रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
- भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ २२ गतेसम्म चल्ने यस भ्रमणमा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् ।
- भ्रमण टोलीमा रास्वपाका सह-महामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने भएका हुन् ।
रास्वपाका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे आधिकारिक जानकारी दिएका हुन् । भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ ।
उनले भाजपाका शीर्ष नेतृत्वसँग द्विपक्षीय हित र राजनीतिक विषयमा छलफल गर्नेछन् । राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै सिलसिलामा उनले अयोध्याको व्यक्तिगत भ्रमण समेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यस भ्रमणका लागि सभापति लामिछानेको नेतृत्वमा पाँच सदस्यीय औपचारिक प्रतिनिधिमण्डल भारत जान लागेको हो । भ्रमण टोलीमा रास्वपाका सह-महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन् ।
सभापति लामिछानेको उच्च स्तरीय भेटघाट र कार्यक्रमहरूलाई व्यवस्थित बनाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको रास्वपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण