बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

विचारको संक्रमण र दिशाहीन समाजको अग्निपरीक्षा

बुधबार, २० जेठ २०८३, १९ : ००
बुधबार, २० जेठ २०८३

सारांश

  • एक्काइसौं शताब्दीको तेस्रो दशकमा मानव सभ्यता सूचना र एल्गोरिदमद्वारा सञ्चालित अभूतपूर्व मोडमा पुगेको छ, जसले पुराना संरचना भत्काएर नयाँ निर्माण गर्न सकेको छैन।
  • सूचना क्रान्तिले गम्भीर वैचारिक, सांस्कृतिक र नैतिक संकट निम्त्याएको छ, जहाँ सूचनाको बाढीले ज्ञानको खडेरी र वास्तविक संवादको कमी पैदा गरेको छ।
  • यस सूचना युगमा पुँजीवादको स्वरूप डिजिटल पुँजीवादमा बदलिएको छ, जसले डिजिटल सर्वहारा वर्ग सिर्जना गरेको छ र यसका अन्तर्विरोधहरूलाई मार्क्सवादी दृष्टिकोणबाट समाधान गर्नुपर्ने आवश्यकता छ।

एक्कासौँ शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा मानव सभ्यता एउटा अभूतपूर्व र जटिल मोडमा पुगेको छ। आजको विश्वलाई सञ्चालन गर्ने प्रमुख कडी भूगोल, सैन्य शक्ति वा परम्परागत पुँजी मात्र होइन, बरु ‘सूचना’ र त्यसलाई नियन्त्रण गर्ने ‘एल्गोरिदम’ बन्न पुगेको छ। विज्ञान र प्रविधिको विकासले मानिसलाई थुप्रै सुविधाहरू त दिएको छ, तर यसले पैदा गरेको ‘सूचना क्रान्ति’ ले आज विश्वको अर्थतन्त्र, राजनीति, संस्कृति र मानव चेतनाका बहुआयामिक पक्षहरूलाई आफ्नो कब्जामा लिँदै गइरहेको छ। यो क्रान्ति यति तीव्र छ कि यसले पुराना सामाजिक संरचनाहरूलाई भत्काइदिएको छ, तर नयाँ, भरपर्दो र न्यायसंगत संरचनाको निर्माण गर्न भने सकेको छैन।

यसको परिणामस्वरूप आज संसारभरि नै एउटा गम्भीर वैचारिक, सांस्कृतिक र नैतिक संकट देखा परेको छ। सूचनाको बाढी त छ, तर सँगै ज्ञानको खडेरी पनि पैदा भएको छ। सञ्चारका माध्यमहरू तीव्र छन्, तर मानिसहरूबीचको वास्तविक संवाद र मानवीय संवेदना हराउँदै गइरहेको स्पष्ट देखिन्छ। यो अवस्थालाई गम्भीरतापूर्वक नबुझी आजको राजनीतिक र सामाजिक आन्दोलनलाई अगाडि बढाउन असम्भवप्रायः भएको छ।

ऐतिहासिक सन्दर्भ र हरारीको ‘नेक्सस’

सूचना क्रान्तिको यो गहिराइ र यसका चुनौतीहरूलाई बुझ्नका लागि इतिहासकार युवल नोहा हरारीले आफ्नो पछिल्लो कृति ‘नेक्सस’ र ‘सेपियन्स’ मा अगाडि सारेका विचारहरू निकै सान्दर्भिक र मननीय छन्। हरारीका अनुसार, मानव जातिको इतिहास वास्तवमा सूचना नेटवर्ककै इतिहास हो। करिब ७० हजार वर्षअघिको संज्ञानात्मक क्रान्तिबाट सुरु भएको मानव भाषाको विकासले मानिसलाई साझा मिथक र कथाहरू निर्माण गर्ने क्षमता दियो, जसकै जगमा ठूला साम्राज्य र धर्महरू खडा भए। सत्रौँ शताब्दीको छापाखानाको आविष्कारले सूचनालाई विकेन्द्रित गर्‍यो, तर सँगसँगै भ्रम र अन्धविश्वास पनि फैलायो। उन्नाइसौँ र बीसौँ शताब्दीको आमसञ्चारले रेडियो र पत्रिकामार्फत सूचनालाई केन्द्रीकृत गर्‍यो, जसलाई तत्कालीन समयमा एडोल्फ हिटलर र नाजी शासकहरूले आफ्नो प्रचारबाजीका लागि चरम दुरुपयोग गरेर एउटा सिङ्गो सभ्य समाजलाई नरसंहारको बाटोमा डोर्‍याए।

आज २१ औँ शताब्दीमा आइपुग्दा सूचना क्रान्ति एउटा यस्तो खतरनाक बिन्दुमा पुगेको छ, जहाँ इतिहासमै पहिलो पटक ‘निर्णय गर्ने क्षमता’ मानिसको हातबाट फुत्केर गैर–मानवीय एजेन्ट अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘एल्गोरिदम’ को हातमा जाँदैछ। हरारीले जोड दिएका छन् कि सूचना भनेको सधैँ ‘सत्य’ वा ’ज्ञान’ होइन। जब सूचनाको माध्यम सत्यको खोजी र मानवीय हितभन्दा टाढा जान्छ, यसले विनाश निम्त्याउँछ। आजको कर्पोरेट पुँजीवादले एल्गोरिदमलाई सत्य उजागर गर्नका लागि होइन, बरु मानिसको ध्यान खिच्न र समाजमा आक्रोश, घृणा एवं भ्रम फैलाएर मुनाफा कमाउनका लागि प्रयोग गरिरहेको छ।

मानवीय मूल्यमाथि प्रहार र अधिनायकवादको नयाँ खतरा

आजको सूचना क्रान्तिमा हिटलरको समयमा भन्दा कयौँ गुणा बढी खतरनाक र सूक्ष्म ढङ्गले जनचेतनालाई नियन्त्रण गर्ने क्षमता छ। आजका साम्राज्यवादी शक्तिहरूलाई सडकमा चिच्याइरहनु पर्दैन, तिनीहरूले एल्गोरिदममार्फत मानिसको सोच, चाहना, डर र आक्रोशलाई गोप्य रूपमा नियन्त्रण गरिरहेका छन्। डाटाको चोरी र डिजिटल निगरानीमार्फत जनताको स्वतन्त्र चेतनालाई नै बन्धक बनाउने काम भइरहेको छ। यो मानवीय मूल्य, स्वतन्त्रता र सामाजिक न्यायमाथिको सबैभन्दा ठूलो चुनौती हो। जब प्रविधि मानवीय मूल्य र नैतिकताको नियन्त्रणभन्दा बाहिर जान्छ, यसले मानव सभ्यतालाई नै संकटमा धकेल्छ र अधिनायकवादको खतरा उत्पन्न हुन्छ। यस्तो अधिनायकवाद नाजी युगमा मात्र होइन, शंकास्पद भूमिकामा रहेको नेपाली सेनाको छायामा ‘ब्लु’ युगमा पनि उदाउन सक्ने प्रबल सम्भावना छ। त्यसैले, ठूलो त्यागबाट बनेको नेपाली समाजको राजनीतिक, सांस्कृतिक र सामाजिक मूल्यलाई दुई पैसासँग सम्झौता गर्ने नेपालका सत्तावादी कम्युनिस्ट, लोकतान्त्रिक र देशभक्त भनिएका शक्तिहरू जिउँदो छन् वा मृत? प्रश्न खडा भएको छ।

नवपुस्ता (जेनजी) को विद्रोह र वैचारिक संक्रमण

यो विश्वव्यापी लहरबाट नेपाल अछुतो रहने कुरै भएन। पछिल्लो समय नेपालमा पनि सूचना प्रविधिको विस्तार तीव्र गतिमा भएको छ। यसैको पृष्ठभूमिमा नेपाली समाजमा ‘जेनजी’ अर्थात् नवपुस्ताको एउटा विशिष्ट प्रकारको विद्रोह र असन्तोष सतहमा देखा परेको छ। वर्षौँदेखिको राजनीतिक अस्थिरता, आर्थिक मन्दी, बेरोजगारी र पुराना शक्तिहरूको अकर्मण्यताबाट वाक्क भएको यो पुस्ताले सामाजिक सञ्जाललाई आफ्नो असन्तोष पोख्ने र संगठित हुने माध्यम बनाएको छ। यसैको जगमा परम्परागत पार्टी र विचारहरूलाई चुनौती दिँदै नयाँ शक्ति र पात्रहरूको उदय भएको छ।

सूचना क्रान्तिले आजको मानिसमा ‘केही नयाँ हुनुपर्छ’ भन्ने चेतना त पैदा गरिदियो, तर ‘नयाँ के र कस्तो हुने?’ भन्ने ज्ञानको अभावमा आजको मानिस भौँतारिरहेको छ। समाजमा बहसहरू छरपस्ट छन्। कतै यी बहसहरू असल नियतले भएका छन् भने कतै झिनामसिना लोभ वा स्वार्थबाट प्रेरित पनि हुन सक्छन्। यतिबेला आलोचना, छलफल र बहस सर्वत्र छ र यो आजको सिङ्गो नेपाली समाजको मुख्य विशेषता बन्न पुगेको छ, जुन स्वाभाविक पनि हो।

नयाँपनको खोजीमा हिँडेको यो पुस्ता र यो समयको समाज उचित वैचारिक नेतृत्व र ज्ञानको अभावमा सजिलै दक्षिणपन्थी पपुलिजम, प्रायोजित छद्म–राष्ट्रवाद र पश्चगामी शक्तिहरूको जालमा फस्ने खतरा बढेर गएको छ। एल्गोरिदमले पस्किने सतही, सनसनीपूर्ण र टुक्रा–टुक्रा सूचनाका कारण समाजमा ‘ज्ञानको संक्रमण’ पैदा भएको छ। यो एउटा यस्तो विचारधारात्मक संक्रमणकालीन समय हो, जहाँ पुराना विचारहरूले काम गरिरहेका छैनन् र नयाँ विचारहरू पूर्ण रूपमा परिपक्व भइसकेका छैनन्। यस्तो वैचारिक संक्रमणको समयमा हामीले विचार, राजनीति, सङ्गठन र संघर्षमा कसरी सोच्ने? यो प्रश्नमा आज विशेष गरी कम्युनिस्टहरूले गम्भीर विमर्श गर्नैपर्ने भएको छ। तर, नेपालका कम्युनिस्टहरू वैचारिक पक्षमा मौन बसेर नितान्त प्राविधिक र सत्ता स्वार्थमा आफ्ना लक्ष्यहरूलाई बन्धक बनाइरहेका छन्।

कम्युनिस्ट आन्दोलनमा संकट र वैचारिक प्रतिबद्धताको आवश्यकता

आजको नेपाली कम्युनिस्ट आन्दोलन यति धेरै रक्षात्मक बन्नुको पछाडि आफ्ना आधारभूत वैचारिक मूल्यहरूमा दृढ हुन नसक्नु नै मुख्य कारण हो। सत्ता राजनीतिको भोक मेटाउनका लागि जेसुकै र जस्तोसुकै कुरा पनि पचाउन तयार हुने जुन प्रवृत्ति आज कम्युनिस्ट आन्दोलनभित्र सडेर बसेको छ, त्यो नै सबैभन्दा ठूलो समस्या हो। कम्युनिस्ट आन्दोलन केवल सरकार बनाउने वा भत्काउने प्राविधिक खेल होइन, यो त एउटा उन्नत वैचारिक र सांस्कृतिक आन्दोलन हो। हाम्रो आफ्नो वैचारिक प्रतिबद्धतालाई सुदृढ गर्दै, स्वाधीन देश र समाजवादी गन्तव्यका लागि निरन्तर प्रयत्न गर्नु नै आजको मुख्य कार्यभार हो।

यही आवश्यकतालाई बोध गरेर विभिन्न प्रस्तावहरू अगाडि सारिए, जसमध्ये ‘एकीकृत जनक्रान्ति’ पछिल्लो समयको गतिशील वैचारिक प्रस्ताव हो। यो विचार एक थान कागजी सिद्धान्तको रूपमा मात्र छैन, यसमा दर्जनौँ योद्धाहरूको रगत, हजारौँ समर्पित कार्यकर्ताहरूको पसिना र लाखौँ शोषित–पीडित जनताको न्यायपूर्ण अपेक्षा जोडिएको छ। आजको समयमा हामीले पछिल्लो समय देखा परेका यी नवीन र जटिल आयामहरूलाई गहिरोगरि अध्ययन गर्दै विचारलाई नयाँ उचाइमा संश्लेषित गर्नुपर्छ। वैचारिक संकटका कारण दिशाहीन हुँदै दुर्घटनामा जाकिन खोजिरहेको नेपाली समाज र सिङ्गो मानवजातिलाई सही क्रान्तिकारी दिशा देखाउनु नै हाम्रो ऐतिहासिक जिम्मेवारी हो। हामीले यो जिम्मेवारी पुरा गर्ने सामर्थ्य राख्नैपर्छ।

मार्क्सवादी दृष्टिकोण र नयाँ आयामहरूको संश्लेषण

यो गम्भीर वैचारिक संकट र अलगावबाट निकास पाउनका लागि हामीले हाम्रा आधारभूत सैद्धान्तिक मूल्य–मान्यताहरू र मार्क्सवादी दृष्टिकोणलाई केन्द्रमा राखेर नयाँ वैचारिक संश्लेषण गर्नैपर्छ। एकीकृत जनक्रान्तिको आलोकमा हामीले सामान्यतः निम्न आयामहरूमा गम्भीरतापूर्वक चिन्तन गरी ठोस कार्ययोजना बनाउनु पर्छ:

क) सूचना क्रान्तिका कारण पुँजीवादको स्वरूप बदलिएर ‘डिजिटल पुँजीवाद’ का रूपमा देखा परेको छ। आज उद्योगहरूमा परम्परागत मजदुरहरू मात्र छैनन्, बरु सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने ‘डिजिटल सर्वहारा’ वा ज्ञान–मजदुरहरूको ठूलो वर्ग तयार भएको छ। सूचना क्रान्तिले पैदा गरेका यी नयाँ वर्ग र आर्थिक सम्बन्धहरूलाई मार्क्सवादी दृष्टिकोणबाट पुनः परिभाषित गर्दै यसले सिर्जना गरेका नयाँ अन्तर्विरोधहरूको पहिचान गर्नु र त्यसलाई समाधान गर्ने आर्थिक एवं राजनीतिक कार्यक्रम विकास गर्नु पर्छ।

ख) अब परम्परागत र पुराना सङ्गठनात्मक संरचनाले मात्र पुग्दैन। सूचना प्रविधिको उपयोग गर्दै युवा पुस्ता, बौद्धिक वर्ग र आम जनतालाई सङ्गठित गर्ने डिजिटल र भौतिक दुवै स्वरूपका आधुनिक कार्यशैलीहरू अपनाउनुपर्छ। सङ्गठनभित्र वैचारिक स्पष्टता, ज्ञानको गहिराइ र प्रविधिको उच्चतम ज्ञान भएका क्याडरहरूको निर्माण गरिनुपर्छ। मार्क्सवादलाई वर्तमान समयसँग जीवन्त संवाद गर्न सक्ने दर्शनको रूपमा हामीले संश्लेषित गर्न सक्नुपर्छ।

ग) आजको राजनीतिक संघर्ष केवल सडक र सदनमा मात्र सीमित छैन, यो ‘न्यारेटिभ’ (भाष्य) र विचारको लडाइँ पनि हो, जुन डिजिटल प्लेटफर्महरूमा लडिँदैछ। बुर्जुवा र पुँजीवादी शक्तिहरूले जसरी सूचना क्रान्तिलाई जनतालाई दिग्भ्रमित पार्ने र आफ्नो लुटतन्त्र टिकाउने ‘जनविरोधी हतियार’ का रूपमा प्रयोग गरेका छन्, त्यसका विरुद्ध हामीले यसलाई जनचेतना जगाउने, सत्य स्थापित गर्ने र क्रान्तिकारी विचार फैलाउने ‘जनपक्षीय हतियार’ मा बदल्नुपर्छ। कतिपय अवस्थामा डिजिटल प्लेटफर्महरू हाम्रा निम्ति होइनन् वा पुँजीपतिद्वारा नियन्त्रित छन् भन्ने तर्क पनि आउँछन्, तर यो केवल भाग्ने वा अलगावमा रमाउने सोच हो। वास्तवमा विज्ञानको सार्वभौमिकतालाई श्रमिकहरूको हितमा परिचालन गर्न सकिने सत्यलाई हामीले ग्रहण गर्नैपर्छ। बरु, यसमा हाम्रो कला पक्षको स्थितिबारे गम्भीर आत्मसमीक्षा भने जरुरी छ।

नयाँ बहस र मानव सभ्यताको रूपान्तरण

अन्ततः सूचना क्रान्ति आफैँमा खराब वा असल वस्तु होइन। संकट तब उत्पन्न हुन्छ जब यो प्रविधि मानव सभ्यताको हित र क्रान्तिकारी मूल्यहरूभन्दा टाढा पुगेर मुठ्ठीभर पुँजीपतिहरूको नाफा कमाउने र सत्ता कब्जा गर्ने माध्यम बन्न पुग्छ।

आजको संक्रमणकालीन समयमा हुने बहस, छलफल, क्रिया–प्रतिक्रिया र आलोचनाहरूलाई हामीले स्वाभाविक र खुला रूपमा लिनुपर्छ। तर, यसको मूल्यमा समाजलाई सही अर्थमा रूपान्तरण गर्न चाहने अग्रगामी शक्तिहरू अलमलमा पर्नु हुँदैन। हामीले सत्ताको फोहोरी खेलबाट माथि उठेर मानवीय मूल्य, मार्क्सवादी चेतना, नेपाली समाजमा प्रस्तावित र प्रयोगमा समेत आइसकेका पुष्पलाल, बीपी, मदन भण्डारी र पछिल्लो समय नेपाली कम्युनिस्ट आन्दोलनमा प्रयोगमा आएको एकीकृत जनक्रान्तिका विचारको समेत जगमा उभिएर नयाँ ढङ्गले बहसहरूलाई डोर्‍याउनै पर्छ।

यसो गर्दै गर्दा हामीले २०२८ सालको झापा विद्रोहकालीन सङ्गठनात्मक अनुशासनको स्कुल, जनयुद्धको बलिदानको स्कुल र जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनविरुद्ध भएका विद्रोहका विशेषता र आयामहरूलाई समेत जोड्नुपर्छ।

दिग्भ्रमित र दिशाहीन हुँदै गइरहेको यो समाजलाई सही वैचारिक मार्गचित्र दिनु आजको कम्युनिस्ट आन्दोलनका निम्ति अग्निपरीक्षा हो। वैचारिक सुदृढता, गम्भीर चिन्तन र वैज्ञानिक कार्यदिशाको जगमा मात्रै हामीले यो सूचना युगको चुनौतीलाई चिर्दै स्वाधीन देश र समाजवादको सुन्दर भविष्यतर्फ पाइला चाल्न सक्छौँ। नेपाली समाजलाई अब गुमराहमा होइन, एउटा नयाँ, सचेत र वैचारिक बहसका निम्ति तयार गर्नु नै आजको क्रान्तिकारीहरूको पहिलो दायित्व हो। यसका निम्ति हामी जिम्मेवारीपूर्वक प्रस्तुत होऔँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुमन सिंह
सुमन सिंह
लेखकबाट थप