अमेरिकी लडाकु विमान खसाल्न इरानले चिनियाँ मिसाइल प्रयोग गरेको दाबी
सारांश
- गत अप्रिलमा इरानले अमेरिकी एफ-१५ ई स्ट्राइक इगल लडाकु विमान खसाल्न चीनमा निर्मित काँधमा बोक्न सकिने मिसाइल प्रयोग गरेको दाबी गरिएको छ ।
- यो दाबी तीन स्रोतलाई उद्धृत गर्दै एनबीसी न्युजले प्रकाशित गरेको रिपोर्टमा आधारित छ, यद्यपि अमेरिकी अधिकारीहरूले अनुसन्धान जारी रहेको बताएका छन् ।
- चीनले भने यो आरोप अस्वीकार गर्दै सैन्य सामग्री निर्यात गर्दा कानुनी प्रक्रियाको पालना गर्ने जनाएको छ ।
वासिङ्टन डीसी । गत अप्रिलमा इरानको दक्षिण पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ–१५ ई स्ट्राइक इगल लडाकु विमानमाथि चीनमा निर्मित (काँधमा बोकेर प्रहार गर्न सकिने) मिसाइल प्रहार गरिएको दाबी गरिएकाे छ । अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजले प्रकाशित गरेको एक रिपोर्टअनुसार सो मिसाइल प्रहार गरिएको दाबी गरिएकाे हाे ।
रिपोर्टमा यो विषयमा जानकारी राख्ने तीन स्रोतलाई उद्धृत गर्दै उक्त दाबी गरिएको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष सार्वजनिक भइनसकेको बताएका छन् ।
रिपोर्टअनुसार चीनले इरानलाई लामो दूरीको प्रारम्भिक चेतावनी दिने राडार प्रणाली पनि उपलब्ध गराएको हुनसक्ने आशङ्का गरिएको छ । यो राडारले सामान्यतया पत्ता लगाउन कठिन मानिने स्टेल्थ विमानहरूलाई समेत पहिचान गर्न सक्ने बताइएको छ । उक्त राडारलाई वाईएलसी–८ बी राडार भनेर चिनिन्छ । तर यो प्रणाली युद्धका क्रममा प्रयोग गरिएको थियो वा थिएन भन्ने कुरा अझै स्पष्ट छैन ।
अमेरिकी अधिकारीहरूका अनुसार दशकौँयता अमेरिकी लडाकु विमान शत्रु पक्षको आक्रमणबाट खसालिएको यो पहिलो घटना हो । उक्त घटनामा विमानमा रहेका दुई चालक दलका सदस्य समयमै विमानबाट निस्किन सफल भएका थिए । सो घटनामा पाइलटलाई सात घण्टाभित्र उद्धार गरिएको थियो भने हतियार प्रणाली अधिकृतलाई इरानको जाग्रोस पर्वत क्षेत्रमा दुई दिनपछि सुरक्षित रूपमा उद्धार गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न चीनको सहयोग खोजिरहेको समयमा यस्तो दाबी सार्वजनिक भएको छ । यसले अमेरिका–चीन सम्बन्धमा थप जटिलता ल्याउन सक्ने विश्लेषण गरिएको छ । यसअघि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरान संकट समाधानका लागि चीनले भूमिका खेल्नुपर्ने बताएका थिए । तर उनले अमेरिका चीनको सहयोगमा निर्भर नरहेको स्पष्ट पारेका थिए ।
के भन्छ चीन ?
चीनले भने यो आरोप अस्वीकार गरेको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ताले चीनले सैन्य सामग्री निर्यात गर्दा कानुनी प्रक्रिया र अन्तर्राष्ट्रिय दायित्वको कडाइका साथ पालना गर्ने बताउँदै आरोपहरूलाई आधारहीन भनेका छन् । यसअघि पनि अमेरिकाले चीनमाथि इरानलाई उपग्रह तस्बिर तथा अन्य प्राविधिक सहायता उपलब्ध गराएको आरोप लगाएको थियो । चीनले ती आरोपहरू पनि अस्वीकार गरेको थियो ।
विशेषज्ञहरूका अनुसार चीनले सन् १९८० र १९९० को दशकमा इरानलाई ठुलो मात्रामा हतियार बिक्री गरेको थियो । त्यसमा ब्यालिस्टिक मिसाइल, युद्धक विमान, ट्याङ्क तथा अन्य सैन्य उपकरणहरू समावेश थिए । तर सन् २००६ मा इरानमाथि संयुक्त राष्ट्रसङ्घको हतियार प्रतिबन्ध लागेपछि चीनले प्रत्यक्ष हतियार बिक्री घटाएको थियो ।
त्यसपछि भने उसले इरानलाई दोहोरो प्रयोग (९नागरिक तथा सैन्य दुवै प्रयोजनका) प्रविधि तथा उपकरणहरू उपलब्ध गराउँदै आएको बताइन्छ । हालसम्म अमेरिकी सरकारले पनि इरानले प्रयोग गरेको मिसाइल चिनियाँ नै थियो भन्ने आधिकारिक पुष्टि गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण