बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापाको रतुवाखोलाको पुलमुनि बोरामा महिलाको शव फेला

शनिबार, १६ जेठ २०८३, १५ : २०
शनिबार, १६ जेठ २०८३

सारांश

  • झापाको दमकमा रतुवा खोलाको पुलमुनि बोराभित्र एक महिलाको शङ्कास्पद शव फेला परेको छ ।
  • स्थानीयले बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
  • प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ र आफन्तजनलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

झापा । झापाको दमकमा बोराभित्र एक महिलाको शङ्कास्पद शव फेला परेको छ । दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि बगिरहेको पानीमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान अन्दाजी ११: ०० बजेको समयमा स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको शव रातो भेस्ट र जिन्सको पाइन्ट लगाएकी अनुमानित ३० देखि ३२ वर्ष जस्तो देखिने महिलाको रहेको छ । 

शव हेर्दा २–३ दिन अगाडि देखि नै पानीमा रहेको र ढाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई सेतो प्लास्टिकको बोरामा पोको पारेर खोलामा फालिएको हुनाले घटना अत्यधिक शङ्कास्पद रहेको र हत्या गरेर फालिएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमान्डमा विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ ।

मृतक महिलाको हालसम्म नाम, थर र ठेगाना (वतन) खुल्न सकेको छैन भने शवको सनाखत हुन पनि बाँकी रहेको छ । मृतक महिलाको बायाँ हातमा एउटा ट्याटु समेत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ ।

प्रहरीले ती महिलालाई चिन्नुहुने अभिभावक, आफन्तजन, साथीभाइ वा छरछिमेकहरूलाई तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको सम्पर्क नम्बरहरू १००, ९८५२६७०६०९, ९८५२६९००३१ र ९८५२६९०२३२ मा खबर गरिदिन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप