आरोग्यताका लागि विश्वको गन्तव्य मुलुक नेपाल
सारांश
- योग र ध्यानलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरी स्वस्थ र नैतिक समाज निर्माण गर्ने उद्देश्यले लुम्बिनीमा पाँच बुँदे सङ्कल्प–पत्र जारी भएको थियो ।
- सरकारले २०८१/०८२ को बजेटमार्फत योग, ध्यान र आरोग्य सेवा विस्तारलाई सम्बोधन गरेको छ ।
- नेपाललाई विश्व आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्ने 'देवभूमि नेपाल' राष्ट्रिय अभियान सञ्चालन गरिनेछ ।
कुराको सुरुवात ०८० चैत १७ देखि २३ गतेसम्म लुम्बिनीमा जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित विराट चक्र विज्ञान कार्यक्रमबाट गरौँ । यस कार्यक्रममा ६ हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । देशभर योग र ध्यान सिकाउन आ–आफ्नै तरिकाले वा व्यक्तिगत चासोले प्रतिष्ठान र केन्द्रहरू खुलेका छन् । योग शिक्षा व्यवस्थित तरिकाले, बृहत्तर रूपमा आम जनता माझ पुर्याउन राज्यले नै पहल गर्नुपर्ने हुन्छ । यही अवधारणालाई कार्यरूपमा परिणत गर्ने वातावरण निर्माण गर्न कार्यक्रमको अन्तिम दिन अर्थात् जेठ २४ गते पाँच बुँदे लुम्बिनी सङ्कल्प–पत्र जारी भएको थियो ।
उक्त सङ्कल्प–पत्रमा ‘सार्वजनिक प्रशासन, शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक विकासको क्षेत्रमा योग–ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गरी स्वस्थ र नैतिकवान् समाज निर्माण गर्न संघ, प्रदेश र स्थानीय स्तरमा योग र ध्यानको स्वजागरण अभियान सञ्चालन गरिनेछ । योग र ध्यानको सन्देश विश्वभर फैलाउने गरी योग–ध्यान पर्यटन प्रवर्धन गरिनेछ’ भनी उल्लेख थियो ।
विषयवस्तु
त्यसपछि सरकारले २०८१/०८२ को वार्षिक बजेटमार्फत उक्त कुरालाई सम्बोधन गर्यो । जसमा ‘नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा स्वच्छ र सन्तुलित आहारमा जोड दिई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गरिनेछ । खुला योग तथा व्यायामशाला निर्माण तथा उपकरण खरिदका लागि बजेट व्यवस्था गर्ने’ भनियो ।
यसपछि सरकारी स्तरबाट केही कामहरू कार्यान्वयनमा आए । यसबिचमा जीवन विज्ञान प्रतिष्ठानबाट देशमा सरकारी कर्मचारी, नेपाली सेना र प्रहरी संगठन, निजी क्षेत्र लगायत सर्वसाधारणका माझ र विदेशमा समेत विभिन्न कार्यक्रमहरू निरन्तर भई नै रह्यो । घर–घरमा अर्थात् टोल–टोलमा योग, व्यायाम, प्राणायाम र ध्यान पुर्याउन प्रशिक्षकहरू उत्पादन भइरहे ।
यतिबेलासम्म आइपुग्दा नेपालको भूमिमा उब्जेर धेरै समयसम्म लुप्त अवस्थामा रहेको योग ध्यानका माध्यमबाट व्यक्तिगत आरोग्यता र आरोग्य पर्यटनको अवधारणालाई कार्यरूपमा परिणत गर्ने काम अगाडि बढेको छ । यो सन्देश विश्व आरोग्य दिवस र संयुक्त राष्ट्रसंघमा भएको गुरुदेवको सम्बोधन एवं ध्यानको कार्यक्रम मार्फत विश्वभर पुगेको छ ।
आरोग्यता र आरोग्य पर्यटक
आरोग्य भनेको शरीर स्वस्थ हुनु मात्र होइन । पूर्ण आरोग्य अर्थात् खुसी र आनन्दित हुनका लागि व्यक्तिको मन, मस्तिक, भावना, चेतना सबै स्वस्थ्य हुनुपर्छ । भौतिक सम्पत्तिले सुख दिन्छ भने पूर्ण आरोग्ताले खुसी, शान्ति, आनन्द दिन्छ । यसको चाहना हामी नेपालीमा मात्र हैन भौतिक उन्नतिको चुलीमा पुगेका मानिसमा झन् बढी देखिन्छ । कहाँ गएर, कसरी शान्तिको श्वास फेर्न सकिन्छ र त्यो विधा सिक्न पाइने स्थान कहाँ हो त्यसको खोजीमा छन् मानिसहरू । यही खोजीमा हिड्ने मानिस हुन आरोग्य पर्यटक ।
यसका लागि नेपाल ऋषि मुनिहरूको ज्ञान र अनुसन्धानात्मक प्रयासले उदाएको प्राचीनतम योग ध्यान र ज्ञानको भूमि हो । यसका लागि राष्ट्रले लिने उपयुक्त र दीगो नीतिका साथ गहन भूमिका खेल्नसक्ने भरपूर सम्भावना भएको देश हो नेपाल । अथाह प्राकृतिक, सामाजिक, सांकृतिक र मौलिक ज्ञानको सम्भावनालाई योग ध्यानका माध्यमले पूर्णता दिनसक्ने देश हो नेपाल । यस सुन्दर देशका जडीबुटी र उपचार पद्धतिको ज्ञानले सम्पूर्ण विश्वको दीर्घकालीन हित गर्नसक्ने सम्भावना बोकेको देश हो नेपाल । छोटकरीमा भन्नुपर्दा आरोग्य पर्यटकको गन्तव्य स्थल हो नेपाल ।
पूर्ण आरोग्यका साथ शान्तिको खोजीमा विदेशी पर्यटक नेपाल आउने छन् । आफू आरोग्य र शान्त बन्दै आरोग्यताको संवाहक नेपाल हो भन्ने सन्देश आआफ्ना देशमा पुर्याउने छन् । योग ध्यान एवं मौलिक खानपान र बसाइको माध्यमद्वारा पर्यटकले जीवनको सार्थकताको अनुभूति गर्न पाउनेछन् । यसरी विश्व मानवलाई शान्तिको श्वास फेर्न सघाउन सक्ने देश बन्दै छ नेपाल ।
कार्यक्रममा दृढता र निरन्तरता
०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन पश्चात् प्राप्त स्पष्ट जनादेशपछि नयाँ सरकार बनेको छ । चालु आवका लागि ०८३ बैशाख २८ गते नेपाल सरकारको नीति तथा कार्यक्रम आएको छ । देशको सुशासन र भौतिक विकासका जोड दिएको दिनुका साथै आरोग्य पर्यटनका लागि विशेष जोड दिएको छ । जसका धेरै बुँदाहरूले आरोग्य पर्यटनलाई सोझोरूपले बढवा दिन सकेका छन् भने अधिकांश बुँदाले घुमाउरो तरिकाले योगदान गर्ने प्रकृतिका देखिन्छ ।
खास गरेर नीति तथा कार्यक्रमको बुँदा नं ३८मा नेपाललाई विश्व आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने छ । धार्मिक सांस्कृतिक, आरोग्य अध्ययन, चलचित्र, आध्यात्मिक तथा पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिनेछ । आध्यात्मिक, तीर्थ कूटनीति मार्फत पशुपतिनाथ लुम्बिनी–जनकपूर धाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिनेछ भनिएको छ ।
यसैगरी बुँदा नं ३९ मा समुदायद्वारा सञ्चालित होमस्टे स्थानीय कला संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रवर्धन गरिनेछ । जसद्वारा सन्चालिन हेमस्टेलाई ब्रान्डिङ गर्दै क्रियाकलापलाई जीवित सङ्ग्रहालयको रूपमा विकास गर्ने नीति आएको छ ।
माथिका बुँदाका कार्यक्रमले पूर्वीय संस्कृतिको गहन र सनातन ज्ञानलाई प्रयोग र संवर्द्धन गर्दै स्वदेश तथा विदेशको चौतर्फी विकासका लागि मार्ग प्रशस्त गर्ने बाटो देखाएको छ । आरोग्य पर्यटकले केवल काठमाडौँमा चुपचाप ध्यान गरेर मात्र फर्कँदैनन् । यहाँका धार्मिक, आध्यात्मिक तीर्थस्थल र नेपालको मौलिक संस्कृति, भौगोलिक अवस्थिति अवलोकन भ्रमण गर्नेछन् । यहाँका अर्ग्यानिक वस्तुको उपभोग र खरिद गर्नेछन् । यस्ता पर्यटकले देशको आर्थिक अवस्थालाई चलायमान बनाउन सघाउ पुर्याउने छन् ।
यसैगरी, नेपालमा आरोग्य पर्यटन भित्राउन देशमा सोही अनुरूपको सेवा प्रदान गर्न विषय विज्ञको जरुरत पर्ने कुरालाई मध्यनजर गरिएको छ । यसका लागि बुँदा नं ५९ आरोग्यताका लागि स्वस्थ्य जनशक्ति विकास गर्न आयुर्वेद, प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गरिने प्रतिबद्धता देखिएको छ सरकारबाट ।
हिमालबाट बहने नदीका कारण नेपाल विश्वमा जलस्रोतको धनी कहलाइएको छ । हिमालयन ओरिजन सर्टिफाइड वाटर अवधारणा मार्फत नेपाली जलको ब्रान्डिङ गरिने कुरा सराहनीय मानिएको छ । जोसुकैका लागि पनि सरसफाइ, सुन्दरता र शुद्धता नै झलक्क देखिने मुहार हो । यसका लागि बुँदा नं ६०, ६१, ६२ मा सबै नागरिकलाई स्वच्छ पिउने पानी फोहोर तथा ढल व्यवस्थापन नदीनालाको स्वच्छता कायम गर्न तिनै तहका सरकारको समन्वयात्मक भूमिका रहने कुरा स्पष्ट गरिएको छ ।
इमानदार प्रयासमा विश्वास गरौँ
कागजमा राम्रा कुरा यसअघि पनि नआएका भने होइनन् । तर परिणामले भने सान्त्वना दिन सकेको छैन । पछिल्ला दिनमा नेपाली जनताले प्रभावकारी नेतृत्वको आवश्यकता महसुस गरेका छन् । ०८२ भाद्रको आन्दोलन यसकै फल र अहिलेको भारी मतले निर्वाचित सरकार यसकै परिणाम स्वरूप आएको हो । चुनावमा जितिँदैमा नेतृत्व क्षमता हुन्छ भन्ने हुँदैन । यसका लागि देशको अवस्था कति बुझ्यो कति काम इमानदारीपूर्वक गर्यो यो प्रमुख कुरा हो ।
राजनैतिक नेतृत्व लगायत सबै नागरिकमा काम गर्न चाहिने मूल तत्त्व भनेको आत्म ऊर्जाको व्यवस्थापन हो । अहिलेको सरकारको सुरुवातका कदम हेर्दा सरकारमा इमानदारिताको ऊर्जा होलाकी भन्ने आसा आम नेपालीमा जागेको छ ।
विश्वले कृषि क्रान्ति हुँदै, औद्योगिक क्रान्ति, सूचना प्रविधिको क्रान्ति र केही वर्ष अघिदेखि मात्र कृत्रिम बौद्धिकताको उपयोग गर्दै छ । जति सुविधा सम्पन्न र भौतिक सम्पत्तिले पुरिए पनि निद्रा लाग्न मनमा शान्ति नै चाहिन्छ । त्यसैले विश्व मानवलाई अब चैतन्यताको क्रान्ति अपरिहार्य भएको छ ।
यही आवश्यकतालाई पूर्ति गर्न नेपाल आरोग्यताको संवाहक र विश्वशान्तिको गन्तव्य मुलुक बन्ने बाटोमा लागेको छ । आरोग्यताले भरिएको सुन्दरता, हावापानी, ऊर्जाले भरिएको माटो, नदीनाला लगायत मौलिक सांस्कृतिक र अन्य सेवाहरू कसैले कतै ओसारपसार गर्न सकिने हैन । नेपालमा नै आएर हेर्न, देख्न, सुन्न र अनुभव गर्नुपर्ने हुन्छ । यी सबैका साथ योग ध्यान मार्फत चैन्यताको उजागरले आरोग्य पर्यटनको उच्चतम सम्भावना नेपालमा मात्र उपलब्ध छ ।
वास्तवमा, नेपालमा भएको प्राकृतिक वैभवता, सनातन ज्ञान र सीपको उपयोगले देशमा सम्बृद्धिको सेतु बन्न आरोग्य पर्यटन व्यवसाय हुन जाँदैछ । यसमा सबै मन्त्रालयको अग्रसरता, सरकार र निजीक्षेत्रको लगानी आवश्यक हुने त छँदैछ । योग ध्यानका लागि खुलेका संस्थाहरूबाट यसमा अथक प्रयास भइरहेको छ र हुनेछ । तत्पश्चात विश्वमा नेपालीको पहिचान अदक्ष श्रमिक उत्पादन गर्ने देशबाट रूपान्तरित भएर योगीको देशमा पुनर्स्थापित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण