आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मापसेमा जरिवाना कडा बनाउनुपर्छ : पूर्वाधार सचिव सिग्देल

सोमबार, १८ जेठ २०८३, ११ : ३०
सोमबार, १८ जेठ २०८३

सारांश

  • पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले मादक पदार्थ सेवन गरेर सवारी चलाउने विरुद्ध राज्य कडा रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।
  • सचिव सिग्देलले मापसेविरुद्ध जरिवाना कडा बनाउनुपर्ने र सडक सुरक्षामा प्रहरीलाई छुट्टै बजेट व्यवस्था गरिएको बताए ।
  • प्रजिअ पौडेलले मापसे र लापसे गरेर सवारी चलाउने विरुद्ध हतियार चलाए सरहको कसुरमा कारबाही गर्नुपर्ने बताए ।

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरू विरुद्ध राज्य कडा रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सोमबार रामशाहपथमा आयोजना गरेको ‘इन्टिग्रेटेड ट्राफिक मेनेजमेन्ट सिस्टम’ कार्यक्रमको उद्घाटन गर्दै सचिव सिग्देलले भने, ‘मापसेमा शून्य सहनशीलता र कार्यान्वयन कडा हुनुपर्छ ।’

मापसेविरुद्ध जरिवाना पनि कडा बनाउनुपर्ने सचिव सिग्देलले बताए । अहिले ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनेलाई न्यूनतम ५ सयदेखि १५ सयसम्म जरिवाना लिँदै आएको छ । मापसे गरेको भेटिए सचेतना कक्षा पनि लिनुपर्छ । 

सडक सुरक्षा नीति तयार हुँदै गरेको उल्लेख गर्दै सचिव सिग्देलले त्यसको आधारमा कानुन तयार गरिने बताए । उनले भने, ‘प्रहरीलाई पनि सडक सुरक्षामा छुट्टै बजेट व्यवस्था गरेका छौं ।’

उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले अहिलेको सडक सुरक्षा प्रणाली ‘आउटडेटेड’ भइसकेको बताए । उनले भने, ‘अहिले पनि हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्ने कुरालाई हामीले डिपार्चर गर्नुपर्छ ।’ सडकमा लापरबाहीपूर्वक सवारी साधन चलानेहरुलाई लिइने जरिवानाको दर कडा बनाउनुपर्ने एआईजी कार्कीले बताए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मापसे, नो हर्न तथा ठमेल र पशुपति मन्दिर क्षेत्रमा ‘भेहिकल फ्री’ जोन बनाउने काम उत्कृष्ट सुरुवात भएको बताए । उनले भने, ‘माइक्रो र टेम्पोमा उभिएर यात्रा गर्न रोक लगाउनुपर्छ ।’ त्यसमा ट्राफिक प्रहरी कठोर हुनुपर्ने उनले बताए ।

मापसे र लापसे गरेर सवारी चलाउने विरुद्ध हतियार चलाए सरहको कसुरमा कारबाही गर्नुपर्ने प्रजिअ पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप