बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?

हेलिकोप्टरले समेत भेट्टाएन
बिहीबार, २१ जेठ २०८३, १५ : ००
बिहीबार, २१ जेठ २०८३

सारांश

  • सगरमाथाको 'डेथ जोन' मा बेपत्ता भएका ५२ वर्षीय गाइड दावा शेर्पा सात दिनपछि जीवितै फेला परेका छन्।
  • पर्यटन विभागकी निर्देशक निशा थापा राउतले यस घटनालाई 'सगरमाथाको इतिहासकै एउटा चमत्कार' का रूपमा वर्णन गरेकी छन्।
  • दावा शेर्पालाई गोरक्षेप पुर्‍याई थप उपचारका लागि काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको फ्रस्टबाइटको उपचार भइरहेको छ।

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको अति खतरनाक मानिने ‘डेथ जोन’ (मृत्यु क्षेत्र) मा बेपत्ता भएका ५२ वर्षीय गाइड दावा शेर्पा सात दिनपछि जीवितै फेला परेका छन्।

मे ३० देखि सम्पर्कविहीन भएका शेर्पालाई बिहीबार बिहान जीवितै उद्धार गरिएको हो । पर्यटन विभागकी निर्देशक निशा थापा राउतका अनुसार दावा मे ३० देखि आफ्नो एजेन्सीसँग सम्पर्कविहीन थिए। उनलाई आज बिहान (बिहीबार) सगरमाथा आधार शिविर (बेस क्याम्प) नजिकैको ‘क्याम्पोन पोइन्ट’मा हिउँमा घस्रिरहेको अवस्थामा फेला पारिएको हो।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को फोहोर व्यवस्थापनमा खटिएको टोलीले उनलाई फेला पारी तत्काल उद्धार गरेको हो।

निर्देशक राउतले यस घटनालाई ‘सगरमाथाको इतिहासकै एउटा चमत्कार’का रूपमा वर्णन गरेकी छन् । सामान्यतया सगरमाथाको क्याम्प ३ र ४ भन्दा माथिल्लो क्षेत्रलाई डेथ जोन भनिन्छ, जहाँ अक्सिजनको अभाव र अत्यधिक चिसोका कारण मानिस केही घण्टाभन्दा बढी टिक्न मुस्किल हुन्छ । तर, दावा बिना खानापानी सात दिनसम्म सो क्षेत्रमा सङ्घर्ष गर्न सफल भए ।

बुधबार मात्रै हेलिकोप्टरबाट गरिएको हवाई खोजीमा समेत उनी भेटिएका थिएनन् ।

उपचार र स्वास्थ्य अवस्था

उद्धार गरिएका शेर्पालाई तत्कालै गोरक्षेप लगिएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि काठमाडौँस्थित ह्याम्स अस्पताल ल्याइएको छ । निर्देशक राउतका अनुसार उनको शरीरका विभिन्न भाग ‘फ्रस्टबाइट’ (हिउँले खाएको) छ र उनी अहिले निकै सुस्त गतिमा बोलिरहेका छन् । अस्पतालमा उनको प्रारम्भिक उपचार सुरु भइसकेको छ ।

निर्देशक राउत भन्छिन्, ‘यो एउटा ठुलो मिराकल नै हो । यति लामो समयसम्म सम्पर्कविहीन भएर, यस्तो उचाइमा बाँचेर आउनु विरलै हुने कुरा हो ।’ विभागले यस विषयमा विस्तृत विवरण र आधिकारिक जानकारीका लागि बेलुकासम्म प्रेस विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ ।

पेसाले गाइड रहेका दावाको यो साहसिक पुनर्जन्मले पर्वतारोहण क्षेत्रमा नयाँ उत्साह र मानव जीवनको अदम्य साहसको चर्चा चुलिएको छ । यतिबेला उनको उपचार र स्वास्थ्य सुधारका लागि अस्पताल र पर्यटन विभाग दुवैले समन्वय गरिरहेका छन् ।

‘इतिहासकै पहिलो र अनौठो घटना’

यस वर्ष मे २३ मा सगरमाथाको सफल आरोहण गरेर फर्किएका अनुभवी आरोही पेम्बा शेर्पाले यो घटनालाई सगरमाथाको इतिहासकै ‘पहिलो र अविश्वसनीय’ घटनाका रूपमा चित्रण गरेका छन् । पेम्बाका अनुसार ८ हजार मिटरभन्दा माथिको उचाइलाई डेथ जोन भनिने भए पनि ७ हजार ९ सय मिटरभन्दा माथिको क्षेत्र पनि उत्तिकै प्राणघातक हुन्छ ।

‘यति लामो समयसम्म बिना खाना, पानी र अक्सिजन सो उचाइमा बाँच्नु भनेको एउटा ठुलो चमत्कार नै हो,’ पेम्बा रातोपाटीसँग भन्छन्।

‘हिजोसम्म हवाई खोजी गर्दा समेत नभेटिएका मान्छे आज जीवितै फेला पर्नुले उनको बाँच्ने इच्छाशक्ति कति बलियो थियो भन्ने देखाउँछ ।’

कसरी बाँचे दावा ?

आरोही पेम्बाका अनुसार दावाले मृत्युसँग लामो सङ्घर्ष गर्दै बिस्तारै तल झर्ने प्रयास गरिरहेका थिए । ‘उनको समस्या माथि नै सुरु भएको भए पनि उनी सङ्घर्ष गर्दै क्याम्पोन पोइन्टसम्म आइपुगेका रहेछन् । त्यहाँ उनलाई हिउँमा घस्रिरहेको अवस्थामा एसपीसीसीको टोलीले फेला पारेको हो,’ घटनाबारे बुझेका पेम्बाले थपे ।

उनको उद्धारमा एसपीसीसीका आइसफल डाक्टरहरू र फोहोर व्यवस्थापन टोलीको ठुलो भूमिका छ । पेम्बाका अनुसार एसपीसीसीका टोलीले दावालाई फेला पारी प्राथमिक उपचार दिँदै आधार शिविरतर्फ ल्याएका थिए ।

दावा लामो समयसम्म नभेटिएपछि उनको परिवार र आफन्तहरूले उनी जीवितै फर्कने आशा मारिसकेका थिए । पेम्बा भन्छन्, ‘हिजोसम्म हेलिकोप्टरबाट खोज्दा पनि नभेटिएपछि परिवारमा एक प्रकारले शोकको अवस्था थियो, तर आज उनी जीवितै भेटिएको खबरले सबैलाई हर्षित तुल्याएको छ ।’  

बोल्नै नसक्ने अवस्थामा भेटिएका थिए दावा

एसपीसीसीका सीईओ छिरिङ शेर्पाका अनुसार बिहीबार बिहान सगरमाथा आधार शिविर (बेस क्याम्प) बाट करिब ४० मिनेटको दूरीमा पर्ने क्याम्पोन पोइन्टभन्दा थोरै तल दावा शेर्पालाई फेला पारिएको थियो ।

‘हाम्रो फोहोर व्यवस्थापन टोली माथि सफाइका लागि जाँदै गर्दा उनलाई हिउँमा घस्रिँदै तलतिर आइरहेको अवस्थामा भेटिएको हो,’ सीईओ शेर्पाले  थपे, ‘खाना र पानीबिना अति चिसोमा बिताएका दावाको अवस्था निकै नाजुक थियो । उनका लुगाहरू पछाडिको भागमा पूरै च्यातिएका थिए, जसले उनी लामो दूरी घस्रिएरै आएको पुष्टि गर्छ ।’

दावालाई भेट्दा उनी हिँड्न सक्ने अवस्थामा थिएनन् । उनलाई एसपीसीसीको टोलीले पालैपालो बोकेर करिब साढे दुई देखि तीन घण्टा लगाएर गोरक्षेपसम्म पुर्‍याएको थियो । बेस क्याम्पमा हेलिप्याड भए पनि सिजन सकिन लागेकाले केही प्राविधिक कठिनाइ हुँदा उनलाई तत्कालै सुरक्षित स्थान गोरक्षेप पुर्‍याइएको उद्धार टोलीले जानकारी दियो । गोरक्षेप पुर्‍याएपछि मात्र उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउन सम्भव भएको थियो ।

एजेन्सीको भूमिकामा प्रश्न

यस घटनामा दावा आबद्ध रहेको ट्रेकिङ एजेन्सीको भूमिकामाथि पनि प्रश्न उठेको छ ।

सीईओ छिरिङका अनुसार दावा हराएको जानकारी भए पनि एजेन्सीले समयमै सक्रिय खोजी कार्य अघि बढाएको थिएन । परिवारको तीव्र दबाब र आग्रहपछि मात्र बुधबार एउटा हेलिकप्टर खोजीका लागि पठाइएको थियो ।

दावा ७ हजार ९ सय मिटरभन्दा माथिको क्षेत्र (क्याम्प ३ र ४ को बीच) बाट बेपत्ता भएका थिए।

हाल काठमाडौँस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको छ। उनलाई कडा खालको ‘फ्रस्टबाइट’  भएको छ र शारीरिक रूपमा निकै कमजोर छन् । उनी सुस्तरी बोल्न सक्ने अवस्थामा भए पनि पूर्ण निको हुन समय लाग्ने चिकित्सकहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप