इबोलाको नयाँ प्रजातिविरुद्ध तीनवटा खोपको विकास तीव्र
सारांश
- इबोलाको दुर्लभ प्रजातिले महामारीको रूप लिएपछि वैज्ञानिकहरूले तीनवटा खोप विकास गरिरहेका छन्।
- यो प्रजातिविरुद्ध हालसम्म कुनै स्वीकृत खोप बनेको छैन र यो सन् २०१४-१६ को पश्चिम अफ्रिका प्रकोप जत्तिकै भयानक हुन सक्ने डर छ।
- अक्सफोर्ड विश्वविद्यालय, मोडेर्ना र आईएभीआईले फरक प्रविधि प्रयोग गरी बुन्डिबुग्यो प्रजातिविरुद्ध खोप बनाइरहेका छन्।
लण्डन । अफ्रिकी मुलुक कंगो र आसपासका क्षेत्रमा फैलिएको इबोला भाइरसको एउटा दूर्लभ प्रजातिले महामारीको रूप लिन थालेपछि वैज्ञानिकहरू यसको नियन्त्रणका लागि खोप निर्माणको तीव्र दौडमा जुटेका छन्।
अहिलेसम्म झण्डै २५० जनाको ज्यान लिइसकेको यो प्रजातिविरुद्ध हाल विश्वका तीनवटा ठूला वैज्ञानिक समूहहरूले छुट्टाछुट्टै खोप विकास गरिरहेका छन्। महामारीको पछिल्लो अवस्थालाई हेरेर भ्याक्सिन विकासमा संलग्न अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन पहल (आईएभीआई) ले यो प्रकोप इतिहासकै सबैभन्दा खराब हुनसक्ने चेतावनी दिएको छ।
अहिले डीआर कंगोमा इबोलाका १ हजारभन्दा बढी शंकास्पद बिरामी फेला परिसकेका छन् भने छिमेकी देश युगान्डामा पनि नौ जनामा यसको संक्रमण पुष्टि भएको छ। यो नयाँ प्रकोप सीमित स्वास्थ्य पूर्वाधार भएको द्वन्द्वग्रस्त क्षेत्रमा फैलिएपछि मात्र पहिचान भएकाले स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्।
यो महामारी सन् २०१४ देखि २०१६ को बिचमा पश्चिम अफ्रिकामा फैलिएको इतिहासकै सबैभन्दा ठुलो इबोला प्रकोप जत्तिकै भयानक हुन सक्ने डर पैदा भएको छ। त्यतिबेला झण्डै २९ हजार मानिस संक्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो।
महामारीको संवेदनशीलतालाई बुझेर खोप अनुसन्धानका लागि आर्थिक सहयोग उपलब्ध गराइरहेको संस्था कोअलिसेन् फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स (सेपी) ले अहिलेको अवस्थामा ‘प्रत्येक दिनको ठुलो महत्त्व रहने’ बताएको छ। आईएभीआईका प्रमुख डा. मार्क फेनबर्गले अवस्थाको गम्भीरता औंल्याउँदै भनेका छन्, ‘मलाई लाग्छ यो प्रकोप विगतको जस्तै वा त्योभन्दा पनि बढी गम्भीर बन्ने खतरा स्पष्ट देखिन्छ, त्यसैले खोप र अन्य नियन्त्रणका उपायहरू विकास गर्नु अहिलेको मुख्य प्राथमिकता हो।’
यसैगरी चिकित्सा क्षेत्रको परोपकारी संस्था मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले पनि स्थिति अत्यन्तै डरलाग्दो भएको र यति छोटो समयमा यसअघि कहिल्यै पनि यति धेरै बिरामी नदेखिएको भन्दै चिन्ता व्यक्त गरेको छ।
इबोला भाइरसका कुल ६ वटा प्रजातिहरू छन्, जसमध्ये तीनवटाले मात्र महामारी फैलाउने क्षमता राख्छन्। प्रत्येक प्रजातिका लागि छुट्टाछुट्टै खोपको आवश्यकता पर्छ। इबोलाको सबैभन्दा बढी चर्चामा आउने ‘जायरे’ प्रजातिविरुद्ध खोप उपलब्ध भए पनि अहिले फैलिएको महामारी ‘बुन्डिबुग्यो’ नामको अर्को प्रजाति हो। यो प्रजाति यसअघि संसारमा मात्र दुई पटक देखिएकाले हालसम्म यसको कुनै स्वीकृत खोप बनेको छैन।
अहिले अक्सफोर्ड विश्वविद्यालय, औषधि उत्पादक कम्पनी मोडेर्ना र आईएभीआईले यही बुन्डिबुग्यो प्रजातिविरुद्ध खोप बनाउन आफ्ना फरक-फरक प्रविधि प्रयोग गरिरहेका छन्। आईएभीआईले जायरे प्रजातिको खोपलाई नै परिमार्जन गरेर बुन्डिबुग्योविरुद्ध काम गर्ने गरी नयाँ खोप तयार पारिरहेको छ।
बाँदरहरूमा गरिएको परीक्षणमा यो खोपले प्रतिरक्षा प्रणालीलाई द्रुत रूपमा विकास गरी झण्डै शतप्रतिशत सुरक्षा दिएको पाइएको छ। डा. फेनबर्गले अहिलेसम्मको प्रमाणका आधारमा आफू परिणामप्रति आशावादी रहेको बताएका छन्। तर, यो खोपलाई क्लिनिकल ट्रायलका लागि तयार गर्न अझै सातदेखि नौ महिना लाग्ने देखिएको छ, यद्यपि टोलीले यसको समयावधि घटाउने प्रयास गरिरहेको छ।
अर्कोतर्फ, कोरोना महामारीका बेला ख्याति कमाएको फर्मास्युटिकल कम्पनी मोडेर्नाले आफ्नो प्रसिद्ध ‘एमआरएनए’ प्रविधिलाई बुन्डिबुग्यो प्रजातिविरुद्ध प्रयोग गर्ने घोषणा गरेको छ। मोडेर्नाका मुख्य कार्यकारी अधिकारी स्टेफेन बान्सेलले भनेका छन्, ‘हामी संक्रमणको प्रतिकार गर्न र यो सम्भावित खोपलाई सबैभन्दा बढी आवश्यकता भएका समुदायसम्म पुर्याउन पूर्ण वैज्ञानिक दृढता र तत्परताका साथ काम गर्नेछौँ।’
यसैगरी कोरोनाकै समयमा जीवन बचाउन सफल आफ्नै प्रविधिलाई प्रयोग गर्दै अक्सफोर्ड विश्वविद्यालयले पनि नयाँ इबोला खोप विकास गरिरहेको छ। अक्सफोर्डको खोप आगामी दुईदेखि तीन महिनाभित्रै क्लिनिकल ट्रायलका लागि तयार हुने बताइएको छ।
यी तीनवटै खोपको साझा लक्ष्य मानव शरीरलाई भाइरसको बाहिरी तहमा हुने ‘बुन्डिबुग्यो ग्लाइकोप्रोटिन’ नामक संरचना पहिचान गर्न सिकाउनु हो। तर, त्यहाँसम्म पुग्नका लागि तीनै समूहले फरक प्रविधि अपनाएका छन्। आईएभीआईले एउटा जीवित तर हानिकारक नरहेको भाइरसमा इबोलाको ग्लाइकोप्रोटिन इन्जिनियरिङ गरेर शरीरमा पठाउनेछ, जसले गर्दा शरीरको प्रतिरक्षा प्रणालीले इबोलासँग लड्न सिक्नेछ।
मोडेर्नाको एमआरएनए र अक्सफोर्डको खोपले भने शरीरभित्र एउटा जेनेटिक कोडको सानो अंश पठाउँछन्। शरीरभित्र पुगेपछि यसले बुन्डिबुग्यो ग्लाइकोप्रोटिन निर्माण गर्ने आदेश दिन्छ र शरीरले त्यसलाई बाहिरी तत्व ठानेर आक्रमण गर्न सुरु गर्छ। यी सबै प्रक्रियाले गर्दा वास्तविक इबोला संक्रमण हुनुअघि नै मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत भइसकेको हुन्छ।
प्रविधि र प्रतिरक्षा प्रणालीलाई तालिम दिने तरिकामा रहेका यी भिन्नताहरूले खोपले दिने सुरक्षाको स्तर र आवश्यक पर्ने डोजको संख्यामा भने फरक पार्न सक्छ। वैज्ञानिकहरूका अनुसार यी सबै विषयहरूको अन्तिम निक्यौल आगामी क्लिनिकल ट्रायलको नतिजापछि मात्र हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारका पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दामा तोकियो पेसी
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण