीले बढी नाफा खान खोज्दा उपभोक्तालाई महँगो परेको महासंघको तर्क छ ।
‘पिउने पानी जस्तो आधारभूत र स्वास्थ्यसँग जोडिएको विषयमा कसैको पनि लापरबाही क्षम्य हुन सक्दैन,’ अधिकारीले भने । उनका अनुसार देशभर ६२० वटा पानी उद्योग सञ्चालित छन् ।
महासंघले देशभरका उद्योगहरूलाई सर्कुलर जारी गरी पुराना र कुच्चिएका जारहरू फिर्ता ल्याएर नष्ट गर्न सुरु गरेको जनाएको छ । ‘नियम मिच्ने उद्योगलाई संघले संरक्षण नगर्ने र सरकारी मापदण्ड पूर्ण पालना गर्नुपर्ने संघको स्पष्ट धारणा छ,’ अधिकारीले बताए ।
उनले काठमाडौँमा जारको खुद्रा मूल्य ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोकिए पनि डिलर र खुद्रा व्यापारीले मुनाफाका लागि मूल्य फरक पारेको हुन सक्ने भएपनि गाली उद्योगीले खाने गरेको बताए ।
उपभोक्ता अधिकारकर्मी सपना केसी भन्छिन्, ‘उद्योगीहरूले व्यावसायिक मर्यादा पालना गर्ने, वितरकले ढुवानीमा ध्यान दिने र सरकारी निकायले कडा कारबाही गर्ने हो भने मात्र उपभोक्ताले शुद्ध र सुरक्षित पानी पिउन पाउँछन् ।’
उनले सरकारले देखावटी अनुगमन मात्रै गर्ने गरेको भन्दै कारबाही नै नगरी सुधार नहुने बताइन् । ‘अनुगमनको चर्चा हुन्छ तर बारम्बार गल्ती गर्नेलाई कडा कारबाही, उद्योग बन्दसम्मको हुनुपर्छ । अनि मात्रै सुधार हुन्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण