मिथिलाको अमूल्य धार्मिक सम्पदा गेरुका नदी : महिमा अपार, व्यवस्थापन कमजोर
सारांश
- मिथिलाको गेरुका नदीमा पुरुषोत्तम मासका अवसरमा आस्था र जनविश्वासका कारण लाखौँ श्रद्धालुको जमघट हुने गर्छ।
- माता सीताले आफ्नी सखी गेरुकालाई आशीर्वाद दिँदै यस नदीमा स्नान गर्नेहरूको पाप क्षय हुने र मनोकामना पूरा हुने बताएको जनविश्वास छ।
- धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गेरुका नदीको संरक्षण र व्यवस्थापन भने कमजोर रहेको छ।
जनकपुरधाम । ‘जे भै दिल्ली ले लेवै झिल्ली तोही खै गे।
जे बै गेरूका लेवै लेडका तोही खेलैय गे।।’
बिहानको मधुरो उज्यालोसँगै यो लोकगीत गुनगुनाउँदै श्रद्धालुहरू गेरुका नदीतर्फ लम्किरहेका छन्। कसैको हातमा फूल र प्रसाद छ भने कोही परिवारका सदस्यसँगै नदी किनार पुग्दै छन्। महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ४, खुट्टा पिपराडीस्थित गेरुका नदी किनारमा पुरुषोत्तम मास लागेसँगै आस्था र जनविश्वासको ठूलो जमघट देखिएको छ।
मिथिला सभ्यता केवल जनकपुरधाम, जानकी मन्दिर वा सीतारामको कथाले मात्र पूर्ण हुँदैन। यहाँका नदी, पोखरी, धार्मिक परम्परा र मेलाहरूले पनि युगौँयुग पुरानो इतिहास बोकेका छन्। यिनै ऐतिहासिक तथा धार्मिक परम्परामध्ये गेरुका मेला अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
बिहानको पहिलो किरणसँगै गेरुकाको घाटमा श्रद्धालुको चहलपहल बढ्न थाल्छ। हातमा पूजा सामग्री बोकेका महिला भक्तजन गीत गाउँदै स्नानका लागि नदीतर्फ उन्मुख हुन्छन्। पुरुषोत्तम मासको अवसरमा यहाँ दैनिक सयौँ, आइतबार र मङ्गलबार हजारौँ तथा महिनाभरिमा लाखौँ श्रद्धालु पुग्ने गरेका छन्। यसले गेरुका स्नानलाई धार्मिक आस्था र परम्पराको केन्द्र बनाएको छ।
गेरुका नदीसँग जोडिएको जनविश्वास पनि निकै बलियो छ। सन्तान नहुनेहरूले यहाँ भाकल गरे मनोकामना पूरा हुने विश्वास रहिआएको छ।
संस्कृतिविद् परमेश्वर कापडीका अनुसार मिथिलामा १५ वटा नदी छन्, जसलाई सीताका सखीका रूपमा मानिन्छ। कापडी भन्छन्, ‘कोशी, कमला, यमुना, व्युत्मती, जलाध, गेरुका, दूधमती, ब्याघबती, गिरिजा, मण्डना, इच्छावती, लक्ष्मणा, बागमती, गण्डकी र नारायणी ती नदी हुन्।’
माता सीताले विवाहका बेला गौरी पूजन गरेर गेरुका नदीमा पूजा सामग्री विसर्जन गर्नुभएको थियो। अहिले पनि गौरी पूजन गरी नदीमा विसर्जन गर्ने परम्परा जीवित छ। कापडीका अनुसार एक समय माता सीताले आफ्नी सखी गेरुकालाई आशीर्वाद दिँदै भनेकी थिइन्, ‘अधिक मास अर्थात् पुरुषोत्तम मासमा तिम्रो महिमाको गुणगान हुनेछ, यस नदीमा स्नान गर्नेहरूको पाप क्षय हुनेछ र मनोकामना पूरा हुनेछ।’
महोत्तरी र धनुषाको सीमाक्षेत्रमा अवस्थित गेरुका नदी र बिघी नदीको संगमस्थल निकै परिचित छ। पुरुषोत्तम मासमा भारतको राजगिर र प्रयागराजजस्तै यहाँ पनि ठूलो भीड लाग्ने गर्छ। नेपाल र भारतका विभिन्न स्थानबाट महिनाभरिमा लाखौँ श्रद्धालु स्नानका लागि यहाँ पुग्ने गर्छन्।
गेरुका नदी किनारमा लाग्ने यो मेला केवल धार्मिक जमघट मात्र नभएर मिथिलाको सांस्कृतिक एकता र जनआस्थाको प्रतीकका रूपमा पनि परिचित छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोशन दासका अनुसार सीतारामको प्रतीकलाई गेरुका नदी किनारमा ल्याई स्नान गराएपछि शाही स्नानसहित मेला सुरु हुन्छ।
दास भन्छन्, ‘यो पवित्र नदी गङ्गाभन्दा कम छैन, यहाँ स्नान गर्दा पाप क्षय हुन्छ र मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ।’ त्रेतायुगदेखि नै यहाँ स्नान गर्ने परम्परा चल्दै आएको छ। पुरुषोत्तम मासमा विशेषगरी आइतबार र मङ्गलबार स्नानको महत्त्व बढी मानिन्छ। प्राचीन समयमा गेरुका नदीको पानी हल्का गेरुवा रङको देखिने भएकाले यसको नाम ‘गेरुका’ रहन गएको मानिन्छ। मिथिला संस्कृतिमा नदीलाई केवल पानीको स्रोतका रूपमा नभई देवीस्वरूप मान्ने परम्परा छ। त्यसैले गेरुका नदीलाई आज पनि पवित्र तीर्थस्थलका रूपमा सम्मान गरिन्छ।
सर्लाहीको सलमपुरबाट आएकी श्रद्धालु मन्तुरिया देवी भन्छिन्, ‘मलाई नाति थिएन, मैले यहाँ भाकल गरेकी थिएँ। उहाँको कृपाले मलाई नाति भयो। अहिले बुहारी र नातिलाई लिएर स्नान गर्न आएकी छु। भाकल पूरा भएपछि बाख्राको पाठीको कान काटेर चढाउने छु।’ यस मन्दिरका पुजारी मल्लाह समुदायबाट हुने गरेका छन्।
पुरुषोत्तम मासमा आयोजना हुने गेरुका मेलाको धार्मिक महत्त्व अझ गहिरो मानिन्छ। हिन्दु धर्मग्रन्थअनुसार पुरुषोत्तम मास भगवान् विष्णुलाई अति प्रिय महिना हो। भगवान् विष्णुले मलमासलाई आफ्नो नाम ‘पुरुषोत्तम’ प्रदान गर्नुभएकाले यस महिनालाई पुरुषोत्तम मास भनिएको जानकारहरू बताउँछन्।
सन्त रामजी दास भन्छन्, ‘स्वयं सीतारामले गेरुका नदीमा स्नान गर्नुभएको थियो। सबै देवीदेवता पनि यस नदीमा स्नान गर्न आउने विश्वासका कारण श्रद्धालुहरू यहाँ आउने गर्छन्।’
पण्डित नवीनकुमार झा भन्छन्, ‘पुरुषोत्तम मासमा पवित्र नदीमा स्नान, दान र पूजापाठको विशेष महत्त्व छ। मिथिलामा गेरुका स्नानलाई प्रयागराज र राजगिरजत्तिकै महत्त्वपूर्ण मानिन्छ। यहाँ स्नान गरी गौदान तथा अन्य दान गरे विशेष पुण्य प्राप्त हुने विश्वास छ।’
धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा गेरुका नदीमा स्नान गरी पूजाआराधना गरे पाप नाश हुने, रोगव्याधिबाट मुक्ति मिल्ने र पारिवारिक सुखशान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। महिनाभरि यहाँ अखण्ड कीर्तन, रामनाम संकीर्तन र पूजापाठ सञ्चालन हुन्छ। स्नान गरेर जलेबी (जिल्लेबी) कोसेलीका रूपमा घर लैजाने चलन पनि यहाँको विशेषता बनेको छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गेरुका नदी अझै व्यवस्थित हुन सकेको छैन। विगतमा डुबेर मृत्यु हुने घटना हुँदै आएका छन् भने यस वर्ष पनि डुबेर मृत्यु भएका घटना सार्वजनिक भएका छन्। स्थानीय जगदीश यादव भन्छन्, ‘नदीको उचित व्यवस्थापन, सुरक्षित घाट र सुरक्षा व्यवस्था आवश्यक छ। बेलाबेलामा डुबान र दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको छ, त्यसैले स्थानीय सरकारले यसलाई व्यवस्थित गर्नुपर्छ।’
काठमाडौँबाट पहिलोपटक गेरुका स्नानका लागि आएकी संस्कृतिविद् रुपा झा भन्छिन्, ‘यहाँको भीड भारतको राजगिरभन्दा कम छैन तर सुरक्षा व्यवस्था कमजोर देखियो। यसको महिमा र इतिहासको प्रचारप्रसार गर्न सके भारतबाट पनि धार्मिक पर्यटक आउने सम्भावना छ। यो मिथिलाको मोक्ष नदीका रूपमा चिनिन्छ। पुरुषोत्तम महिनामा यहाँ स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ। यहाँ गौदान, सुवर्णदान र सात प्रकारका अन्नदान गर्ने परम्परा पनि रहेको छ।’
लोहरपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादवले गेरुका नदी संरक्षण र व्यवस्थापनका लागि समय–समयमा बजेट छुट्याइएको बताए। उनी भन्छन्, ‘स्थानीय सरकारको प्रयास मात्र पर्याप्त नहुने भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले मिलेर यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ। पुरुषोत्तम मासमा लाखौँ श्रद्धालु स्नानका लागि यहाँ आउने गर्छन्। बिहार, उत्तर प्रदेश, मधेस प्रदेशलगायतका स्थानबाट भक्तजनको ठूलो भीड लाग्छ। यो मिथिलाको पापमोचनी नदी हो, यहाँ साधुसन्तहरू आउनुहुन्छ र हामी व्यवस्थापनको प्रयास गरिरहेका छौँ।’
आस्था, इतिहास, जनविश्वास र मिथिलाको सांस्कृतिक पहिचान बोकेको गेरुका मेला आज पनि लाखौँ श्रद्धालुको केन्द्र बनेको छ। तर यसको संरक्षण, सुरक्षित व्यवस्थापन र प्रभावकारी प्रचारप्रसारमा सम्बन्धित निकायले ध्यान दिन सके मिथिलाको यो अमूल्य धार्मिक सम्पदा अझ उजागर हुने विश्वास स्थानीयवासीको छ। मिथिला क्षेत्रका ७२ कुण्ड, बाउन्न कुटी र नदीहरूको आफ्नै महत्त्व छ। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेका बेला गेरुका नदीलगायतका सम्पदाको संरक्षण र संवर्द्धनले उक्त अभियानलाई थप सहयोग पुर्याउने देखिन्छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण