आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद भुजेल भन्छिन्– ‘प्रधानमन्त्री ज्यू तपाईँ गीत गाएर आउनुभयो, हामी इतिहास बनाएर आयौँ’

सोमबार, १८ जेठ २०८३, १७ : ३८
सोमबार, १८ जेठ २०८३

सारांश

  • बागमती प्रदेश सभा सदस्य सुस्पा भुजेलले प्रधानमन्त्री बालेन्द्र शाहले मार्ग प्रशस्त गर्नुपर्ने बताएकी छिन्।
  • सांसद भुजेलले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिले नेपाली जनताको स्वाभिमानमा चोट पुर्याएको बताइन्।
  • उनले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा जनताको भावनासँग जोडिनुपर्नेमा जोड दिइन्।

मकवानपुर । बागमती प्रदेश सभा सदस्य सुस्पा भुजेलले प्रधानमन्त्री बालेन्द्र शाहले मार्ग प्रशस्त गर्नुपर्ने बताएकी छिन्। उनले सीमा विवादबारे आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै मार्ग प्रशस्त गर्न सुझाव दिएकी हुन्।

सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भुजेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भनाइले नेपाली जनताको स्वाभिमानमा गहिरो चोट पुर्‍याएको बताइन्। 

प्रधानमन्त्रीले संसद् र सिङ्गो देशलाई आफ्नो अभिव्यक्तिको लिखित जवाफ दिनुपर्ने माग गर्दै पद त्याग्नु पर्ने उनको भनाइ छ।

‘प्रधानमन्त्री ज्यू, तपाईँ गीत गाएर आउनुभयो, हामी इतिहास बनाएर आयौँ। तपाईँ सङ्गीतको मीठो धुन सुनेर आउनुभयो, हामी न्यायका लागि बम, बारुद र बन्दुकका आवाज सुनेर आयौँ,’ उनले भनिन् ।

सांसद भुजेलले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विभिन्न प्रस्ताव र सुझावहरू समेत पेस गरिन् । उनले सरकारका नीतिहरू केवल कागजमा मात्र सीमित नभई जनताको भावनासँग जोडिनुपर्नेमा जोड दिइन् । 

कुनै पनि प्रदेशवासी बेरोजगार बस्न नपर्ने, उपचारको अभावमा मृत्युवरण गर्न नपर्ने र कोही पनि शिक्षाको अधिकारबाट वञ्चित हुन नपर्ने कुरालाई समृद्ध बागमतीको मुख्य लक्ष्य बनाउनुपर्नेमा उनले जोड दिइन् ।

उनका अनुसार मुख्यमन्त्री कार्यालयले नै बजेट विनियोजन गर्ने र आफैँले अनुगमन गर्ने परिपाटी प्रभावकारी छैन । सम्बन्धित मन्त्रालयका विषयगत समितिहरूलाई दक्ष र सक्रिय बनाएर अनुगमनको जिम्मा दिनुपर्ने उनको भनाइ छ।

प्रदेश सरकारले संविधानले दिएका २१ वटा एकल अधिकारहरू अझै पूर्ण रूपमा प्रयोग गर्न नसकेकाले पहिले आफ्नै अधिकार कार्यान्वयनमा ध्यान दिन उनले सरकारलाई आग्रह गरिन् ।

सीप विकास र रोजगारीका कार्यक्रममा कति सङ्ख्यामा रोजगारी सिर्जना गर्ने हो भन्ने स्पष्ट लक्ष्य र गन्तव्य तोक्नुपर्ने उनको भनाइ छ । प्रदेशमा नदीजन्य पदार्थको राजस्व सङ्कलनमा झन्झटिलो प्रक्रियालाई व्यवस्थित गरी राजस्वको दायरा बढाउनु पर्ने उनले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप